समाचार

वर्षेनी घट्दै गौरादहको बजेट

गौरादह/झापाको गौरादह नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर कार्यभार सम्हालेपछि प्रत्येक वर्ष बजेट घट्दो क्रममा रहेको छ । नगरपालिकाले नगरको विकासका लागि महत्वाकांक्षी र ठूला योजना बनाएर नगरसभामा प्रस्तुत गरेपनि बजेट भने बढ्न सकेको छैन ।
जनप्रतिनिधि निर्वाचित भएपछिको प्रथम नगर सभाबाट आर्थिक वर्ष २०७४/०७५ मा कुल ८२ करोड ७ लाख ३६ हजार १ सय ९४ रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०७८/०७९का लागि विनियोजित कुल बजेटको आकार ७१ करोड ८३ लाख २३ हजार ८ सय १० रुपैयाँमा झरेको छ । गौरादह नगरपालिकाले आठौं नगरसभामा प्रस्ताव गरेको बजेट प्रथम नगर सभाबाट पारित बजेटभन्दा १० करोड २४ लाख १२ हजार ३ सय ८४ रुपैयाँ घटी छ । आठौं नगरसभामा पेश भएको बजेट चालु आर्थिक वर्ष २०७७÷०७८ संग तुलना गर्दा पनि १ करोड ४० लाख ६५ हजार घटी हो ।
चालु आर्थिक वर्षका लागि गौरादह नगरपालिकाले ७३ करोड २३ लाख ८९ हजार रुपैयाँ बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्षको विनियोजित बजेट आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटसंग तुलना गर्दा १३ करोड ६९ लाख ४८ हजार रुपैयाँ घटी छ । आर्थिक वर्ष २०७६।०७७ मा कुल ८५ करोड ५२ लाख ७२ हजार रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७५/०७६ को बजेटसंग आठौं नगरसभाबाट विनियोजित बजेट तुलना गर्दा ७ करोड ७७ लाख ६६ हजार रुपैयाँ घटी विनियोजन भएको छ । आर्थिक वर्ष २०७५/०७६ को कुल बजेट ७९ करोड ६० लाख ९० हजार रुपैयाँ विनियोजन भएको थियो ।गौरादह नगरपालिकाका जनप्रतिनिधिको लापरवाही र अदूरदर्शीताको कारण प्रथम नगरसभाले विनियोजन गरेको बजेट २३ करोड ७४ लाखको घाटा बजेट थियो ।
प्रत्येक आर्थिक वर्षमा घाटा बजेट बनाउँदै आएको नगरपालिकाले आगामि आर्थिक वर्षका लागि पनि स्रोतको सुनिश्चितता नभएको ६ करोडको घाटा बजेट बनाएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९का लागि विनियोजित कुल बजेटमध्ये ६५ करोड ८३ लाख २३ हजार ८ सय १० रुपैयाँको मात्र स्रोत सुनिश्चितता भएको प्रस्तावित नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

Author

You may also like