लेख

कोरोना, टिकटक र जलिरहेको धरोहर

बाँस्कोटा धनञ्जय

म अहिले समयको एउटा बेरङ्गी रेखामा उभिएर बोलिरेहेको छु । हुन त फूलको आँखामा फूल संसार होभन्छन्, तर यो समयको रंग सही देख्नु फूललाई काँढा देख्नु भनिदैन । तर पूmलको अनुपस्थितिमा फूल देखिन भन्नु भ्रम होइन, यथार्थ हो । ज्ञान हो ।

अस्तिको हप्ता एउटा न्यारेटिभ बन्यो । यो समयको कुरुप न्यारेटिभ । कतिपय यस्ता सूक्ष्म न्यारेटिभ (घटना विवरण) जीवनको लागि महङ्खव राख्ने हुँदारहेछन् । यही भयो मेरो यो न्यारेटिभमा ।

मेरो भदाहा मेघराज लामिछानेको अन्त्येष्टि कार्यमा म झापाको माइधार गएको थिएँ श्रद्धाञ्जली कार्यमा सरिक हुन । त्यो माईपारिको घाट थियो । हामी परिवारका सदस्य मात्रै थियौं । हामी गफ गरिरहेका थियौं । बोलिरहेका थियौं । म अरुका कुरा सुन्न मन पराउने भएकाले असल श्रोताको भूमिकामा थिएँ । दुःखी मनलाई बोलेर टार्ने अभिनयमा थियौं हामी । तर त्यो पल्लाछेउको घाटले मेरो मन तान्न थालेको थियो । के थियो त्यसमा ?

दाउरा हाले सबैभन्दा पछाडि चिता बनाइएको थियो । त्यसको लगभग तीस फुट अगाडि एउटा एम्बुलेन्स निश्चल र शान्त ठडिएको थियो । त्यो एम्बुलेन्सभन्दा अगाडि लगभग एक सय फुट ठाउँ खाली थियो । त्यसको अघिल्तिर फलैचामा केही मानिसहरु बसिरहेका थिए । त्यो अगाडिको खालि ठाउँमा एउटा मान्छे सेतो कोरोना भाइरसको ‘प्रोटेक्टिभ’ ड्रेस लगाएर हलचल नगरी उभिरहेको थियो ।

म त्यो सान्नाटा र रहस्यमा तानिँदै गएँ । म मास्क लगाएर त्यो दृश्यको सय मिटर टाढाबाट अवलोकन गरिरहेको थिएँ ।

‘धनञ्जय सर होइन ? नमस्कार, सर ।’ एउटा युवकले मेरो ध्यान ताने ।

‘नमस्कार । हो त । मैले चिनिन त ।’

‘तपाईको विद्यार्थी । दमक बहुमुखी क्याम्पसमा । मेरो घर सुरुङ्गा ।’

‘अनि यहाँ ?’

‘उः त्यहाँ एम्बुलेन्समा मेरो सानोबुबालाई ल्याएर राखेको । कोरोना लागेर बित्नुभयो ।’

म निःशब्द भएँ । शान्त रहें । धेरै बोल्न सक्ने अवस्थामा थिइनँ । उनै भाइबाट केही जानकारी प्राप्त भयो । उनी चार दशक लागेका मात्रै रहेछन् ।

उसका सानाबा कुनै जीवन बीमाका अभिकर्ता रहेछन् । त्यसैको सिलसिलामा भारत पुगेर आउँदा यस्तो भोग्नु प¥यो ।

जीवन दिने नि भारत । उनले त्यही बिमा कम्पनीमा काम गरेर परिवार चलाएका थिए । तर आज त्यसैले परिवार ध्वस्त बनायो । त्यही भएर, जीवन लाने नि भारत ।

दुई घण्टा भयो, त्यो चकमन्नता साँधेर उभिएको कन्काईको त्यो बगर । फलैंचा पनि शान्त थियो । अनि पर बसेकी उनकी आमा पनि शान्त थिइन् । बीचमा ठिङ्ग उभिएको सेतो बस्त्रधारी पनि शान्त थियो । अनि वर फलैंचामा बसेका उनका परिवारजन पनि शान्त थिए । अनि त्यसैको समीपमा उभिएका प्रहरी पनि शान्त थिए ।

त्यो शान्ति मलाई किन मन परेन ? मुर्दा शान्ति भनको यही होला भन्ने लाग्यो । त्यो सन्नाटाका आयामहरु हेर्न थालें म ।

सबैभन्दा बढी मेरो ध्यान उक्त मृतकका परिवार बसेको फलैंचामा थियो । त्यो शान्त थियो । म केही अगाडि बढें त्यो चकमन्नता पढ्न भनेर ।

‘तपाई फिर्नु । अगाडि नजानु । छोराछोरीलाई सुनाइदिन्छु नि !’ पछाडिबाट ठूलो स्वरमा श्रीमतीले धम्क्याइन् । कारण के थियो भने गत साल कोभिडले भेटेर काठमाडौंमा निकै पैसा बगाएर निको भएर आएको थिएँ म । मेरो फोक्सो कमजोर भएको हुनाले यो रोग दोहोरिन्छ भन्नेमा उनीहरु सचेत थिए, र छन् । यति सुनेपछि म नजिक जानबाट पछि हटें । केही वर्तिरबाटै पढ्न थालें त्यो सन्नाटाका आयाहरु ।

फलैंचामा मृतककी श्रीमती र सानो स्कुले छोरो देखें । उसको कपाल खौरिएको थियो । ऊ एकटकले एम्बुलेन्समा घण्टौंदेखि कैद गरेर राखेको आप्mनो पिताको प्लास्टिकभित्रको मृत जीवलाई तेस्रो आँखाले हेरिरहेको थियो । उसले त्यो प्लास्टिकमा पोको पारेको आप्mनो बाबु मात्रै देखेन, बरु सानैमा उसलाई बोक्ने काँधहरु ढलेको देख्यो । ऊ सानो थियो तर ऊ अग्लो थियो । किनकि उसलाई बोक्ने उसका बाका काँधहरु थिए । आज ऊ हुर्किंदै छ, अग्लिँदै छ, तर ऊ होचो हुँदै थियो । बामपुट्के हुँदै थियो, किनकि उसलाई बोक्ने उसका बाका काँध ढलिसकेका थिए । उसको सपना ढलेको थियो । उसलाई हात समाएर स्कुल लैजाने हातहरु ढलेका थिए । उसलाई बजारबाट पोको पारेर लुगा र खानेकुरा ल्याइदिने हातहरु ढलेका थिए । उसको उज्ज्वल भविष्यका लागि राँको बोक्ने हातहरु ढकेका थिए । उसका भरोसाहरु ढलेका थिए ।

मृतककी श्रीमती एकोहोरो टर्ररा आँखाले त्यो प्लास्टिकको पोको नियाल्दै थिइन् । जीवनको आधा बाटोसम्म हात थामेर, हरेक हावा हुुण्डरीहरुमा समात्दै, थाम्दै ल्याएर आज हठात त्यो हात छोडिदिएका थिए उनले । अब आधा बाटो सकसपूर्ण थिायो । अँध्यारो थियो । त्यही अँध्यारो बाटो हेर्दै थिइन् ।

एकैछिनमा जवानहरु आए । सेता पहिरन लगाए । सबैतिर स्यानिटाइजर मुस्लो छिटे । अनि एम्बुलेन्सबाट लास झिकेर चितामा राखे । घुमाउनु न विधिविधान गर्नु ! यता वर बसेका छोरो र श्रीमती रुन थाले । ‘बाँच्दा त तिमी नरम थियौं, कस्ता भयौ, छुन्छु न’, श्रीमतीको कोकोहोलो थियो त्यो । न त्यो लास छोराले छुन पाए, न त श्रीमतीले । न त दाजुभाइले । न त आफन्तले । तिनै जवानले दाउरा हाले माथिबाट । अनि मट्टीतेल खन्याए । छोराले आप्mनो पितालाई दागबत्ती दिन पनि पाएन । एउटा पराइलाई चितामा राखेको जसरी परबाट हेरे तिनले । पशुपतिमा पर्यटकले हेरेजस्तो । आज कोरोना भाइरसले आप्mनै छोरा र श्रीमतीलाई पशुपतिको पर्यटक बनाइदियो । स्पर्शविनाको शोक र रुवाई कति निर्दयी लाग्यो मलाई ! तिनको कोमल शरीर, मीठो मुस्कान र सधैं प्रेम दसाउने आँखाहरु तिनले स्पर्श त के देख्न पनि पाएनन् ।

तिनै जवानले आगो सल्काए चारै तिरबाट । छोरो र श्रीमती झन् झन् ठूलो स्वरले रोइरहेका थिए । अनि ती जवानहरुले सलामी हानेर वर आए, लुगा फेरे । अनि गाडीमा गए । आफन्तहरु प्नि क्रमशः त्यहाँबाट निस्किँदै थिए बाहिर । ती आमा–छोरा एक्लै टुप्लुक्क बसेर रोइरहेका थिए आप्mनै अगाडि एउटा अज्ञात र दूरदेश भएको आप्mनै पिता र श्रीमान्को लास आगोमा जलिरहेको हेर्दै । तिनले एक्लै बसेर आप्mनो धरोहर जलिरहेको रुँदै–रुदै हेरिरहेका थिए । तिनलाई छेउमा गएर अँकमाल गरेर, समातेर, काखमा लिएर, पानी खुवाएर, टाउकामा पानी पट्टी गराएर, जुस पिलाएर, सान्त्वना दिएर, कपाल काटिदिएर, लुगा लगाइदिएर, डो¥याएर लग्ने मानिसहरुको मैले देखिरहेको थिइनँ, कोही थिएन । ती यो घना मान्छेहरुको दुनियाँमा एक्लै थिए । एक्लै भए ।

नमिठो लाग्यो । तीतो लाग्यो । कोरोनाले सत्यनाश गरिदिएको एउटा न्यारेटिभ थियो त्यो । आज कोरोना माहामारीका धेरै न्यारेटिभहरु आइरहेका छन् । ती निर्दयी छन् । कु्रर छन् । अकल्पनीय छन् । सबै उपायहरु सकेसम्म अवलम्बन गरौं, आपूm पनि बाँचौं, अरुलाई पनि बचाआँैं । अर्को यस्तो न्यारेटिभ लेख्ने दिन नआओस् । यसले हाम्रा सपनाहरु सजिलै चकनाचुर बनाउन सक्छ ।

म अहिले पनि त्यो बालक र ती महिला देखिरहेको छु यी अक्षरहरुमा ।

यस्तो कसैको जीवनमा नपरोस् ।

कोरोना मुर्दावाद ।

आफ्नै दाजुभाइ नेताहरुलाई मुर्दावाद भन्नेहरु कता हराए आजकल ? देशका लगभग चार लाख राष्ट्रसेवकहरु टिकटक बनाएर दिन काट्ने ? तिनलाई कोरोना व्यवस्थापनका लागि सरकाले परिचालन गर्नुपर्ने होइन ?

सरकार भनेको सत्ता हो, मैले माथि पस्केको न्यारेटिभ फाल्तु कुरा हो ! केही काम नपाएर पत्रिकामा लेखेको ! धनञ्जय काम पाउँदैन, अनि लेख्छ । एउटा न्यारेटिभ यो पनि हो । कठै मेरो सभ्यता !

Author

You may also like