समाचार

कमल–५ को वडा कार्यालय आफ्नै भवनमा

दमक/ झापाको कमल गाउँपालिका वडा नम्बर ५ को कार्यालय भवनको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पाडाजुँगी चौक पूर्व पाथीभरा चौकको १७ धुर जमीनमा निर्माण गरिएको नवनिर्मीत वडा कार्यालय भवनको एक नम्बर प्रदेश सभाका सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले उद्घाटन गरे । उपभोक्ता समितिमार्फत् प्रदेश सरकारको रु २५ र गाउँपालिकाको रु ५४ लाख गरी कुल रु ७९ लाख रुपैयाँको सभाहलसहित ६ कोठे एक तले पक्की वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिए । भवन उद्घाटन पछि सोमबारदेखि नै कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएको वडाध्यक्ष निरौलाले बताए । यसअघि वडा कार्यालय पाडाजुँगीस्थित एक भाडाको घरमा संचालन हुँदै आएको थियो । भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राई
गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले, नेपाल काँग्रेसका बयोवृद्ध नेता पूर्णानन्द शर्मा, साविक लखनपुर गाविसका अध्यक्ष भोजकुमार घिमिरे, सामाजिक व्यक्तित्व विष्णु पौडेललगायतले बोलेका थिए । वडा सदस्य गीता गजुरेलले स्वागत मन्तव्य राखेको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, कमल १ का वडाध्यक्ष केदार कटुवाल, सामाजिक अगुवा दिलीप वान्तवा लगायत, वडाध्यक्षहरु,वडासचिव, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भवन निर्माणका लागि स्थानीय सन्तोष, राजकुमार, नरेन्द्र, बिष्णु , प्रेम र कृष्ण कार्की दाजुभाईले आफ्ना दिवंगत पितृ चिनबहादुर र चन्द्रकला कार्कीको स्मृतिमा करिव रु ३० लाख मूल्य पर्ने १७ धुर जग्गा निःशुल्क उपलव्ध गराएका थिए । २०७७ बैशाख २७ गते शिलान्यास गरिएको भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नुका साथै जग्गादाता सन्तोष कार्कीको संयोजकत्वमा पाँच सदस्यीय एक अनुगमन समिति समेत गठन गरिएको थियो ।कार्यक्रमको सञ्चालन वडासचिव रिता कार्कीले गरेकी थिइन् ।

Author

You may also like