विमल लामिछाने
दमक/ पूर्वी पहाडसँग तराईलाई जोड्ने ब्यापारिक करिडोर भनिएको बहुप्रतिक्षित मार्गले पूर्णता नपाउँदा पूर्वी पहाडका यात्रु वर्षौदेखि सास्ती खेप्न बाद्य छन् ।
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी–पञ्चमी जोड्ने सडक निर्माण सुरु भएको ३४ वर्षमा साढे ५ किलोमिटर मात्र कालोपत्रे भएको छ ।
झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच मार्गको रूपमा विस २०४९ मा निर्माण थालिएको सडक निर्माणले पूर्णता नपाउँदा स्थानीयले वर्षौँदेखि सास्ती खेप्नुपरेको छ । झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर ट्रयाक खोलिएकोमा अहिलेसम्म साढे ५ किलो मिटर मात्र कालोपत्र छ ।
जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्म साढे ६ दशमलव २९ किलोमिटर कालोपत्रे सम्झौता भएको आठ वर्ष पुग्यो । आठ वर्षमा साढे ५ दशमलव २९ किलोमिटर मात्र कालोपत्रे भएको छ । एक किलोमिटर अधुरै छ । सो सडक खण्ड कालोपत्रेका लागि विस २०७५ साल साउन २९ गते ३० महिनामा सक्नेगरी महालक्ष्मी–किरातेश्वर जेभीले ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले चौथो पटक म्याद थप गर्दापनि काम सम्पन्न गरेन । अन्तिम पटक थपिएको म्याद विस २०८० साल असार मसान्तमा सकियो । २२ करोड ५९ लाख ६४ हजारमा कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । हाल ठेकेदार कम्पनी महालक्ष्मी–किरातेश्वर जेभीलेले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका डिभिजन प्रमुख इन्जिनयर श्यामकुमार यादवले बताए ।
सो सडकको दोस्रो र तेस्रो खण्डको काम भने साढे दुई वर्षदेखि ठप्प छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर सडक चौडा गर्ने र कालोपत्रे गर्ने ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो ।
दुवै खण्ड सडक तीन वर्षमा कालोपत्रे सम्पन्न गर्नेगरी विस २०७६ फागुन २ गते ठेक्का सम्झौता भएको थियो । दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको थियो । दुवै खण्डको म्याद विस २०७९ फागुन २ गते सकिएपनि काम सम्पन्न नभएपछि २०८० पुस मसान्तसम्म म्याद थपियो । तर, थपिएको समयमा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत मात्र काम गरेर ठेकेदार कम्पनी काम छाडेर हिँड्यो । त्यसपछि सबै काम ठप्प भएको दमक– रवि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले बताए ।
ठेकेदार कम्पनीले काम छाडेर हिँडेपछि विस २०८० चैत १३ गते सरकारले लुम्बिनी–गणपति जेभीसँग ठेक्का सम्झौता रद्ध गरी बैंक ग्यारेन्टी जफत ग¥यो । त्यसविरुद्ध विपक्षी कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले रिट खारेज गरिदियो । यसअघि कम्पनीले जिल्ला अदालत झापामा करार सम्झौताको यथावत परिपालना गराइपाउँ भनी अर्को मुद्दा दायर गरेको थियो ।
सो मुद्दाको सम्बन्धमा जिल्ला अदालत झापाले विस २०८२ पुस २१ गते ‘मध्यस्थताद्वारा विवाद समाधान गराउनु पर्ने’ आदेश दिएको छ । आदेशको कार्यान्वयन हुन बाँकी रहेको सडक डिभिजन प्रमुख इन्जिनियर यादवले बताए ।
सडक मर्मतमा स्थानीय सरकारको चासो
वर्षाको समय होस् या हिउँदे वर्षामा समेत पहिरो र बाटो आसपासका रुख ढलेर सडक छेकिने समस्या यहाँको निको नहुने घाउजस्तै भएको छ । वर्षेनी स्थानीय सरकारको पहलमा पहिरो पन्छाउने र बाटो खुलाउने काम भएपनि यो दिगो समाधान होइन ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले झापाको दमक क्षेत्रबाट आफ्नो पालिका आउने सडक दमक–चिसोपानी नै भएकाले मर्मतमा साझेदारी गरिएको बताए ।
स्थानीय सरकारको पहलमा झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी–पञ्चमी जोड्ने सडक अन्तर्गत बढीबाट समस्याग्रस्त माङसेबुङ–३ देखि ६ माङमालुङ बजारसम्म मर्मत सम्भार गरिएको छ ।
इलामको माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले आफ्ना नागरिकलाई आवतजातवमा सहजता होस् भनी संयुक्त लगानीमा सडक मर्मत गर्दै आएका छन् ।
चालु आर्थिक वर्ष २०८३–०८४ को बजेटबाट माङसेबुङको १५ लाख, फाकफोकथुमको सात लाख र मिक्लाजुङको आठ लाखको साझेदारीमा सडक मर्मत गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।
विगतका वर्षमा माङसेबुङ गाउँपालिकाले एकल लगानीमा सडक मर्मत गरिँदै आएकामा यस वर्ष भने तीनवटै पालिकाको समन्वयमा गरिएको उक्त कार्यले आफ्नो पालिकालाई आर्थिक व्ययभार कम परेको उनले बताए ।
यसैगरी मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमले वर्षाका कारण क्षतिग्रस्त सडक तीनवटै पालिकाको समन्वयमा मर्मतसम्भार गरी नियमित रूपमा सञ्चालन योग्य बनाइएको बताउँछन् ।
दुई वर्षपछि नयाँ आह्वान
दमक–चिसोपानी सडकको ३३ किलोमिटरमध्ये २६ किलोमिटर सडक कालोपत्रे गर्न सरकारले गत असार ५ गते पुनः नयाँ ठेक्का आह्वान गरेको छ । ठेक्काको आर्थिक प्रस्ताव मुल्यांकनको प्रक्रिया छ ।
चालु आव ०८३÷८४ बाटै कार्यान्वयन हुने गरी ठेक्का आह्वान गरिएको हो । त्यसका लागि १९ वटा निर्माण कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेकामध्ये मुल्यांकनमा १८ वटा कम्पनी सफल भएका छन् ।
अहिले आर्थिक प्रस्तावको मुल्यांकन प्रक्रियामा रहेको सडक डिभिजन दमकका प्रमुख श्यामकुमार यादवले बताए । सो सडक कालोपत्रेका लागि संघीय सरकारले एक अर्ब ६४ करोडको स्रोत सहमति दिएको छ ।

Author

You may also like