बडादशैपछिको पवित्र र ठूलो पर्व हो तिहार । नेपाली सांस्कृतिक पर्वका रुपमा यसलाई लिइन्छ । हामीले पर्वलाई उत्सवका रुपमा लिने गरेका छौं । संस्कार, संस्कृति, रितिस्थिति र खास गरेर सस्कृति बचाउने उद्देश्य नै यस्ता पर्वको महत्व हुने गरेको छ । पर्वको उद्देश्य र लक्ष्य आ–आफ्नै हुन्छन । सबैको साझा पर्वका रुपमा लिईन तिहार अर्थात दीपावलीको सुरु भईसकेको छ । हिजो बुधबार धनवन्तरीसहित कागलाई मिठो खान दिएर कागतिहार मनाउँदै दीपावली भित्र्याईसकेका छौं । लक्ष्मीपूजा र गाईपूजा औँसीमा हुने गर्दथ्यो । तिथीमितीमा आएको घटबढले गर्दा कात्तिक १६ गते हुनुपर्ने औंसी कात्तिक १५ आज पर्न गएको छ । तसर्थ आज कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन (कात्तिक १५) आज पर्न गएको छ । त्यसपछि क्रमशः गोरु तिहार÷गोबद्र्धन पूजा तथा भाइटीका आउने छन् ।
यमपञ्चक भनी पाँच दिनसम्म मनाइने तिहारले हरेक दिनको आआफ्नै महत्व राख्दछ । ती हरेक दिनमा हाम्रा समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरू त्तत् फल प्राप्त होओस् भनी कामना गर्दछौँ । अरू चाडबाडको तुलनामा तिहार विवादरहित चाड हो । यस पर्वमा नेपालका हरेक समुदाय उत्तिकै सक्रियतापूर्वक सहभागी हुन्छन् । बहुजनसहभागितामा सम्पन्न हुने यो चाडमा सूचना र समाचारभन्दा बढी चाडपर्वमा जनसहभागिताले अर्थ राख्दछ । चाड भनेको खुसी साट्ने क्षण हो । यसमा असंलग्नतालाई हामी कल्पना पनि गर्दैनौँ । त्यसैले सार्वजनिक बिदासँगै पत्रिकालाई बन्द राखिएको हो । २० कात्तिकदेखि हामी उत्तिकै उत्साहका साथ सहभागी हुनेछौँ ।
पूर्वसन्देशले पूर्वको दमक नगर र झापा जिल्लालाई केन्द्र बनाएर सूचना र समाचार पस्केर पूर्व क्षेत्रमा सेवा गरेको दसकौँ बितिसक्यो । यस क्रममा अनेकौँ हन्डर र ठक्करका बाबजुद यसले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिइरहेको छ । आर्थिक सङ्कट, दक्ष जनशक्तिको अभाव, कोभिड १९ को महामारी जस्ता अनेकौँ अवरोधले पनि पत्रिकाको निरन्तरतालाई रोक्न सकेन । यसलाई अझ प्रभावकारी, परिष्कृत र परिमार्जित गर्दै लैजाने कुरामा हामी हरदम प्रतिबद्ध छौँ । स्वतन्त्र पत्रकारिता, मिसन पत्रकारिता, पार्टी पत्रकारिता, पर्चाकारिता भनी पत्रकारिताका आयामलार्ई तन्काउने र खुम्च्याउने कामहरू भइरहेका छन् । यसमा हामी अहिलेसम्म स्वतन्त्र पत्रकारिताको बाटोमै हिँडिरहेका छौँ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भने चेतनायुक्त समाज निर्माण नभएसम्म स्वतन्त्र पत्रकारितामाथि पनि प्रश्न उठ्न थालेको छ । चेतनायुक्त समाजलाई निष्पक्ष ढङ्गले समाचार पस्किदिए पुग्छ तर समाजलाई नै सचेत बनाउनु पर्ने अवस्थामा राम्रोलाई राम्रो भन्न सिकाउन मिसन पत्रकारिता पनि आजको आवश्यकता हो कि ? हामी सबै पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा यसतर्फ ध्यानाकर्षण गराउँदछौँ ।
तिहार यसै पनि विवादरहित चाड हो । नेपालभर यस चाडलाई उत्तिकै सहभागितामा हर्षोल्लासपूर्वक मनाइन्छ । २०८१ सालको तिहारले सचेत पत्रकारिता, सचेत पाठक, सचेत विज्ञापनदातायुक्त सहभागिता र समतामूलक समाज निर्माणमा प्रेरणा देओस् भनी सबैमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।