घरमा अभिभावकले आफ्ना छोराछोरीलाई हेर्ने दृष्टिकोण, छोराछोरीले आमाबुवालाई हेर्ने दृष्टिकोण, विद्यालयमा शिक्षकले विद्यार्थीलाई गर्ने व्यवहार र कतिपय अवस्थामा विद्यार्थीले शिक्षकलाई गर्ने सम्मान र तद्अनुरुपको व्यवहारमा तात्विक भिन्नता आउन नसक्दा मानिसहरुमा मनोवैज्ञानिक समस्या पैदा भएको हो । अभिभावकले छोराछोरीलाई पेलेर, हकारेर या दबाब दिएर आफूले भनेजस्तै बन्नुपर्छ भन्नाले उनीहरुमा मनोवैज्ञानिक समस्या देखापर्न सक्छ । छोराछोरीलाई उनीहरुको इच्छा र चाहनाअनुसार स्वतन्त्र रहन दिनुपर्छ ।
=====================
डा. सुशील कँडेल
नेशनल प्रोग्राम सेन्टर पोखराले देशका ४० जिल्लामा मनोवैज्ञानिक परामर्श दिने काम गरिरहेको छ । त्यो समाजमा विभिन्न पेशा व्यवसायमा रहेको तथा खासगरी विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीको मनोविज्ञान बुझेर समस्या देखिए सो को निदान परामर्श मार्फत् गर्ने गरिएको छ । त्यसका लागि विभिन्न छलफल, अन्तरक्रिया, तालिम, गोष्ठी र परामर्श दिने काम गरिन्छ । त्यसका निम्ति झापामा मनोविद् डा. सुशील कँडेलले सहजीकरण गरिरहेका छन् ।
मनोविज्ञान विषयमा विद्यावारिधी गरेका उनी अहिले दमक–८ मा सेन्टरको शाखा कार्यालय राखेर समस्याग्रस्त व्यक्तिहरुको सेवामा खटिएका छन् । अहिले सामाजिक संरचना, चालचलन, पुराना संस्कार र संस्कृति साथै हाम्रो व्यक्ति, परिवार र समाजलाई हेर्ने पुरातन सोचाइका कारण निकै समस्या रहेको उनको भनाई छ । नेपाली समाज त्यसैपनि पितृसत्तात्मक छ । महिलाप्रतिको दृष्टिकोण र व्यवहारमा अझै पनि त्यत ठूलो तात्विक परिवर्तन आउन सकेको छैन । समाज बदलिएको छ, तर संस्कार, संस्कृति र मानिसले मानिसलाई गर्ने व्यवहारमा परिवर्तन आउने सकेको छैन । सोचाई, बुझाई र एकले अर्कालाई हेर्ने दृष्टिकोण उस्तै छ ।
घरमा अभिभावकले आफ्ना छोराछोरीलाई हेर्ने दृष्टिकोण, छोराछोरीले आमाबुवालाई हेर्ने दृष्टिकोण, विद्यालयमा शिक्षकले विद्यार्थीलाई गर्ने व्यवहार र कतिपय अवस्थामा विद्यार्थीले शिक्षकलाई गर्ने सम्मान र तद्अनुरुपको व्यवहारमा तात्विक भिन्नता आउन नसक्दा मानिसहरुमा मनोवैज्ञानिक समस्या पैदा भएको हो । अभिभावकले छोराछोरीलाई पेलेर, हकारेर या दबाब दिएर आफूले भनेजस्तै बन्नुपर्छ भन्नाले उनीहरुमा मनोवैज्ञानिक समस्या देखापर्न सक्छ । छोराछोरीलाई उनीहरुको इच्छा र चाहनाअनुसार स्वतन्त्र रहन दिनुपर्छ । तर यसको मतलव यो होइन् कि खराब लत या आदतमा लाग्दा पनि नसुधार्ने होइन । त्यसका लागि बाटो देखाइदिने यसो गरे, यस्तो परिणाम निस्कन्छ भनेर कुनै पनि काम र व्यवहारमा बारेमा सुझबुझपूर्ण दिशानिर्देश भने गर्नुपर्छ । तर त्यसो भन्दैमा आफ्नो निर्णय लाद्ने काम भने गर्नुहुँदैन ।
मनोवैज्ञानिक आधारमा परिवारभित्र होस् या विद्यालयमा एकले अर्कालाई गर्ने व्यवहारमा समानतालाई ख्याल गर्नुपर्छ । पुरुषले महिलालाई पेलिरहने या महिलाले पुरुषलाई हेप्ने किसिमको आचरण र व्यवहार भने त्याग्नुपर्छ ।
नेपालको समाजको अवस्था अहिले दयनीय छ, निरीह छ । त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधी या स्नातकोत्तर गर्ने तथा नर्सिङ पढेकाले सोही विषयमा स्नातकोत्तर गर्नेहरु कम छन् । तर मनोविज्ञको संख्या भने अहिले आएर बढेको छ । तथापी वास्तविक रुपले मनोविज्ञ हुने र व्यवहारमा सोही क्षेत्रमा लाग्नेहरुको संख्या भने अझै अपुगनै छ । खासमा सच्चा मनोविज्ञ हुन, व्यक्ति र समाजलाई बुझेर समस्याको निदान गर्न मनोविज्ञानमा एमएस गरेको हुनुपर्छ । अहिलेको शिक्षा बढी सिद्धान्तमुखी छ । भनेजति व्यवहारिक र प्रयोगात्मक हुन सकेको छैन । हामीले विद्यालयदेखि क्याम्पस सम्मको वातावरणलाई अव्यवस्थित बनाएका छौं । विद्यालयमा विद्यार्थीलाई कुट्ने चलन अझै बकरार छ । दण्ड, सजाय दिने र कसरी हुन्छ, परीक्षामा नम्वर या प्राप्तांक बढी ल्याउने गरी मात्र पढाइरहेका छौं । सरकारी विद्यालयको अवस्था झन नाजुक छ ।
निजी संस्थागत भनिने विद्यालयहरुमा पनि कुन जुक्ति लाएर हुन्छ, आफ्ना विद्यार्थीलाई प्राप्तांक बढी ल्याउने गरी तयार गरिन्छ । यो सिकाईका लागि उचित अभ्यास र चलन होइन । यसले विद्यार्थीको सिर्जनशीलतालाई कमजोर बनाइदिन्छ । यसो गर्दा विद्यार्थीमा कुनै पनि विषयमा अल्पअल्प ज्ञान मात्र हुन्छ । उ ‘ज्याक अफ अल बट मास्टर अफ नन’ बन्नपुग्छ । जानेको सिकेको छ, तर राम्ररी या पूर्ण ज्ञान हुँदैन । अहिले शिक्षाको गुणस्तर खस्केको छ । यसमा राज्य र सरकारको त दोष छ नै, त्यसमा पनि हाम्रो समाजको मुख्य कमजोरी छ । अभिभावक ८० प्रतिशत, शिक्षक २० प्रतिशत र बाँकी हाम्रो समाज दोषी छ । समाज नै खराब छ ।
अहिलेको समाजको जस्तो बन्न खोज्दा मानिस मनोवैज्ञानिक हिसाबले कुरुप भइसकेको हुन्छ । आफ्नो चिज नहेर्ने, खालीको अर्काको सिको गर्ने हुँदा आफ्नो स्वत्व गुमाइसकेको हुन्छ । समाजमा हरेक क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा छ । धेरैजसो मानिसहरु पैसाको पछि लागेका छन् । पैसानै सबैथोक र पावर भएको उसले सम्झिरहेको छ । पैसा कमाउनु मात्र समृद्ध हुनु होइन । त्यस्तै देशका ठूला मानिस भनाउँदाहरु पनि अस्वस्थ प्रतिष्पर्धामै उत्रिएका छन् । चाहिँदा नचाहिँदा कुरामा प्रतिष्पर्धा छ । सामाजिक पीडा छ । यसलाई त्याग्न या हटाउन सक्नुपर्छ ।
अब यो विकृति विसंगतीलाई हटाएर स्वस्थ समाज बन्न र बनाउन गाह्रो छ । निकै मिहेनत गर्नुपर्छ । अहिले सञ्चार तथा सूचना प्रविधिको सही तरीकाबाट सदुपयोग हुनुपर्नेमा दुरुपयोग भइरहेको छ । अभिभावकदेखि बालबालिका सबै मोबाइल, इन्टरनेमा टिकटक बनाउन र हेर्नमा व्यस्त मस्त छन् । समाज उग्रआधुनिक भयो, न तलको आधार छ, न माथिको लक्ष्य छ । यहाँ अहिले खाना खाँदादेखि लिएर जतिसुकै बेला मोबाइल र इन्टरनेट चलाउने फेशननै बनेको छ । यो लतले मानिसलाई कुन दिशातर्फ उन्मुख गराइरहेको छ, त्यसको मनोवैज्ञानिक असर र प्रभाव सकारात्मक हुन सक्दैन । विकसित देशहरुमा यस्तो हुँदैन । उनीहरु आवश्यक पर्दा मात्र मोबाइल र इन्टरनेट चलाउँछन् ।
अब बालबालिकाको कुरा गरौं, अमेरिकामा सन् १९९० मा गरिएको एक सर्वेक्षणमा १ हजारमा १ जनामा मात्र अटिजम् देखियो । अटिजम्ले बालबालिकाको पूर्ण विकासलाई अवरोध गर्छ । तर सन् २००० गरिएको अर्को सर्वेक्षणमा यो संख्या १० बालबालिकामा ६ जनामा अटिजम्को समस्या देखियो । यता नेपालको कुरा गर्दा सन् २००९ मा जन्मिएका १० मध्ये ४ बालबालिकामा यो समस्या देखिएको पाइयो । तर सरकारले यसको न्यूनीकरण र नियन्त्रणका लागिक खासै प्रभावकारी काम गर्न सकेको छैन । अझ मानसिक स्वास्थ्यको क्षेत्रमा पनि सरकारले पनि प्रभावकारी नीति, योजना बनाउने, कार्यक्रम तय गर्ने तथा उल्लेख्य बजेट छुट्याएको पाइँदैन । भनौं कि मानसिक स्वास्थ्यको सबलीकरणका लागि सरकार उदासीन छ ।
व्यक्तिलाई कुनै काम या व्यवहार गर्दा तनाव हुन सक्छ, तर त्यसलाई कसैले सामान्य रुपमा लिएर व्यवस्थापन गर्छ र उ सामान्य अवस्थामा रहन्छ भने कसैले तनावलाई व्यवस्थापन गर्न नसक्दा मानिसक समस्यामा पर्न सक्छ । मानसिक रोगहरुमा एउटा न्यूरोसिस हुन्छ भने अर्को कडा खालको साइकोसिस । यसमा न्यूरोसिसमा विज्ञ डाक्टरले दिएको औषधि या उसको उपचारबाट रोगी निको हुन्छ भने साइकोसिसमा निरन्तर औषधि खानुका साथै मनोसामाजिक परामर्शको आवश्यकता पर्दछ ।
कहिलेकाहीँ यो मनोपरामर्शबाटै पनि ठीक हुनसक्छ । मानिसभित्र हुने कुण्ठा, असन्तुलन र कुनै व्यक्तिले गरेको व्यवहारलाई कसरी आत्मसात गर्छ, त्यसैमा उसको स्वास्थ्य सन्तुलन भर पर्छ । यदि व्यक्तिमा कसैले गरेको व्यवहार, घटना या दुर्घटनाबाट आघात प¥यो भने चिन्ता, निद्रा नलाग्ने, डिप्रेसन हुने जस्ता मनोसामाजिक समस्याहरु देखा पर्न सक्छन् । तर यसलाई व्यक्तिले कसरी व्यवस्थापन गर्छ, उसको मानसिक अवस्थामा गडबढी आउने या नआउने कुरा त्यसैमा भर पर्छ ।
अहिले नेपालका युवाहरुको ठूलो जमात खाडी लगायतका मुलुकहरुमा डर्टी र डेन्जरस काम गर्न गइरहेका छन् । राज्य र सरकारले युवाहरुलाई यहीँ काम दिन सकेको छैन । यो हाम्रा लागि दुर्भाग्य हो । युवकहरु दशौं विसौं वर्ष विदेश बस्दा उनीहरुको परिवारमा विखण्डन आएका र विविध खालका समस्या देखापर्छन् । यसलाई रोक्नुपर्ने आजको आवश्यकता हो । अर्कातर्फ यो सेन्टरले अहिले विद्यार्थीको मनोभाव बुझेर कसरी उनीहरुलाई सिकाई गर्ने भन्ने बारेमा हामीले विभिन्न विद्यालयका शिक्षक अभिभावक विद्यार्थी सबैलाई तालिम र परामर्श दिइरहेका छौं । यो महान अभियानमा सेन्टरलाई सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं ।
( मनोविज्ञ डा. सुशील कँडेलसंग गरिएको कुराकानीमा आधारित लेख )
प्रस्तुती – पंकज दाहाल