समाचार

वर्षाले जनजीवन प्रभावित

दमक/ केही दिनदेखिको लगातारको वर्षाका कारण झापाका नदी खोला किनार तथा आसपासका बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ । बिहीबारदेखि परेको अविरल वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि जिल्लामा डुबान र कटानको जोखिम बढेको छ ।
पानीको बहाव बढेसँगै नदी तथा खोला आसपासका तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लावासीलाई आग्रह गरेको छ । वर्षाकै क्रममा कनकाई नदीमा शनिबार आएको बाढीले भेलामुनीको तटबाँध कटान गर्न थालेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ५ मा रहेको सो बाँध भत्किएमा कनकाईको बाढीले भेलामुनी गाउँका ५० घर डुबानमा पार्ने जोखिम छ ।
वडाध्यक्ष सत्यनारायण राजवंशीलाई उदृत गर्दै जनाए अनुसार अहिले कनकाईले बाँध कटान गरिरहेको छ । यो बाँध जनताको तटबन्ध कार्यालय गैँडेले निर्माण गरेको हो । बाहिरी भागमा ढुंगाको तारजाली भए तापनि भित्री भागमा बालुवामा बालुवा भरिएको कारण बाँध कमजोर भएको हुनसक्ने स्थानीयबासीको आशंका छ ।
सो बाँध भत्किएमा एउटा विद्यालय र रिङरोडसहित सिंगो बस्ती नै जोखिममा पर्ने वडाध्यक्ष राजवंशीको भनाई छ । कनकाईमा बाढीको पानी धेरै भएकाले कटान रोक्न कुनै उपाय गर्न सकिने अवस्था छैन । बाँध फुट्न लागेको र जोखिम बढेको बारेमा सुरक्षा, रेडक्रस र स्थानीय सरोकारवाला सबैलाई जानकारी गराइएको उनले बताएका छन् । उता झापा गाउँपालिका–५ स्थित खयरबारीमा बिरिङ नदीले बाँध फुटाउँदा पानीको धार परिवर्तन भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । नदीले धार परिवर्तन गर्दा त्यस आसपासका २० घर डुबान परेका छन् । साथै आसपासका गाउँ समेत उच्च जोखिममा रहेको एसपी पाण्डेले जानकारी दिए ।
‘कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्लामा राखिएको फरवार्ड पोस्ट र ड्युटी पोस्टहरू पनि डुबानको जोखिममा छ,’ उनले भने, ‘बर्खाले गर्दा सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीहरू थप पीडा र समस्या छ ।’ डुबानमा परेका झापा गाउँपालिका–५ स्थित पन्थपाडाको फरवार्ड पोस्ट आजै हटाइने उनले बताए । त्यस्तै मेची नदी आसपास रहेको सीमा पिलर बगाउने खतरा बढ्नुका साथै अधिकांश पिलर डुबेको उनले बताए । त्यस्तै– गौरीगञ्ज गाउँपालिकाको आमडागीमा १५ घर डुबानमा परेका छन् ।
कमल गाउँपालिका–७ स्थित झर्काबाट रतुवा नदीको पानी गौरादह नगरपालिका–५ स्थित बालुबथानतर्फ पस्ने अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । दक्षिणी झापाको कचनकवल, बाह्रदशी, गौरीगञ्ज र झापा गाउँपालिका बाढीको उच्च जोखिममा रहेका छन् । बाढीबाट हुने क्षति कम गर्नलाई उद्धार र राहतको टोली तयारी अवस्थामा रहेको सभापति ढकालले बताए । सभापति ढकालले भने– ‘अहिलेसम्म जिल्लामा बाढीले मानवीय क्षति पु¥याएको छैन, कसैको घर क्षति पु¥याएर विस्थापित पनि गरेको छैन ।’ जल तथा मौसम विज्ञान विभागले इलाम, झापा, मोरङका अधिकांश स्थानमा केही दिन यता भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई बिरिङ, निन्दा, चिसाङ, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुन खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन मोबाइलमा एसएमएस पठाएर आग्रह गरिसकेको छ । जिल्लाका विभिन्न स्थानमा शनिबारको अविरल वार्षाका कारण थुप्रै स्थान जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको समेत अध्यक्ष ढकालले बताएका छन् ।
बाढीले बगाउँदा मृत्यु
यसैबीच उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का एक जनाको बाढीले बगाउँदा मृत्यु भएको छ । खोला तर्ने क्रममा बगेर शनिबार ६५ वर्षीय गुमशेर राईको मृत्यु भएको हो । रुअविरल वर्षापछि स्थानीय द्दवार खोलामा आएको बाढीमै खोला तर्ने क्रममा बगेर मृतक राई बेपत्ता थिए । बेपत्ता राईलाई प्रहरी टोलीले खोजतलास गर्दा दुईसय मिटर तल मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतम जानकारी दिए ।

Author

You may also like