देश–समाज विचार/वहस स्थानीय

भोटेकोशीमा बाढीको रौरव नृत्य र राज्यको प्रशंस्य तदारुकता

;— नकुल काजी–:
दलीय लोकतान्त्रिक प्रणालीद्वारा राज्य–व्यवस्था चलेका मुलुकहरूमा विधिसम्मत सरकारको बागडोर जिम्मा लिने दलमा सन्निहित ’लोकतान्त्रिक चरित्र’–को अन्तर्य अज्माउने समय भनेकै देशमाथि आइलाग्ने दैवी संकट किंवा प्राकृतिक प्रकोपको बेला हुने हुन्छ । त्यस्ता संकटका बेला देशको जिम्मेवारीमा बहाल ’सरकार’–को निर्देशक अंगमा लोकमतले स्थापित भएकाहरू देश र देशवासीका प्रति कति सम्वेदनशील, कति जवाफदेही र नैतिक कत्र्तव्यका प्रति आत्मनिवेदित भई प्रस्तुत हुन्छन् वा हुनसक्छन् भन्ने नै उनीहरूमा निहीत लोकप्रेमी चरित्रको मापक मानिन्छ । र, त्यसैलाई उनीहरूको असली अन्तर्यको परिचायक भनेर मूल्यांकन गरिने गरिन्छ । अतः गत १० गते रसुवाको भोटेकोशीमा अचानक आएको बाढीको अपूर्व कल्पनातीत भयावह विपद्को घटनामा, पाँचै महिना अघिदेखि मात्र व्यावहारिक अनुभवरत आला–काँचा वय वर्गका युवाहरूले सम्हालेको, सरकारले देखाएको विधिसम्मत तदारुकता र सक्रियताले, विगत ३६ वर्षको अवधिका अनेक यस्ता ठूला र दुष्प्रभावी घटनाहरूका सन्दर्भमा समेत, लोकतान्त्रिक अभ्यासको श्रेष्ठतामा प्रतिष्ठापित गरेको त छ नै। यसबाहेक, देशमाथि प्राचीन र मध्ययुगीन ’कबिला’ ढबको शासन लाद्ने अलोकतान्त्रिक चारित्रिक पुराना–पाका, विगत ३५ वर्षे राजनीतिक (?) स्वार्थी र कमाउधन्धे, नेगियार–मुखियाहरू र तिनका पाउभक्त भारदार–ढोकेबैठकेहरूले अब बुझ्नुपर्ने अर्काे पनि कुरा बाँकी छ । अर्थात्, जुन मुखले उनीहरूले यो भर्खर बामे सरिरहेको पाँच महिने सरकार र यसको संरचनालाई निमठ्ने पाषाण लक्ष्यमा ’लोकतान्त्रिक–गणतान्त्रिक प्रणालीको विनाशक’ भने झैं चित्रित गर्दैथे त्यही मुखमा यो घटनामा सरकारको लोकतन्त्र अनुकूल विक्रान्त प्रस्तुतिले ’मूला’ कोचिदिएको नेपाली लोक–दुनियाँको बुझाइ बन्न गएको छ । तर, त्यो पक्षका अहंकारीहरूबाट, राजनीतिको निम्ति, यस्तो अवस्था प्रत्युत्पादक ठहर्छ–ठहर्दैन भनेर बुझ्ने विवेक कसरी वर्तिन्छ भन्ने भने यसपछिको रमिताको विषय त अवश्यै बन्न गएको छ ।
’जेन–जेड’ वयसका युवाहरूको विद्रोहले सातो उडेका, ’कबिला’–पन्थी, विशेषतः, तीन दल नामे पाउभक्त भारदार र आशेपासे कराँसे तथा ढोके–बैठकेहरूको ’गिरोह’ अहिले आ–आफ्नै दलीय शिविरभित्रको अन्तरध्वंशी स्वरूपको कचेडाको सामना दुःसाध्य भएकाले एकातिर विरक्त छन् भने अर्कातिर आफ्नो कबिले खाइन–पाइन खोसिएको विरक्तिले पनि छटपटाएका छन् र त्यसको पुनप्र्राप्तिको झिँगे दाउको लाज–पचाउनीमा समेत अनुरक्त छन् । यस्तो स्थितिमा मान्छेको विवेक चटारिनु–बटारिनु पनि अस्वाभाविक हुँदेन । तर, ’अरूलाई पर्दा वेदान्त र आफूफाई पर्दा प्राणान्त’ उक्ति जस्तो स्थितिमा ती तीन दलका मुखियाहरूको बेकामे ताउर–माउर बढो टिठलाग्दो बन्दै गएको देख्नुपर्दा सचेत कित्ताका लोक भने सिक्सिकाउन र दिग्मिगाउन थोलेका छन् । त्यसमाथि सत्ताशक्ति र धनको तुजुक बाहेक पवित्र लोकमतले स्थापित अहिलेको सरकारले लोकतन्त्रको सिद्धान्तमा नचुकी लोक–दुनियाँको अभिभावक भएको उदाहरणीय अभ्यासबाट लोकमा अपेक्षित अनुभूति हलक्क जाग्रत हुनु पनि पुराना–पाकाका लागि अर्काे अदम्य भाउँटो जस्तो भएर खोपडीमा बिझिरहेको होला ।
यो नितान्त ताजा विषयको चर्चा गरिरहँदा परारको भल–पैह्रोको घटना स्मरणमा लहरिएर आउँछ । त्यसबेला राजधानी महानगर काठमाडौका खोला–पैनी भरिएर सडकहरू पनि छत्ताछुल्ल जलाम्मे भएका थिए । त्यसबेला प्रधानमन्त्री खड्गप्रसाद ओली अमेरिका पुगेका थिए । गृहमन्त्रीमा रमेश लेखक थिए । त्यस घटनामा देशका अन्य जिल्ला र गाउँ क्षेत्रको रोदन–क्रन्दनको के अवस्था थियो होला, जब काठमाडौंकै एउटा सुकुमवासी परिवार आफनो छाप्रे घरको छानोमा चढेर जीवन बचाइदिने उद्धारका लागि दिनभर चिच्याएर पनि निरुपाय भई बढ्दै गइरहेको बाढीले साँझपख घरैसँग बगाएको थियो । यस घटनामा गृहमन्त्री लेखकको छोटो स्पष्टीकरण थियो – ’भिजिब्लिटी कम भएकाले हेलिकप्टर जान सकेन होला नि !’ (अर्थात्, देख्नसकिने थिएन होला र हेलिकप्टर जान सकेन होला नि !) । हेरौं लोकका प्रति उत्तरदायी हुनपर्ने सरकारका जिम्मेवारको संक्षिप्त जवाफ ! ’यो कुकुर कसरी मरेछ ?’ भन्ने प्रश्नको ’सास गएपछि मर्दैन त ?’ भन्ने ठाढो जवाफ जस्तो ! अर्कातिर भारी वर्षा र भलले राजधानी शहरलाई तहसनहस पारेको खबर सुनेपछि प्रधानमन्त्री केपीले अमेरिकाबाट ’म आजै आउँदैछु’ भने भन्ने ’काठमाडौंका बाह्र भाइ’–ले धुमधमान प्रचार–प्रसार गराएका थिए । तर, उसै दिन हिंडे भनिएका ओलीले कता–कताको रंगोली भ्याएर तीन दिनपछिको बेलुका मात्र काठमाडौं आइपुग्न भ्याएका थिए ! अर्थात्, हालको सरकारलाई ‘जनताप्रति अनुत्तरदायी’ भएकाले लोकतन्त्र–गणतन्त्र मास्न उद्यत देख्नेहरू आफू ‘राज्य’–को एकाधिपत्य अधिनायक बनेका बेला के–कसो गर्थे भन्ने अनगिन्तीमध्ये यो एउटा उदाहरण हो । यो कुरालाई भोटेकोशी घटनामा वर्तमान सरकारले देखाएको आभ्याषिक तदारुकताको सन्दर्भलाई उनीहरू कसरी सम्झन्छन् कुन्नि ! हुन त आफ्ना के–के पो सम्झिउन् उनीहरू – थोरै भए पो बाचाल वकवेदान्तीले मथेर वर्णन गर्न साध्य होला त !
’राजनीति’–लाई व्यावसायिक उपलब्धि मानेर खुट्टो टेक्नेहरूको शुरू उद्देश्य नै लोभ, लाभ, प्राप्ति, उदरपूर्ति, ढाँटढुँट, छलकपट आदिबाट घेरिएको भएपछि त्यो ब्यहोराको विकासले नैतिकता, मानविकी दायराका विषयहरूको सम्मान कसरी होस् ? अझ संवैधानिक मूल्य–मान्यता, कत्र्तव्य, जवाफदेहिता, उत्तरदायित्व आदि झन नजिक हुने कुरै भएन ! त्यस्ता बूढा–पुरानाका लयमा रत्तिएकाहरूको गिरोहका भागिदारहरूले जन–ताहना र जन–सरोकारका उम्दा विषयहरू चिन्नै पो कसरी सक्छन् र तिनका छेउमा लोक–दुनियाँसँग सम्पृक्त क्रियाकलाप चाहिँ ’लोकतन्त्रको जीवन्त अस्मिता हो भनिरहनु ’भालूलाई पुराण सुनाउनु’ जस्तै न हो । अथवा यस किसिमको दशारूपी अडभङ्गे परिस्थितिबाट गुज्रिँदै आएको साढे तीन दशक अवधि भोगाइले यो समय–सालमा बल्ल त सान्दर्भिक परिवर्तन अनुभव गर्न पाएको छ । र, यो परिवर्तनले राज्यको इमानी संगत पाउन थालेको छ । यस्तो बेलामा कसैको विलोम गतिविधि र खलनायकीय फलाको सुनेर अल्मलिनु वा मतिभ्रमित भई पछि लाग्नु चाहिँ बरू ’लोकतन्त्र’–का प्रति अपराध हो भन्ने बुझ्नु पर्दछ । अन्यथा, फेरि उहीँ युवा विद्रोह अघिको समयको चिहानतिर लैजाने निश्चित छ । किनभने, पुराना–पाकाहरूको अहिलेको पश्चगमन लक्षित गतिविधि र वक्रोक्तिमय बखेडावाजी तमाशा त्यसभन्दा अर्काे के नै पो हो र ? थप अरू पनि सक्कलै वा प्रतिकृति जे भेटिन्छ नढाँटी–नछली भनिन्छ नै । त्यसैले, आजलाई यति नै ।….

Author

You may also like