देश–समाज राजनीति

राजतन्त्रकाे पक्षमा झापामा पनि माेटरसाइकल र्याली गरिने

माेटरसाइकल र्याली

दमक / देशभर राजतन्त्रको पक्षमा जुलुस तथा शक्ति प्रदर्शन भइरहेका बेला झापामा पनि राजतन्त्रको पक्षमा मोटरसाईकल र्याली गरिने भएको छ ।

राजतन्त्र पूनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै राप्रपा झापाले अन्य राष्ट्रवादी समूह तथा हिन्दू धर्मप्रति आस्था र विश्वास राख्ने नागरिक समाजहरूकाे समन्वयमा झापामा आगामी २० गते मोटरसाइकल र्याली गर्ने राप्रपाका प्रदेश नं. १ अध्यक्ष राम थापाले जानकारी दिएका हुन् ।

यसैबीच कमल गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ३५ जना राप्रपामा प्रवेश गरेका छन् ।

सोमबार कमल–५ मा एक कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई राप्रपाका प्रदेश अध्यक्ष राम थापालगायत नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

विभिन्न पार्टी परित्याग गरी कमल गाउँपालिकाका दुर्गाबहादुर खत्री, गुमानध्वोज कार्की, हरिबहादुर खवास, सुनिल मेचे, सहीबहादुर लामिछाने, मेघबहादुर विश्वकर्मा, यामबहादुर मगर, पूर्णमाया भुजेल, शान्ति खवास, मोहनकुमार श्रेष्ठ, कालीबहादुर थापा, नारायणप्रसाद ढकाललगायत राप्रपा प्रवेश गरेका हुन् ।

यसअघि झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा राप्रपा प्रवेश गरेका तत्कालीन नेकपा माओवादीका झापा इलाम इञ्चार्ज विक्रम अधिकारी ‘ब्रह्माण्ड’ र तत्कालीन लखनपुर गाउँ इञ्चार्ज तथा बुद्धिजीवि परिषद्का केन्द्रीय सदस्य याम पाठक समेतलाई सोमबार स्वागत गरिएको थियो ।

राजासहितको प्रजातन्त्र, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, प्रत्येक नेपालीलाई गास, बास र कपासको वैधानिक व्यवस्थाका लागि संघर्षरत राप्रपामा स्वागत गर्न पाउँदा खुसी लागेको थापाले बताए । राप्रपामा सबैलाई समान अवसर र जिम्मेवारी दिइने उनको भनाई थियो ।

Author

You may also like