अर्थ देश–समाज विचार/वहस स्थानीय

उज्यालो नेपालका जोखिम र समृद्धिको पाटो

विमल लामिछाने

नेपालका खोलानालामा उर्लने पानी हेर्दै हाम्रा पूर्खाले गर्वका साथ भन्ने गरेका थिए–‘नेपालको धन, जलस्रोत नै हो’ तर, दशकौंसम्म लोडशेडिङको कहालीलाग्दो अन्धकार भोगेको यो देशमा जलस्रोत केवल भाषण, निबन्ध र कागजी सपनामा मात्र सीमित रह्यो ।
आज परिदृश्यले ठूलै कोल्टे फेरेको छ । कुनै समय १८ घण्टासम्मको अन्धकार झेलेका नेपाली जनताका लागि जलविद्युत्को कथा अब केवल कल्पना रहेन, यथार्थको धरातलमा परिणत भएको छ । नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४,३०० मेगावाटभन्दा माथि पुगिसकेको छ भने मुलुकभरका ९९ प्रतिशतभन्दा बढी नागरिकको घरमा बिजुलीको उज्यालो पुगेको छ । नेपाल अब केवल आन्तरिक उपभोगमा मात्र सीमित नरही क्षेत्रीय ऊर्जा व्यापारको नयाँ अध्यायमा प्रवेश गरेको छ ।
भारततर्फ विभिन्न माध्यम र मध्यकालीन सम्झौतामार्फत बिजुली निर्यातका लागि नेपालले अनुमति पाएको क्षमता एक हजार मेगावाटभन्दा माथि पुगेको छ । बर्खाको समयमा आन्तरिक माग धानेर जगेडा रहेको बिजुली छिमेकी देशहरूमा पठाएर अर्बौं रुपैयाँ भित्रिन थालेको छ । बंगलादेशसँगको ऊर्जा व्यापारले पनि औपचारिक र सार्थक बाटो समाएको छ । काठमाडौंदेखि नयाँदिल्लीसम्म भइरहेका उच्चस्तरीय बैठकहरू र आगामी १० वर्षभित्र थप अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने सहमतिले नेपालको ऊर्जा भविष्यलाई अझ फराकिलो बनाएको छ । तर, यी सबै चमकदार तथ्यांक र सफलताका बाबजुद एउटा गम्भीर प्रश्न खडा हुन्छ, के साँच्चै बाहिर बिजुली बेचेर मात्र देश धनी बन्न सक्छ ? वा १५ खर्बभन्दा बढीको विशाल वैदेशिक व्यापार घाटा बोकेको अर्थतन्त्रका लागि यो निर्यातले मात्र कायापलट गर्न सक्छ ?
प्रकृति र जलवायु परिवर्तनको मारः बाढीले भत्काएका आयोजनाहरू
जलविद्युत् क्षेत्रमा देखिएको यो उज्यालो पक्षसँगै यसको कालो र जोखिमपूर्ण पाटो पनि उत्तिकै कहालीलाग्दो छ । नेपालका नदीहरूको अनिश्चित बहाव, जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र भयानक बाढीपहिरोका कारण बर्सेनि बन्दै गरेका र बनिसकेका दर्जनौं जलविद्युत् आयोजनाहरूमा भारी क्षति पुग्ने गरेको छ ।
हालसालै आएका विनाशकारी बाढी तथा गेगरसहितको लेदो प्रवाहले रसुवा, भोटेकोसी, त्रिशूली, बुढीगण्डकीलगायतका नदी आसपास रहेका थुप्रै जलविद्युत् आयोजनाहरूलाई तहसनहस बनाएका छन् । सरकारी तथा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएका र बन्दै गरेका दर्जनौं आयोजनाहरू बाढीले बगाउँदा वा क्षतिग्रस्त पार्दा सयौं मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ ।
विशेषगरी सतहमा बनेका पावरहाउस, बाँध (ड्याम) र बालुवा थिग्राउने पोखरीहरू (डिस्यान्डर) बाढीको उच्च जोखिममा पर्ने गरेका छन् । अर्बौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका यी संरचनाहरू अचानक ठप्प हुँदा वा भत्किँदा एकातिर उत्पादक र शेयरधनी जनताको लगानी डुबेको छ भने अर्कोतिर हिउँदको समयमा आन्तरिक माग धान्न फेरि पनि भारतबाटै महँगोमा बिजुली आयात गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । जलवायुजन्य विपद्का कारण आयोजनाहरू बारम्बार क्षतिग्रस्त हुनुले नेपालको जलविद्युतमा आधारित अर्थनीतिलाई गम्भीर चुनौती दिएको छ ।
प्रगतिको पाटोः सडकदेखि भान्सासम्मको परिवर्तन
प्राकृतिक विपद् र जोखिमका बीच पनि नेपालमा आन्तरिक खपतको परिदृश्य भने दिनानुदिन सकारात्मक बन्दै गएको छ । सडकतिर नजर घुमाउँदा यो परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । पेट्रोल र डिजेलका धुवाँ फाल्ने पुराना गाडीहरूलाई पछि पार्दै विद्युतीय सवारीसाधनहरूले नेपाली सडकहरूमा राज गर्न थालेका छन् । हाल नयाँ किन्ने साधनहरूमा ठूलो हिस्सा विद्युतीय गाडीकै छ, जसले पेट्रोलियम पदार्थको आयातमा बाहिरिने गरेको अर्बौं रुपैयाँको विदेशी मुद्रा जोगाउन ठूलो टेवा पु¥याएको छ ।
त्यस्तै, बर्सेनि ५६ अर्ब रुपैयाँभन्दा बढीको एलपीजी ग्यास किनेर विदेशमा पैसा पठाइरहेको तीतो यथार्थलाई चिर्दै प्रत्येक नेपालीको भान्सामा इन्डक्सन चुल्हो बाल्ने क्रम तीव्र रूपमा बढेको छ । यसले एकातिर ग्यास आयातबापतको ठूलो धन विदेशिनबाट रोक्छ भने अर्कोतिर घरभित्रको धुवाँबाट हुने विभिन्न स्वास्थ्य समस्याहरूलाई समेत न्यूनीकरण गर्न सहयोग पु¥याउँछ ।
यद्यपि, ऊर्जा विज्ञहरूको तर्क भने फरक छ । बिजुली बाहिर काँचै बेचेर वा केवल निर्यातलाई मात्र सर्वस्व ठानेर कुनै पनि देश दिगो रूपमा धनी बनेको इतिहास छैन । अर्कोतर्फ, कूटनीतिक र व्यापारिक उल्झनहरू पनि उत्तिकै जटिल छन् । भारतले नेपालका खोलाहरूमा आफ्नै लगानीका परियोजनाहरू अघि बढाएको छ भने चिनियाँ लगानी वा संलग्नता भएका आयोजनाको बिजुली नकिन्ने अनेक शर्तहरू अघि सारेको छ । यस्तो अवस्थामा, सोचेजति सजिलै र विनाअवरोध ठूलो परिमाणमा बाहिर बिजुली पठाउन कूटनीतिक र प्राविधिक दुवै चुनौतीहरू कायम छन् ।
नेपालको वास्तविक मुक्ति र समृद्धिको बाटो के हो त ?
यसको उत्तर हाम्रै उद्योग, कृषि र प्रविधि क्षेत्रको आन्तरिक विकासभित्र लुकेको छ । जलविद्युत्लाई केवल निर्यातको वस्तुमात्र नबनाई देशभित्रै औद्योगिक मूल्य अभिवृद्धि गर्ने, ठूला डेटा सेन्टरहरू स्थापना गर्ने, सूचना प्रविधि पूर्वाधारहरूमा लगाउने तथा गाउँदेखि सहरसम्म भरपर्दो र निरन्तर विद्युत् वितरण प्रणाली पु¥याउने हो भने आन्तरिक खपत आफैंले चमत्कारिक रूप लिन सक्छ ।
हालै सरकारले अघि बढाएको ‘ऊर्जा विकास मार्गचित्र’ ले सन् २०३५ सम्ममा २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य राख्दै आन्तरिक खपतलाई प्रतिव्यक्ति १५०० युनिटसम्म पु¥याउने सन्तुलित दृष्टिकोण अघि सार्नु एक सकारात्मक कदम हो । कच्चा ऊर्जा बेच्नुभन्दा देशभित्रै सिमेन्ट, छड, रासायनिक मल कारखाना र घरेलु उद्योगहरू सञ्चालन गर्न बिजुली प्रयोग गरियो भने यसले हजारौं रोजगारी सिर्जना गर्नुका साथै निर्यातयोग्य वस्तुको उत्पादनमा वृद्धि गर्छ ।
निष्कर्ष
छिमेकी बजारमा ऊर्जा बेचेर विदेशी मुद्रा आर्जन गर्नु र क्षेत्रीय बजारमा जोडिनु नेपालका लागि स्वागतयोग्य कदम हो । तर, बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पाठ सिकेर जलविद्युत् संरचनाहरूलाई जलवायु(अनुकूल, थप लचिलो र सुरक्षित बनाउनु अब अनिवार्य भइसकेको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि नदी क्षेत्रको सूक्ष्म अध्ययन र पूर्वसूचना प्रणालीको विकास गर्नु उत्तिकै आवश्यक छ ।
जबसम्म हामीसँग भएका आन्तरिक प्रसारण लाइन र वितरण प्रणालीहरू भरपर्दो बन्दैनन्, तबसम्म जतिसुकै ठूला कागजी लक्ष्यहरू तय गरे पनि नागरिकले त्यसको सही लाभ पाउने छैनन् । त्यसैले, खोलाको पानी बगेर वा बाढीले बगाएर खेर जान नदिई त्यसको वास्तविक स्वामित्व, बलियो सुरक्षा प्रबन्ध र प्रशस्त आन्तरिक उपयोग गर्न सकिएमा मात्र ‘बिजुलीले नेपाल बदल्ने’ सपनाले वास्तविक रूप लिन सक्नेछ । बिजुली केवल बेच्ने वस्तु मात्र नभई नेपालको समग्र अर्थतन्त्र र जीवस्तर बदल्ने प्रमुख उत्प्रेरक बन्नुपर्छ ।

Author

You may also like