दमक/झापाको दमक–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयलाई माध्यमिक स्तरमा लान अभिभावकहरुले पहल थालेका छन् ।
विहिवार विद्यालय परिषरमा आयोजित विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, चन्दादाता, अक्षयकोष दातासहितको भेला तथा अन्तरक्रियाले विद्यालयलाई गे्रडअफ गर्न आवश्यकीय पहल शुरु गर्ने निर्णय गरेको सहजिकरण समितिका संयोजक शेरबहादुर भट्टराईले बताए ।
भेलाले आगामी माघ पहिलो हप्तासम्ममा कानुनी प्रक्रिया पूरा गर्नेगरी काम अघि बढाउने निर्णय गरेको विद्यालयका प्रधानाध्यपक शेषकुमार निरौलाले जानकारी दिए । उनका अनुसार विद्यालयलाई माध्यमिक स्तरमा लान तत्काल १२ कक्षासम्म पढाउन भवन तथा भौतिक संरचनाको अवस्था पर्याप्त भएपनि शिक्षक ब्यवस्थापन र विद्यार्थीको दक्षता मुख्य चुनौति रहेको छ । अहिले वडाहरुको सहयोगमा ६ लाख रुपैयाँ बैंक मौज्दात रहेको र विद्यालयलाई ग्रेडअफ गर्न शुरु गरिएको अक्षयकोषमा ४ लाख ५ हजार रुपैयाँ जम्मा भएको प्रअ निरौलाले जानकारी दिए । विद्यालयमा हाल कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ । यो वर्ष कक्षा ८ मा ४० जना विद्यार्थी छन् ।
भेलामा अधिकांश अभिभावकहरुले विद्यालयलाई अंग्रेजी माध्यममा लान र विद्यार्थीको दक्षतामा जोड दिन शिक्षकहरुलाई सुझाव दिएका छन् । भेलामा संयोजन समिति सदस्य लीलादेवी ढुंगेल, चैतन्य बराल, प्रकाश बुढाथोकी, शिक्षासेवी लेखनाथ खनाल, दमक ५ का वडाअध्यक्ष इन्द्रबहादुर गुरुङ, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिनेश राई लगायतले सुझाव राखेका थिए ।