समाचार

तरकारी तथा फलफूल व्यापार खुला गर्न माग

दमक । झापाको दमक–६ स्थित नयाँ सब्जी बजार तरकारी तथा फलफूल व्यवसायी संघले आफूहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर व्यापार गर्न दिनुपर्ने माग गरेका छन् । बिहीबार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसंग भेटेर संघका अध्यक्ष कुमार श्रेष्ठसहितको टोलीले यस्तो माग राखेको हो। यसअघिका लकडाउन र निषेधाज्ञामा तरकारी तथा फलफूल व्यापार सुचारु राख्न दिइएको थियो । दमकमा भने पहिलो लहरमा नयाँ सब्जी बजारका केही व्यापारीलाई नै कोरोना संक्रमण भएको भन्दै नगरपालिकाले केही समय सो बजार सिल गरेको थियो  । तर दमकका अन्य ठाउँमा भने तरकारी व्यापार खुलानै थियो ।
काठमाडौं उपत्यकामा भने यतिबेला कडा निषेधाज्ञा गरेपनि तरकारी र फलफूल व्यापारका लागि निश्चित समय छुट्याएर व्यापार खुलानै गर्न दिइएको छ । त्यसैगरी दमकमा पनि यस्तो व्यवस्था गर्नुपर्ने नयाँ सब्जी बजार तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले माग गरे  । यस सम्बन्धमा बुझ्न दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसंग सम्पर्क गर्दा उनले शुक्रबार बस्ने कोभिड व्यवस्थापन समितको बैठकमा कोरोना संक्रमणको दर हेरेर सबैको राय सल्लाहमा उपयुक्त निर्णय गरिने बताएका छन् । तरकारी मानिसको दैनिक भान्साका लागि अत्यावश्यक र नभइ नहुने बस्तु हो भने फलफूल पनि खासगरी विवाह, ब्रतबन्ध, पूजा लगायतका कर्ममा मात्र होइन, अन्य समयमा पनि नभइ नहुने बस्तु हो ।
तरकारी……यसकारण पनि तरकारी र फलफूलको व्यापारलाई दैनिक केही समय भएपनि खुला गरिनुपर्ने आफूहरुको माग रहेको नयाँ सब्जी बजारका होलसेल व्यवसायी रविन्द्र दाहालले जानकारी गराए । संघको पदाधिकारी सहितको सो टोलीले बिहीबारनै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठलाई पनि भेटेर आफ्नो माग प्रस्तुत गरेको जानकारी नयाँ सब्जी बजारका होलसेल व्यवसायी दाहालले बताए । श्रेष्ठसंगको भेटमा दमक उवासंघका पूर्वअध्यक्ष प्रकाश प्रसाई पनि सहभागी रहेका थिए । झापा जिल्लामा भने कोरोना संक्रमणको दर अत्याधिक बढेको र लापरवाही समेत देखिएकाले एक हप्ता सम्मका लागि निषेधाज्ञा लम्ब्याउँदा खाद्यान्न तथा तरकारी व्यापार पनि बन्द गरिएको थियो । तर यसबाट आफूहरुलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै उपभोक्तालाई समेत दैनिकरुपमा समस्या भएको व्यापारीहरुको गुनासो छ । व्यापार बन्द गर्दा लुकीछिपी व्यापार गर्नेहरुले तरकारी तथा फलपूmलको भाउ समेत बढाएर उपभोक्तालाई अनावश्यक महंगीको मार थपिएको पनि जानकारीमा आएको छ । त्यसैले यो व्यापार खुलाउन आफूले नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्वर १ का अध्यक्ष टिकाराज ढकालसंग पनि कुराकानी गरेको र उहाँबाट पनि सकारात्मक प्रतिक्रिया र जवाफ आएको दमक उवासंघका अध्यक्ष श्रेष्ठले बताए । तर यसको अन्तिम निर्णय भने जिल्ला कोभिड संकट व्यवस्थापन समितिले नै गर्ने उनको भनाई छ । यसैबीच हरियो तरकारी तथा फलफूलका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक व्यवस्था गर्न सक्ने पनि जनाएको छ ।

Author

You may also like