राजन दंगाल होटल व्यवसायी संघ माइपश्चिम समिति दमक झापाका अध्यक्ष एव् होटल पाथिभरा दमकका प्रोप्राइटर समेत हुन् ।
विगत १५ वर्षदेखि होटल व्यवसायमै सक्रिय रहेको बताउने उनी दमक उद्योग वाणिज्य संघको पूर्व सदस्य, मेची कोरिडर पर्यटन समितिको संयोजक, भिजिट २०२० को झापा संयोजक, लाइन्स क्लव विग बुद्धको पूर्व अध्यक्ष लगायतका विभिन्न संघ–संस्थाहरुमा रहेर सामाजिक काम गरेका दंगालसँग सोमबार पूर्वसन्देश दैनिकका विशेष प्रतिनिधि श्याम लम्सालले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः
होटल व्यवसायीहरुको वर्तमान अवस्था कस्तो छ ?
दयनीय छ । कहिलेसम्म यो दयनीय अवस्था रहन्छ भन्न सक्ने अवस्था छैन ।
कोरोना भाइरसका कारण होटल र पर्यटन क्षेत्र ठप्प प्राय नै छ ।
यसलाई टिकाउन के गर्नुपर्ला ?
राज्यले बैंकमार्फत् पुनः कर्जा दिने, राहत दिने कुरा छ ।
पुनकर्जाले ऋण माथि ऋण थप्ने हुनाले यसले राहत दिन सक्दैन अनुदान नै दिनुपर्छ, होटलहरुको स्थिति र स्तर अध्ययन गरी राज्यले होटल व्यवसायीहरुको अवस्था सुधार्न राहतका कार्यक्रम ल्याउनु आवश्यक छ ।
जति सुरक्षा सतर्कता अपनाए पनि ग्राहक आउन मान्दैनन्, बोर्डर सिल छ, हवाई, यातायात बन्द छन्, आन्तरिक पर्यटन ठप्प छ, कोभिडको प्रकोप शुरु भएयता होटल र पर्यटन व्यवसाय रुग्ण छ ।
पटक पटकको लकडाउनले पनि सबैतिरको आर्थिक क्षेत्र ध्वस्त नै भएको अवस्था छ ।
कति होटल बन्द भए र व्यवसायी यो क्षेत्रबाट पलायन समेत भइसके ।
होटल मजदुरहरुको अवस्था चाहिँ के हुन्छ नि ?
यो अवस्था कहिलेसम्म हुने हो भनेर दक्ष जनशक्ति पलायन हुँदै जाँदा भोलिका दिनमा होटल सञ्चालन हुने वातावरण तयार हुँदा पनि दक्ष जनशक्तिको अभावमा पुनः होटल चल्न नसक्ने अवस्था पनि छ ।
माथि उल्लेखित समस्याहरुको समाधान के हुन सक्ला ?
सबैभन्दा पहिला यो कोभिड महामारी अन्त हुनुपर्यो त्यसपछि पनि पहिलेको अवस्थामा फर्किन करिब २ वर्ष लाग्न सक्छ ।
अन्तमा आफूलाई भन्न मन लागेको केही छ कि ?
चाडोभन्दा चाडो यो महामारीको अन्त होस्, व्यवसाय राम्रो सञ्चालन गर्न पाऊ भन्ने कामना छ ।