दमक/कन्काई माईपश्चिमका पत्रकारहरुको साझा संस्था पत्रकार मञ्च दमकले बुधबार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । आगामी अािर्थक वर्षको बजेट र कार्यक्रममा पत्रकारहरुको माग समेटन आग्रह गर्दै सो ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझाउन पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालको नेतृत्वमा मञ्चका पदाधिकारी लगायतको टोली नगरपालिका पुगेको थियो । ज्ञापन पत्रमा मञ्चको भवन बनाउनका लागि नगरक्षेत्रभित्र ५ कठ्ठा जग्गा उपलब्ध गराउन र सो भवन निर्माणका लागि बजेट छुट्याउन, विभिन्न संचार गृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, साप्ताहिक रुपमा जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन गर्न, पत्रकार अक्षयकोषमा आवश्यक रकम प्रदान गर्न, मञ्चले दिँदै आएका पत्रकारिता सम्बन्धी पुरस्कारलाई पुनः चालु गर्न, मञ्चको कार्यालय संचालन तथा प्रशासनिक खर्चको व्यवस्थापन गरिदिन, पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न लगायतका मागहरु उल्लेख गरिएका छन् । संचार गृहबाट लिँदै आएको कर छुट गर्न, पत्रकार तथा संचार गृहले आवश्यक सिफारिस लिँदा निःशुल्क गर्न, लेखन वृत्ति प्रदान गर्न, विरामी परेको अवस्थामा पत्रकार र तिनका परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था गर्न तथा पत्रकारिता अध्ययन अनुसन्धान केन्द्रको स्थापना यथाशीघ्र गर्नुपर्ने माग त्यस अवसरमा राखिएको थियो । सो अवसरमा नगर उपप्रमुख गीता अधिकारी पौडेलको पनि उपस्थिति रहेको थियो ।