सीता राई (नाना)
हुन त लेखक भनेकै अनुशासित पाठक हुन् । आफ्ना विचारलाई केलाएर, मन्थन गरेर, सिलसिला मिलाएर पाठकसामु पस्कनु गहन अध्ययन र लेखन अभ्यासबाट मात्र सम्भव हुन्छ । डा. व्यञ्जना शर्माको ‘फुटपाथमा भेटिएका जिब्रान’ (निबन्ध संग्रह) २०८३ पढ्दै जाँदा म यस निष्कर्षमा पुगेकी हुँ । संग्रहका हरेक निबन्ध पढ्दै जाँदा विभिन्न पुस्तकका सन्दर्भ र उदाहरण उल्लेख गरेर पाठकलाई थप ज्ञान प्रदान गर्ने उहाँको शैली खुब मन प¥यो । यसले निबन्धलाई केवल व्यक्तिगत अनुभवमा सीमित नराखी अध्ययन र अनुसन्धानसँग जोडेको छ ।
जीवनका गहकिला अनुभव, नेपाली एवम् विदेशी परिवेशलाई केलाएर सोही ठाउँको सुगन्ध आउने गरी विषय पस्कनु लेखकको अर्को खुबी हो । उहाँले समस्या मात्र देखाउनु भएको छैन, सम्बन्धित पक्षलाई झकझकाउनुका साथै प्रश्न पनि गर्नुभएको छ । सरल भाषा, छोटो प्रस्तुति र मिठास उहाँका रचनाका विशेषता हुन् ।
‘घरको फ्लेबर’ शीर्षकको पहिलो निबन्धमा आफ्नोपन, आत्मीयता एवम् सन्तुष्टि बजारु वस्तुमा होइन, आफूसँग जे(जस्तो छ त्यसैसँग प्रियजनको सामीप्य र याद गाँसिएका हुन्छन् भन्ने प्रसङ्ग छ । अमेरिकाजस्तो सुविधासम्पन्न ठाउँबाट आउन लागेको परिवारको सदस्यलाई ‘प्वाल परेको झुल र डोरीले मुख बाँधेको सिरानी त दिनु भएन नि’ भनेर सोध्दा श्रीमान्ले ‘घरको फ्लेबर भनेको यस्तै हो, सबथोक अपटुडेट त होटलमा मात्र हुन्छ’ भनेको प्रसङ्गले लेखकलाई आफ्नो माइतीघर धनकुटाका यादमा पु¥याउँछ । बुवाको अनुशासन, आमाले पकाएको आलुको कवाफ र घरको आत्मीयता उहाँका लागि वास्तविक ‘फ्लेबर’ बनेका छन् ।
कोरोना कहरका बेला माटोसँग गहिरो लगाव भएको कृषक पटेलको दैनिकीलाई ‘पटेलको राजनीति’ मा उल्लेख गरिएको छ । अर्काको जमिन भाडामा लिएर तरकारी खेती गर्ने पटेलका बाउबाजेले उनलाई खेती सिकाएजस्तै लेखकका बाउबाजेले अक्षरको खेती गर्न सिकाएको प्रसङ्ग निकै अर्थपूर्ण छ । यसले श्रम र लेखन दुवै पुस्तान्तरण हुने ज्ञानका रूप हुन् भन्ने देखाउँछ ।
डा. शर्माले स्नातकोत्तर एवम् विद्यावारिधि अष्टूेलियाको मोनाश युनिभर्सिटीबाट गर्नुभएको हो । एक दशकभन्दा बढीको अष्टूेलिया बसाइमा देखे(भोगेका परिवेश र नेपाली संस्कृतिसँगको भिन्नतालाई उहाँले कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । ‘रुमानी रागको आयु’ यस संग्रहको रोचक र मननयोग्य निबन्ध हो । चालीस वर्षको वैवाहिक सम्बन्धपछि प्रेमको राग हराएको प्रसङ्गबाट सुरु भएको चर्चा पश्चिमी र नेपाली समाजमा प्रेम र सम्बन्धलाई हेर्ने दृष्टिकोणबीचको भिन्नतासम्म पुग्छ । पश्चिमी समाजमा व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्णयलाई महत्त्व दिइने भए पनि नेपाली समाजमा विवाहलाई जीवनभरको बन्धनका रूपमा हेर्ने प्रवृत्ति अझ बलियो छ । यसले सम्बन्धमा समझदारी, स्वतन्त्रता र आत्मसम्मानको विषयमा पाठकलाई सोच्न बाध्य बनाउँछ ।
शीर्ष निबन्ध ‘फुटपाथमा भेटिएका जिब्रान’ मा पुराना किताबको महिमा प्रस्तुत गरिएको छ । पुराना पुस्तक सस्ता मात्र हुँदैनन्, अघिल्लो पाठकका मनोदशा र सम्झनासमेत कतै(कतै भेटिने भएकाले थप रोचक हुन्छन् भन्ने लेखकको धारणा मन छुने खालको छ । सेकेन्ड ह्यान्ड पुस्तक पढ्ने आफू मात्र नभई विश्वप्रसिद्ध लेखिका भर्जिनिया उल्फसमेत रहेको प्रसङ्गले पुस्तकप्रतिको प्रेमलाई थप रोचक बनाएको छ । सुरुवाती केही पृष्ठले मन नतान्ने पुस्तक पुनः पढ्ने सम्भावना नरहेको लेखकको भनाइले लेखकहरूलाई पठनीय कृति सिर्जना गर्नुपर्ने जिम्मेवारीसमेत सम्झाउँछ ।
‘सही हो हजुर, सही हो’ निबन्धमा आत्मजागरणले मानिसलाई शान्त, धैर्य र निःशब्द रहन सिकाउने कुरा रोचक प्रसङ्गमार्फत प्रस्तुत गरिएको छ । भीडले मानिसलाई क्षणमै उचाल्न र पछार्न सक्छ भन्ने सन्देश आजको सामाजिक परिवेशमा झनै सान्दर्भिक लाग्छ । त्यस्तै ‘मन टाढा भाग्छ’ मा रिस र क्रोधका बेला मन मानिसबाटै टाढा जाने भएकाले चिच्याएर बोले पनि कुरा नसुनिने, तर मन नजिक हुँदा आँखाको इशारा नै पर्याप्त हुने गुरुवाणी मननयोग्य छ ।
मातृभाषा हाम्रो अस्तित्व र पहिचान हो । ‘सपनाको भाषा’ मा सपनासँग मातृभाषा र बाल्यकालका स्मृतिको सम्बन्धलाई मनोवैज्ञानिक कोणबाट प्रस्तुत गरिएको छ । बिरामी पर्दा वा अचेत अवस्थामा समेत मानिसले मातृभाषामै बोल्ने प्रसङ्ग र फ्रायडको सपनासम्बन्धी अवधारणालाई जोड्दै लेखकले विषयलाई अध्ययनशील बनाउनु भएको छ ।
‘म काबुलीवाला’ मा गतिशील जीवन र परिवेशको रोचक चित्रण छ । हिजो हामी जे थियौँ, आज त्यो हुँदैनौँ र आज जे छौँ, भोलि त्यो रहँदैनौँ भन्ने जीवनको परिवर्तनशील यथार्थ यस निबन्धमा भेटिन्छ ।
‘तिमीहरू नामर्द रहेछौ’ निबन्ध आधुनिक अभिभावकका लागि विशेष सन्देश बोकेको छ । छोराछोरीलाई माया गर्ने नाममा उनीहरूका सबै काम आफैँ गरिदिँदा आत्मनिर्भरता विकास हुन नसक्ने लेखकको चिन्ता जायज छ । घर छोडेर एक्लै बाँच्न सिक्नु र आफ्नो काम आफैँ गर्न सक्नु नै वास्तविक स्वावलम्बन हो । ‘भक्कावालीको पक्का गफ’ ले पनि शिक्षा र सीपमार्फत नारीलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने विषय उठाएको छ । आर्थिक आत्मनिर्भरता नै आत्मविश्वास र आत्मनिर्णयको आधार बन्न सक्छ ।
‘सेती गर्भिणी छे’ निबन्धमा लेखकको जनावरप्रतिको करुणा देखिन्छ । गर्भवती सडक कुकुर सेतीको कष्टपूर्ण जीवनमार्फत पशुप्रतिको संवेदना र अधिकारको प्रश्न उठाइएको छ । मानिस र जनावरबीचको पुरानो सम्बन्धलाई सम्झाउँदै लेखकले मानवीयता मानिसप्रति मात्र सीमित हुनु हुँदैन भन्ने सन्देश दिनुभएको छ ।
समय र परिवेश बदलिँदा पुराना चलन र वस्तुहरू पनि हराउँदै जान्छन् । ‘अँठियाको अवसान’ मा तोलुङ्ग, ठेकी, हर्पे, ढिकी, जाँतो, करुवा, फाली, हलो, जोतारोजस्ता वस्तुहरू हराउँदै गएको प्रसङ्गमार्फत बदलिँदो जीवनशैलीलाई प्रस्तुत गरिएको छ । अबको पुस्ताले यी वस्तु देख्नसमेत नपाउने अवस्था आउन सक्छ । ‘छमछम पुतली’ मा पनि परिस्थिति, कर्तव्य र आवश्यकताले मानिसलाई नचाइरहने यथार्थ औँल्याउँदै विवेक र धैर्यपूर्वक जीवन जिउनुपर्ने सन्देश दिइएको छ ।
‘संसार एक असार’ मा खुसीको खोजीमा भौँतारिरहेको मानिसको मनोविज्ञानलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । जीवनमा भेटिने हरेक व्यक्ति र घटनाले हामीमा कुनै न कुनै प्रभाव पार्छ भन्ने लेखकको अनुभूति यहाँ देखिन्छ ।
‘फुटपाथमा भेटिएका जिब्रान’ मा ३१ वटा ओजिला र समसामयिक निबन्ध छन् । सत्य, आत्मजागरण, देशप्रेम, सामाजिक संवेदना, नारीका सवाल, बदलिँदो जीवनशैली र पुराना संस्कृतिप्रतिको संवेदनाजस्ता विविध विषय संग्रहमा समेटिएका छन् । विशेषतः साना देखिने विषयभित्र लुकेका गम्भीर अर्थलाई सरल भाषामा प्रस्तुत गर्नु लेखकको सफलता हो ।
समयको गतिशीलता अकाट्य सत्य हो । समयसँगै हाम्रो जीवनशैली, सोच र प्राथमिकता बदलिन्छन् । परिवर्तनलाई बुझ्न र आफूलाई समयसापेक्ष बनाउन अध्ययन आवश्यक हुन्छ । अध्ययनले हेराइ मात्र होइन, दृष्टिकोण बदलिदिन्छ । त्यसैले केही न केही पढ्ने, सिक्ने र आफूलाई थोरै भए पनि रूपान्तरित गर्ने बानी बसालौँ । ‘फुटपाथमा भेटिएका जिब्रान’ पढेपछि पाठकलाई अन्ततः यही अनुभूति हुन्छ–असल अध्ययनले आँखालाई मात्र होइन, जीवनलाई हेर्ने दृष्टिलाई नै फराकिलो बनाउँछ ।
दमक–१, झापा