नेपालमा सनातन काल देखि नै शैव मतका शिव उपासकहरुले रुद्राक्षको माला धारण गर्ने प्रचलन रहँदै आएको छ ।प्राचीन काल देखि नै हाम्रा ऋषि मुनिहरूले रुद्राक्ष धारण गरी आफ्नो शरीरको शोभा बढाई रहेका भेटिन्छन् । नेपालका राष्टू देवताको रूपमा परिचित र पूजित भगवान पशुपतिनाथ विश्व भरिका सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको प्रतीकको रुपमा रहनु भएकोले प्रत्येक शिव भक्तहरूले रुद्राक्षको माला धारण गरी आफ्नो जीवनलाई धन्य बनाई रहेका हुन्छन् । हाम्रा शास्त्र पुराणहरूमा र धार्मिक ग्रन्थहरूमा रुद्राक्षको ठूलो धार्मिक र आध्यात्मिक महत्त्व बताइएको छ । एकातिर रुद्राक्ष धार्मिक आध्यात्मिक ऊर्जाले भरिएको हुन्छ भने अर्कोतिर आयुर्वेदिक र स्वास्थ्यका दृष्टिकोणले पनि रुद्राक्षको ठूलो महत्त्व रहेको छ ।
मानिसहरुका त के कुरा देवी देवताहरूले पनि रुद्राक्ष धारण गरी आफूलाई धन्य ठानि रहेका हुन्छन् । रुद्राक्ष धारण गर्ने व्यक्ति साक्षात् रुद्रका समान पूजनीय हुन्छन् । रुद्राक्ष धारण गर्नाले मात्र पनि जन्म जन्मान्तरका पापहरू नाश हुन्छन् तथा मोक्षको प्राप्ति हुन्छ । रुद्राक्ष धारण गरेर तथा रुद्राक्षको माला लगाएर हाम्रा ऋषिमुनिहरूले हजारौं हजार वर्षसम्म तपस्या गरेका छन् र विभिन्न किसिमका सिद्धिहरु पनि प्राप्त गरेका छन् । विधि विधानपूर्वक रुद्राक्षको माला धारण गर्नाले रुद्राक्षको महत्त्व धेरै गुणा बढेर जान्छ । रुद्राक्ष भगवान शिवका प्रिय आभूषण मानिन्छ । रुद्राक्ष धारण गर्ने व्यक्ति हरू दीर्घायु हुन्छन् ,तथा अकाल मृत्यु हुने जस्ता दुर्घटनाहरूबाट जोगिएका हुन्छन् । रुद्राक्षको माला धारण गर्ने गृहस्थहरू लाई अर्थ र कामको प्राप्ति हुन्छ भने योगी र साधकहरूलाई धर्म र मोक्षको प्राप्ति हुन्छ । धार्मिक दृष्टिले मात्र होइन आयुर्वेदिक भौतिक र योग साधनाको दृष्टिकोणले पनि रुद्राक्ष धारण लाई प्रकृतिको अनुपम वरदानको रुपमा लिइन्छ । मेरु तन्त्रमा लेखिएको छ ,, समस्त सिद्धियै रुद्राक्षा । अर्थात् रुद्राक्ष धारण गर्नाले सबै किसिमका सिद्धि प्राप्त गर्न सकिन्छ । रुद्राक्ष मालाले छोएको जल शिरमा लगाउनाले सबै प्रकारका पापहरुबाट मुक्त भई अक्षय पुण्यको प्राप्ति हुन्छ ।
‘रुद्राक्ष स्फटिकेन्द्राक्ष मध्ये किन्चिन्न दापयेत’
शिव रहस्य तन्त्रमा लेखिएको छ, एको वक्त्रह शिवह साक्षात ब्रह्म हत्याम व्यपोहति,, अर्थात् एकमुखी रुद्राक्ष साक्षात शिव स्वरूप एवं ब्रह्म स्वरूप हुन्छन् । एक मुखी रुद्राक्ष राखिएको ठाउँमा लक्ष्मी स्थिर भएर बस्नु हुन्छ ।
दुई मुखी रुद्राक्ष हरगौरी स्वरूप वा पार्वती स्वरूप हुन्छन । गौरीशंकर दुईमुखी रुद्राक्षले ज्ञात अज्ञात गौवध समान पाप नष्ट गर्छ पनि भनिएको छ । यो साक्षात अर्धनारीश्वर स्वरूप हुन्छ र कामनाहरूको पूर्तिमा सहायक हुन्छ । तीनमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप हो । यसबाट सबै पाप नष्ट हुने फल प्राप्त हुन्छ । तीन मुखी रुद्राक्ष साक्षात अग्नि स्वरूप हुन्छ । यसलाई धारण गर्नाले शारीरिक बल तेज र आत्मबलमा वृद्धि हुन्छ तथा लक्ष्मी र विद्याको प्राप्ति हुन्छ । चार मुखी रुद्राक्ष साक्षात ब्रह्म समान मानिन्छ यसबाट ब्रह्म हत्या र ज्ञात अज्ञात पाप तथा पूर्व जन्ममा अर्जित सबै किसिमका पापहरूको पनि विनाश हुन्छ, साथै यसबाट अर्थ धर्म काम र मोक्ष गरी चारवटै पुरुषार्थको प्राप्ति हुन्छ । पाँचमुखी रुद्राक्ष कालाग्नि रुद्र स्वरूप हुन्छन् । यसले अगम्य गमन, अभक्ष्य भक्षण आदि ज्ञात अज्ञात पापहरु समेत नष्ट गर्दछ । यो सबै कामनाहरूको पूर्ति गर्ने मोक्षदायी र सर्वपापहारी हो । पाँचमुखी रुद्राक्षको एक सय आठ वटा दानाको माला धारण गर्नुलाई विशेष महत्व दिइन्छ ।
छ मुखी रुद्राक्ष कार्तिकेय तथा परम ईश्वर विष्णुको स्वरूप हो । यसले गर्भपतन गराइएको पाप समेत नाश गर्दछ । छ मुखी रुद्राक्षलाई दाहिने भुजामा धारण गरिन्छ । यसले ब्रह्महत्या जस्ता पापहरूलाई पनि निवारण गर्दछ । सात मुखी रुद्राक्ष बासुकी नागराज तथा महाविष्णुको स्वरूप हो । यसले सुन चोरी जस्ता जघन्य अपराधबाट हुने पापहरु नष्ट गर्दछ । यो सप्तऋषि स्वरूप हो । यसलाई गलामा अथवा दायाँ भुजामा धारण गर्न सकिन्छ । यसलाई धारण गर्ने दरिद्र व्यक्ति पनि धनी हुन्छन् । आठमुखी रुद्राक्ष भगवान विनायक अष्टगणेश वा गणपतिको स्वरूप हो । यसले सम्पूर्ण असत्यहरू नष्ट गरी सत्यको पालना गराउँदछ । यसलाई अष्टभुजा भएकी देवीको स्वरूप पनि मानिन्छ । सबै किसिमका विघ्न बाधाहरू समाप्त पारी यसले मानिसलाई पूर्ण आयु दिन्छ । अल्पायु पुरुष पनि आठमुखी रुद्राक्ष धारण गर्नाले सबै किसिमका अरिष्ट बाधाहरुबाट मुक्त हुन्छन् । नौमुखे रुद्राक्ष भगवान भैरव देवको स्वरूप हुन ।
नौमुखी रुद्राक्ष धारण गर्नेलाई आनन्द भैरवले शिव सायुज्यताको लागि गति प्रदान गर्नुहुन्छ । नौमुखे रुद्राक्ष नवदुर्गाको स्वरूप हो । यसको माला धारण गर्नाले जीवनका सबै प्रकारका ऐश्वर्य हरू प्राप्त गर्न सकिन्छ । दश मुखी रुद्राक्ष भय, उपद्रव ,भूत प्रेतादि नाश गर्ने वाला भगवान विष्णुको स्वरूप हो । दशमुखी रुद्राक्ष सबै कामनाहरूको पूर्ति गर्न सक्षम छ । एघार मुखी रुद्राक्षको माला धारण गर्नाले यज्ञ गरे सामान पुण्य प्राप्त हुन्छ । यो साक्षात हनुमान स्वरूप हो । यो सबै ठाउँमा विजय दिलाउने तथा आध्यात्मिक शक्ति प्रदान गर्ने कार्यमा सहायक हुन्छ । बारह मुखी रुद्राक्ष आदित्य स्वरूप हुन्छन् यसको धारण गर्नाले आँखाको ज्योति बढ्छ र साथै बुद्धि तथा स्वास्थ्य को प्राप्ति पनि हुन्छ । तेह्र मुखी रुद्राक्ष साक्षात देवराज इन्द्रका स्वरूप हुन्छन् । यो कामना पूर्ति सिद्धिप्रदायक तथा सौभाग्य र मङ्गलदायी हुन्छन । चौध मुखी रुद्राक्ष अत्यन्त दुर्लभ रुद्राक्षको रुपमा परम शिवको स्वरूप मानिन्छ । सबै देवताहरुहरूको कृपा यसमाथि रहन्छ । यसको धारण गर्नाले सबै किसिमका पापहरू नाश हुन्छ तथा परम पदको समेत प्राप्ति हुन्छ । पन्ू मुखी रुद्राक्ष गौरीशंकरको स्वरूप हुन्छ । यसले सबै किसिमका मनोवान्छित फल तथा रिद्धिसिद्धि प्रदान गर्दछ ।
रुद्राक्षको उत्पत्ति भगवान शिवको आँखाको आँसुबाट उत्पन्न भएको हुनाले रुद्राक्ष भगवान शिवको अद्भुत अमूल्य र चमत्कार पूर्ण देन मानिन्छ । ॐ नमः शिवाय मन्त्रको उच्चारण गरी एक सय आठ वटा दाना भएको रुद्राक्षको माला धारण गर्न सकिन्छ । रुद्राक्षको माला धारण गरेर हरेक सनातन हिन्दु धर्मावलम्बी धर्मप्रेमी व्यक्तिहरूले आध्यात्मिक उन्नति गर्न सक्छन् । यसलाई धारण गर्दा विभिन्न किसिमका सांसारिक दुःख कष्टहरू शारीरिक मानसिक तथा दैविक कष्टहरू तथा दुष्ट ग्रहहरूको कारण जीवनमा बाधाको रुपमा आइरहने संकटहरुबाट समेत छुटकारा प्राप्त हुन्छ । यसलाई धारण गर्नाले व्यक्तिको आध्यात्मिक उर्जा वृद्धि हुन्छ तथा मनमा सकारात्मक विचारहरूको अभ्युदय हुन्छ । यसलाई धारण गर्नाले ब्लड प्रेसर जस्ता रोगहरूबाट पनि छुटकारा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ यसलाई धारण गर्नाले हृदय समेत स्वस्थ्य रहन्छ । तथा मानिसहरूलाई हृदयघात पर्न सक्ने सम्भावना र खतरालाई टाल्न सकिन्छ । यो धारण गर्नाले शरीरमा रक्त सञ्चार प्रणाली मा कुनै किसिमको अवरोध आउँदैन ।
मानिसहरूको मनभित्रको सबै किसिमका मनोविकारहरू हटेर जान्छन् साधकहरूको लागि रुद्राक्ष मालाको प्रयोग अत्यन्त आवश्यक हुन्छ । शुद्ध र असली रुद्राक्ष पहिचान गर्नुपर्दा रुद्राक्षको जुन दाना पानीमा डुब्छ त्यसलाई असली रुद्राक्ष को रुपमा पहिचान गर्न सकिन्छ । जुन रुद्राक्ष दाना पानीमा डुब्दैन त्यसलाई उच्चकोटीको रुद्राक्ष मान्न सकिँदैन । कमसल खालको रुद्राक्ष पानी मा काठ पौडिरहेको जस्तो हुन्छ । त्यस्तो कमसल खालको रुद्राक्षलाई प्रयोग गर्नु हुँदैन । प्राकृतिक रूपले नै नेपालको हिमालय क्षेत्रहरूमा रुद्राक्षको प्रशस्त बोट बिरुवा हरू पाइन्छ ।नेपालमा उत्पादन भएको रुद्राक्ष अत्यन्त नै पवित्र रुद्राक्षको रूपमा विश्वभरि नै पुजित र अभिनन्दित हुन्छ । भगवान शिवका बाह्र वटै ज्योतिर्लिङ्ग भएका तीर्थस्थलहरूमा नेपालमा उत्पादित रुद्राक्षका मालाहरूको प्रयोग हुने गर्दछ । भगवान शिवका अत्यन्त प्रिय मानिने शिवभक्त अघोरी साधकहरू तथा अघोरी नागा बाबाहरूले समेत आफ्नो शरीरलाई पूर्णरूपमा निर्वस्त्र राखिए पनि आफ्नो गलामा र शिरमा रुद्राक्षका मालाहरू धारण गरी शिवरात्री पर्वको अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आउँदा नेपाली भक्तजनहरूको ठूलो आदर श्रद्धा र विश्वास प्राप्त गरिरहेका भेटिन्छन् । तसर्थ नेपाली समाजमा रुद्राक्षको उपादेयता र धार्मिक सामाजिक आयामहरूको विस्तार हिमालयदेखि कन्याकुमारीसम्मको सनातन संस्कृतिमा व्यापक हुँदै गइरहेको छ र नेपालको रुद्राक्षको माग विश्वव्यापी रुपमै बढ्न थालेको छ ।