चारवर्षमा सकियो संवैधानिक निकायमा नियुक्तिको सुनुवाई
काठमाडौं÷ अध्यादेशमार्फत कानून संशोधन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतमा सुनुवाई सकिएको छ । संवैधानिक इजलासमा बिहीबार सुनुवाई गरिएको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले २८ जेठमा निर्णय सुनाउने आदेश दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ र २०७८ मा संवधानिक परिषद्सम्बन्धि ऐन अध्यादेशमार्फत संशोधन गरी एकलौटी रुपमा संसदीय सुनुवाईबिना विभिन्न निकायमा ५२ जनालाई नियुक्त गरेका थिए । त्यसविरुद्ध परेका रिटमा चार वर्षपछि सुनुवाई भएको हो ।
चट्याङले एकजनाको मृत्यु
संखुवासभा/ संखुवासभा चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको छ । स्थानीय लोकबहादुर तामाङको घरमा बसिरहेको अवस्थामा पानीसँगै अचानक परेको चट्याङ लागेर घाइते भएकी निर्मलाको उपचारका क्रममा आधारभूत अस्पताल चैनपुरमा बुधबार साँझ मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका अन्य ३ जनाको अवस्था सामान्य रहेको निमित्त प्रहरी प्रमुख अभिशेक श्रेष्ठले बताए । चट्याङले लागेर प्रतिक तामाङ, कल्पना तामाङ, रिजन तामाङ घाइते भएका छन् । अन्य घाइतेको आधारभूत अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शुल्क लिएर भ्युटावर सञ्चालन गर्न स्वीकृति
दमक । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गरेका छन् । वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार झापाको दमकमा निर्माण भएको भ्युटावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने समेत रहेको छ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । सत्य निरुपणको अध्यक्षमा महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छिन् । त्यस्तै आयोगका चार÷चार जना सदस्य पनि सो बैठकले नियुक्त गरेको छ ।
विश्वप्रकाशलाई सगरमाथा आरोहण स्वीकृति
दमक÷ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणका लागि स्वीकृति पाएका छन् । महामन्त्री शर्मालाई सगरमाथा आरोहणका लागि बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले स्वीकृति दिएको हो । महामन्त्री शर्मा हाल सगरमाथा बेस क्याम्पमा छन् । उनको बिहीबारबाट अभ्यास सुरु भएको छ । स्वास्थ्य र मौसमले साथ दिएमा यसै सिजनमा उनले सगरमाथा आरोहण गर्नेछन् । महामन्त्री शर्माले कहिले आरोहण गर्छन् भन्ने कुरा भने तय भइसकेको छैन ।
हावाहुरीले घर भत्किदा मगरको ज्यान गयो
दमक÷ हावाहुरीले घर भत्किदा झापाको हल्दिबारीमा एक जनाको ज्यान गएको छ । हल्दिवारी गाउँपालिका ५ क त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको आफनै टाडे घर भत्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबारराती आएको हावाहुरीका कारण टिन र काठले बनेको घरको बिमले थिचेर उनको घटनास्थलमा मृत्यु भएको थियो ।
प्रतिनिधिसभामा दुई प्रतिवदन पेश
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई संसदीय समितिको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ र कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गरेका हुन् ।