दमक/आज असार १५– खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । जेठमै राखेको धानको बिउलाई असार लागेपछि रोप्न थालिन्छ । समयमै वर्षा भएका कारण यो वर्षका किसानहरुले असार शुरु भएसंगै धान रोप्न थालिसकेका छन् । खाद्यवालीमा मुख्य बाली मानिने धान नेपालभरी नै लगाइन्छ । आजको दिन देशभर रोपाइँ सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइन्छ । कोरोनाको महामारीका कारण केही खल्लो हुने यस वर्ष धेरै जना भेला भएर उत्सवका रुपमा दिवस नमनाए पनि घर परिवारको र छिमेकीहरुले यो दिवस मनाउन सक्दछन् । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।
नेपालमा चैते धान, बर्षे धान र घैया धानको खेती हुने गर्दछ । यहाँ धानको उत्पादन प्रति हेक्टर तीन हजार किलो हुने गरेको अनुमान छ । धान दिवस मनाउँदा किसानहरु बिच कृषि क्षेत्रमा टिकिरहन थप हौसला मिल्ने विश्वास गरिएको छ । कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन नेपालको प्रमुख खाद्यबालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको छ । नेपालमा करीव १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ ।
मानो रोपेर मुरी फलाउने अवसरका रुपमा देशभरी रोपाइँ गरिंँदैछ । आजका दिन खेतमा धान रोप्ने मात्र होइन, किसानहरुले खुशीयालिका साथ दहि चिउरा खाने गर्दछन् । रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाइन्छ । यसरी रोपाँईसँगै दहि चिउरा खाने चलन रहेकोले आजको दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । यसरी दहि चिउरा खाँदा शरीरलाई उर्जा प्राप्त हुन्छ । खेतिपातीको हिलोमैलोले शरीर थाक्ने हुँदा दही चिउराले शक्ति प्रदान गर्ने र बाँकी खेतीपाती पनि सजिलै सम्पन्न हुन्छ । दही चिउरा खाँदा गति परिने पनि विश्वास छ । आज आफ्नो खेतीपाती नहुने र रोपाँई सम्पन्न गरिसकेका किसानहरूले समेत अरूको खेतीमा गई रोपाँईमा मद्दत गर्दछन् । असार लागेसँगै यस वर्षको मनसुन पनि शुरु भएको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष चाँडै पानी परेका कारण धान रोपाइँमा सहजता देखिएको छ । देशमा कुल धान खेतीको करीव २१ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा उपलब्ध छ । बाँकी जमिनमा गरिने धान खेती मनसुनमै भरमा गरिन्छ । त्यहि भएर यस अवधिमा किसानहरु अरु काम छाडेर पनि धान बाली लगाउन व्यस्त हुन्छन् ।
नेपाल संसारकै सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश हो । समुद्री सतहदेखि ७० मिटर उचाईमा अवस्थित झापाको केचनामा पनि धान लगाइन्छ भने २ हजार ७ सय ८० मिटर उचाइको जुम्लाको छुमचौरमा पनि धान खेती गरिन्छ । यसरी जुम्लाको धान खेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा गरिने धानखेती भनिन्छ । जुम्लाको मार्सी धान नेपालभरी नै कहलिएको धान हो । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो भने सबैभन्दा कम धान मुस्ताङ जिल्लामा उत्पादन हुन्छ । संसारको करीव ३ अर्ब ५० करोड मानिस अर्थात् ६० प्रतिशत मानिसको मुख्य खाना पनि चामलजन्य खाद्यान्न नै हो । एसियाली देशमा त ९० प्रतिशत बढि मानिसले चामलजन्य खाद्यवस्तु खाएरै बाँचेका छन् ।