शिक्षा

मेडिकल कलेज सञ्चालकलाई वृद्धि शुल्क फिर्ता गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गर्नुभएको छ ।

अनेरास्ववियुले आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले तोकेको मापदण्ड अनुसार नै मेडिकल सञ्चालकलाई शुल्क लिन आग्रह गर्नुभएको हो । उहाँले वृद्धि शुल्क फिर्ता नगरे कडा कदम समेत चालिने जानकारी दिनुभयो ।

 

 

मन्त्री पोखरेलले विश्वविद्यालय, प्रतिष्ठान, निजी कलेजसंँगको सहमतिमा नयाँ शुल्क तोक्नका लागि कार्यदल बनेको समेत जानकारी दिनुभयो । उहाँले सबैको साझा प्रयासबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनेको भन्दै कार्यान्वयन गरेर चिकित्सा क्षेत्रका विकृतिलाई सुधार गरिने बताउनुभयो । मुलुकलाई शैक्षिक केन्द्र बनाउन सरकार दृढ रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षामा कसैसँग पनि सम्झौता नगरिने बताउनुभयो ।

You may also like