चितवनः चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच ५ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफलमा ५ बुँदे सहमति भएको हो ।
बैठकले शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ ।
प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजले जनाएको छ । यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन फिर्ता भएको छ भने पठनपाठन सुचारु भएको छ ।