दमक / नेपालमा राजनीतिक मूल्य मान्यताभन्दा व्यक्तिले महत्व पाउँदै आएको छ । नीति, सिद्धान्तभन्दा पनि व्यक्तिवादी प्रवृत्तिले राजनीतिलाई विकृत बनाएको छ । राजनीतिक गतिविधि देश र जनताको हितमा नभई दल र नेताको हितमा सञ्चालित हुँदा सार्वजनिक महत्वका विषयभन्दा समूहगत स्वार्थले बढावा पाएको छ । यस्तो मानसिकताले राष्ट्रिय राजनीति प्रभावित बनेको छ । नेपालका प्रमुख राजनीतिक दलका अहिलेका गतिविधि हेर्दा नीतिभन्दा पनि व्यक्ति हावी भएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, माओवादीलगायत पार्टीहरुमा अझै पनि सामुहिकताभन्दा व्यक्ति हावी भएका छन् । व्यक्तिको निर्णयले पार्टी चलिरहेका छन् । अहिलेको अवस्थामा स्वार्थरहित राजनीतिज्ञ पाउनै कठिन छ । दिनानुदिन राजनीतिज्ञको संख्या बढिरहेपनि राजनीतिक मूल्य मान्यता अनुसरण गर्ने इमान्दार व्यक्तिको संख्या भने घट्दै गएको छ । यो स्वार्थले गर्दा भएको हो ।
अहिले व्यक्तिगत लाभ लिनका लागि राजनीति गर्ने प्रचलन बढ्दै गएको छ । यस्तो स्वार्थ केन्द्रीत राजनीतिले समग्र राजनीतिक क्षेत्रलाई दुर्गन्धित बनाएको छ । राजनीतिक दुर्गन्धले दृढ राजनीतिज्ञ पनि विचलित बन्न थालेका छन् । जनतामा निराशा छाएको छ, कार्यकर्ता अन्योलमा छन् ।
१५ वर्षअघि देशमा लोकतन्त्र ल्याउन अग्रपंक्तिमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले लोकतन्त्र प्राप्ति हुँदै गर्दा जनभावना अनुकूल राज्य सञ्चालन गरी देश र जनताको कल्याण गर्छौं भने । जनताले पत्याइदिए, विश्वास गरे, परिवर्तनको आन्दोलनमा साथ दिए । तर, मुलुकमा लोकतन्त्र स्थापना भएको १५ वर्ष बितिसकेको छ । यो अवधिमा आमूल परिवर्तन त परै जाओस् विकासको स्थिर मापदण्ड समेत तयार हुन सकेन । अहिले पनि तिनै राजनीतिक दल मुख्य नेतृत्वमा छन्, अधिकांश तिनै नेता नेतृत्वमा छन् तर विगतको बाचा र वर्तमानको व्यवहारले जनता मन खिन्न पार्न बाध्य छन् । शीर्ष नेताहरु राजनीतिक अन्योल र अस्थिरताभित्रैबाट व्यक्तिगत एवम् सामुहिक लाभ लिन तल्लीन छन् ।
व्यवस्थापिका संसदमा दैनिक नाराबाजी चलेको छ । पार्टीगत स्वार्थले सार्वजनिक महत्वका विषयले संसदमा प्रवेश पाउन सकेको छैन । यस प्रवृत्तिले के भन्न सकिन्छ भने, मुलुकको स्थिरताको बाधक यिनै शीर्ष नेताहरु बन्दै आएका छन् । जबसम्म देशका राजनीतिक दलले युवा शक्तिलाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर एकताबद्ध गरिँदैन तबसम्म भाषण र दस्ताबेजको चाङ बढाउनु बाहेक केही हुँदैन ।
युवालाई राजनीतिक दलको भ¥याङ बनाएर परिचालन गर्नु, बेरोजगार, अभाव, प्रभाव, दबाव, भ्रष्ट चरित्र, हत्या हिंसामा सहभागी बनाई स्वार्थ पूरा गर्नमा परिचालन गराउनु कति उचित होला ? सोचनीय विषय बनेको छ । हर क्षेत्रमा युवालाई प्रयोग गर्ने अनि नेतृत्वमा बुढापाकाले रजगज गरिरहने अहिलेको प्रवृत्तिले युवामा नैरास्यता सिर्जना गर्नु शिवाय केही होइन ।
अब जनताले सकारात्मक सोच, सद्चरित्र, सेवा भावना र सार्वजनिक भलाइ गर्ने राजनीतिज्ञलाई साथ दिनुपर्छ । यस्तो विषेशता भएको व्यक्तिको कार्यले जनभावनालाई सम्बोधन गर्छ । अहिलेको अवस्थामा स्वार्थरहित राजनीतिज्ञ पाउनै कठिन छ । संख्यात्मक रुपमा राजनीतिज्ञको संख्या दिनानुदिन बढेपनि राजनीतिक मूल्य मान्यतालाई अनुसरण गर्ने इमान्दार व्यक्तिको संख्या भने घट्दै गएको छ । अहिलेको राजनीति स्वार्थ केन्द्रीत हुँदा व्यक्तिगत लाभ लिनकै निम्ति पनि गलत मनसायका व्यक्तिहरुको राजनीतिप्रति आकर्षण बढेको छ । यसले राजनीतिक क्षेत्रलाई दुर्घन्धित बनाएको छ । अब सर्वसाधारण नागरिक संवेदनशील बन्नै पर्ने बेला भएको छ । अझैपनि स्वार्थकै राजनीतिले प्रश्रय पाउँदै जाने हो भने देश विकासको गति के होला ? सोच्नै पर्ने भएको छ ।
देशमा नयाँ संविधान जारी भएको छ वर्ष पूरा भइसक्दा पनि जनताले गणतन्त्रको पूर्ण अनुभूति गर्न सकिरहेको अवस्था छैन । पहिले र अहिलेमा कुनै तात्विक परिवर्तन देखिएको छैन । राजाको ठाउँमा राष्ट्रपति आए, जनताको शासन आयो, देश संघीयतामा गयो भनियो । के यतिमात्र हो त परिवर्तन ? जनताका दुःख पीडामा कति मलम पट्टी लागेको छ ? गरिबी निवारणमा कति काम भएका छन् ? विकास निर्माणको गति यस्तै हुनुपर्ने हो ? देशको आर्थिक अवस्था कहाँ पुग्यो ? यी र यस्ता विषयमा पनि ध्यान दिन जरुरी छ ।