दुखमे सुमिरण सब करे
सुखमे करे न कोय
जो सुख मे सुमिरण करे
दुःख काहेको होय
जब जब दुःख पर्छ तब मात्र परमात्माको सम्झना हुन्छ । सुखको समयमा पनि परमात्मालाई स्मरण गर्ने हो भनें दुःख नै रहँदैन, सन्त कबीर भन्छन् । यस दोहामा ईश्वर पुकारा गर्ने कुरा गरिए पनि यसलाई हामी सहज जीवनयापन गर्नका लागि पूर्वशर्त भनेर मान्न सक्छौं । हामी सामान्यतयाः घामै घाम, उज्यालै उज्यालो र सफलताको कामना मात्र गर्छौं । आफ्ना लागि र आफूले चाहेका निकटतम् मानिसका लागि शान्ति, प्रगति र उत्तरोत्तर उन्नति चाहन्छौं । तर सधैं त्यस्तो हुँदैन । त्यस्तो सधैं पुग्दैन । हामी सबै पटकपटक पछारिन्छौं । धेरै पटक धूलो टक्टक्याएर उठ्छौं, अनि कतिपय समयमा निकै मुर्छित पनि हुन्छौं । यो कुरा सबैलाई थाहा छ — जीवनमार्ग सरर चल्ने रेलको लीक जस्तो हुँदैन तैपनि अलिकति उकालो, भिरालो, ढुङ्ग्यान वा पहरो देख्नासाथ जीवनपथबाट बिमुख हुन खोज्छौं । यस्तो किन हुन्छ त भन्ने बिषयमा जानकारहरु भन्छन् — हामी असहजतालाई स्वीकार्दैनाैं।
असफलता स्वीकार
हाम्रा सफलता त हामीसँग छँदैछन् तर असफलता र पराजय पनि आफ्ना भागमा पर्न सक्छन् । यी पराजयहरुलाई सहज रुपमा स्वीकार्न सिक्दा जीवन आफूले सोचेभन्दा सहज हुन्छ । पराजय स्वीकार गर्न नसक्ता उत्पन्न हुने भावाबेगले मानिसभित्र एक प्रकारको ग्लानी उत्पन्न हुन्छ र सोहि ग्लानीभाव क्रोधमा परिणत हुन्छ । क्रोधित भएको बेला कसरि हाम्रो मन टाढा भाग्छ भन्ने सानो प्रसंग यहाँ प्रस्तुत छ ।
कुनै समयमा एक नयाँ चेलाले गुरुलाई सोधेछ, “किन मानिसहरु रिसाएका बेला नजिक नजिक उभिँदा पनि साह्रो साह्रो चिच्याएर बोल्छन् ?” अनि गुरुले उत्तर दिए, “आक्रोशमा मानिसले विवेक गुमाउँछ । जति रिसायो हाम्रो मन तर्सेर उति टाढा भाग्छ । मन टाढा भएपछि त नचिच्याई सुन्दै सुनिंदैन । कुनै कुनै बेला त मन यति टाढा पुग्छ कि कहिल्यै फर्काएर ल्याउन सकिँदैन । मन नजिक भएका बेला मान्छे सुस्तरि र नरम भाकामा बोल्छ । अझ मन नजिक भएका बेला त आँखाको भाका र इशारा नै पर्याप्त हुन्छ ।”
वैचारिक मतभेद
दैनिक जीवनमा हाम्रा विचारसँग अरुका विचार नमिल्नु स्वभाविक हो । विचारमा र व्यवहारमा हार्न सक्नु पनि जित्नु नै हो । क्षणीक रुपमा विवादमा हारेजस्तो देखिए पनि अन्ततोगत्वा जीत आफ्नै हुन्छ । त्यसैले आफ्ना कर्म, विचार र वाणीहरुलाई अरुका नकारात्मक विचार र व्यवहारका प्रभावमा पर्न नदिने हो भनें जीत आफ्नै हुन्छ । त्यसैले अर्को पक्षको अँध्यारोलाई आफ्नो मनको उज्यालोमा ग्रहण लगाउन दिनुहुँदैन । यस प्रसंगमा मिल्दो एउटा कथा छ । कथामा एउटा साधुले खोला तर्ने क्रममा एउटा बिच्छी पानीबाट निस्कने असफल प्रयास गरिरहेको देख्छ । त्यस जीवलाई टपक्क टिपेर किनारामा राख्न खोज्दा बिच्छीले साधुलाई डस्छ । डसाइको पीडामा हात झट्कारिदा त्यो बिच्छी पुनः पानीमा पर्छ । साधुले दोश्रो प्रयासमा त्यस बिच्छीलाई बाहिर किनारामा राखिदिन्छ । त्यो दृष्य हेरिरहेको एकजनाले साधुलाई सोध्छ, “त्यो बिच्छीले टोक्छ भन्ने जान्दाजान्दै तपाईंले हत्ते गरेर किन बाहिर निकाल्नु परेको थ्यो? हेर्नोस् त तपाईलाई दुई पटक डस्यो ।” साधुले शान्त भएरै जवाफ दिए, “यो बिच्छीको स्वभाव नै यस्तै हो । यसले अर्थोक गर्नै जान्दैन । तर हामी त मानव हौं । आफ्नो स्वभाव र अर्काको स्वभाव बीचको विभेद थाहा पाउन सक्छौं । हामी र पशुप्राणीमा त्यहि त अन्तर छ । यति सानो सत्कर्म गर्नबाट हामी चुक्नु हुँदैन ।”
यो किस्सालाई हाम्रो जीवनमा प्रत्येक दिन आइपर्ने समस्याहरुसँग जोडेर हेर्न सकिन्छ । हामी आ—आफ्ना स्वभावमा बाँचेका हुन्छौं । यदि अरुलाई पनि आफूजस्तै हुनुपर्छ भन्ने हो भनें समस्या उत्पन्न हुन्छ । साधुले जानीबुिझकन बिच्छीको स्वभावलाई स्वीकारे झैं अरुका विविध स्वभावलाई स्वीकार्न सके समस्या नै हुँदैन ।
क्रोधले गर्ने क्षती
क्रोधले गर्ने क्षती अपुरणीय हुन्छ । यसले आफूलाई कतिसम्म हानी गर्छ भन्ने कुरा क्रोधित व्यक्तिले ख्याल गरेको हुँदैन । एकपटक गौतम बुद्द आफ्ना चेलाचेलीहरुसँग हिड्दै गर्दा मध्यदिनमा एउटा गाउँमा पुगेछन् । टन्टलापुर घाम लागेको हुँदा उनीहरु थाकेर एउटा ठूलो रुखको छहारीमा बसे । बुद्द आएको सुनेर टाढा टाढादेखि मानिसहरु त्यहाँ आउन थाले । बिस्तारै भीड बढ्दै गयो । एउटा युवक त्यो बढ्दो भीडलाई हेरिरहेको रहेछ । उसलाई के लागेछ भनें यी कहाँका जोगी भेषधारी ठगहरु आएर मिठामिठा कुरा गरेर गाउँका सोझासाझा मानिसहरुलाई ठग्छन् । त्यस युवकलाई निकै झ्वाँक चलेपछि अघि सरेर भीडले सुन्नेगरि चिच्याएर भनेछ, “तिमेरु ठगहरु यहाँबाट गइहाल । सोझासाझा मान्छेहरुलाई जाली कुरा गरेर ठग्न आएका हैन तिमीहरु यहाँ ?”
कराएको सुनेर बुद्दले युवकलाई आफू नजिक बोलाएछन् र भनेछन्, “नकराऊ । तिम्रो चित्त नभड्काऊ । यसरि चिच्यायौ भनें तिम्रो चित्त तिम्रा बसमा रहदैन फेरि । यो त टाढा भागिजान्छ ।” अनि छेउमा बसाएर त्यस युवकलाई बुद्दले भनेछन्, “मानौं तिमीले तिम्रो सबैभन्दा प्रिय व्यक्तिलाई एउटा उपहार किनिदिएछौ । तर त्यस व्यक्तिले त्यो उपहार लिन मान्दै मानेनछ । अब त्यो उपहार कस्को हुन्छ ?”
त्यो प्रश्न सुनेर युवकले भनेछ, “अर्को मानिसले लिनै मानेन भनें, मैले किनेको उपहार मैंसँग रहन्छ नि ।”
“हो कुराको चुरो यहि नै हो,” बुद्दले भने, “तिमीले हामीलाई गाली ग¥यौ, सराप्यौ तर तिम्रा गाली र सराप हामीले ग्रहण गरेनौ । तिम्रो व्यवहारबाट हामी कत्ति पनि बिचलित भएनौं । अब त्यो उपहार हामीले ग्रहण नगरेपछि तिम्रै भयो ।”
त्यति सुनेपछि युवक लाजले भुतुक्क भएछ र माफी मागेछ । यसरी हामीले पनि जे बस्तु, व्यवहार र परिस्थितिले हामीलाई क्रोध उत्पन्न गराउँछ, त्यसलाई स्वीकार नगर्ने हो भनें क्रोधको उत्पत्ति नै हुँदैन । यसरी हेर्दा के देखिन्छ भने क्रोधको बीज हाम्रो हृदयमा अरु कसैले होइन हामी आफैं छर्दा रहेछौं । जसरी ऐनाले अगाडि जे पर्छ त्यसैको प्रतिबिम्ब देखाउँछ, त्यसैगरि हाम्रो बोली र व्यवहार अनुसारको प्रतिफल हामीलाई प्राप्त हुन्छ ।
र अन्त्यमा
सन्त कबीरको अर्को दोहाले मानिसलाई आफूले आफंैलाई नियाल्न, बुझ्न सल्लाह दिन्छ ।
बुरा जो देखन मै चला
बुरा न मिलिया कोय
जो मन देखा आपना
मुझसे बुरा न कोय ।।