स्वास्थ्य

काठमाडौंको खानेपानी आपूर्तिमा सहजता

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बन्दै गएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ ।

वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिनुभयो ।

पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भईरहेको कम्पनी सचिव शाक्यले बताउनु भयो । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ ।

युकेएलका अनुसार महांकालचौर स्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिंदै गएको छ । महांकालचौर शाखाको पानी अहिले चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आईरहेको छ ।

शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धाराहरुमा पानी वितरण हुँदै आएको जानकारी दिनुभयो । त्यसैगरी महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश के।सीले बताउनु भयो ।

You may also like