भारतले १५ अगस्त सन् २०२६ का दिनलाई भारतको ८० औँ स्वतन्त्रता दिवसको रूपमा मनाइरहेको छ । भारतले आफ्नो स्वतन्त्रता दिवस मनाइरहेकै सेरोफेरोमा १४ अगस्तका दिनलाई भारत विभाजन विभिषिका दिवसको रूपमा मनाइरहेको सन्दर्भ र त्यससँग जोडिएका घटनाक्रमहरूले यस क्षेत्रमै व्यापक पार्दै लगेको मनो सामाजिक आघात र दुष्प्रभावहरूको बारेमा स्मरण गर्ने दिनको रूपमा पनि मनाउने गरिएको छ ।
ब्रिटिस भारतलाई अङ्ग्रेजहरूले छोडेर जाँदा भारतलाई दुई टुक्रा बनाएर भारत र पाकिस्तान नाम गरेको देश मात्रै बनाएनन् । यसले भारतको हिन्दू मुस्लिम समुदाय बीच पनि ठूलो खाडल अविश्वास र शत्रुताको बीजारोपण गरेर यस भारतीय उपमहाद्वीप क्षेत्रलाई नै धार्मिक सामाजिक र जातीय द्वन्द्व ,उत्पीडन र संघर्षको युद्ध मैदानको रूपमा परिणत गर्ने अवसर प्रदान गर्यो ।
धार्मिक आधारमा पाकिस्तान मुस्लिम देशको रूपमा रूपान्तरण हुँदै गयो भने भारतले धार्मिक मामिलामा तटस्थताको नीति अंगकार गर्ने गरी भारतको धर्मनिरपेक्ष सामाजिक संरचनालाई बलियो बनाउने गरी संस्थाहरूको निर्माण गर्न थाले । भारत विभाजनपछि पनि भारतभरि नै कैयौँ पटक सनातन हिन्दु धर्मावलम्बी र इस्लामिक कट्टरवादी समूहहरूबीच हिंसात्मक झडपहरू तथा दंगा फसादहरू समेत व्यहोर्दै भारत आजको वर्तमान अवस्थामा आइपुगेको छ । भारत स्वतन्त्र भएको ८० वर्ष बितिसक्दा पनि भारतमा धार्मिक र नस्लीय विवादहरू प्रायजसो भइरहन्छ र जनतालाई आफ्ना नागरिक अधिकार तथा मानव अधिकारहरू पनि प्रयोग गर्न सकस पर्ने गर्दछ । भारतका तत्कालीन ब्रिटिस गवर्नर जनरल लर्ड माउन्ट बेटनका अगाडि मुस्लिम लिगका संस्थापक नेता मोहम्मद अलि जिन्नाले धार्मिक आधारमा पेश गरेको भारत विभाजनको फर्मुलालाई महात्मा गान्धीले समेत समर्थन गरेपछि सन् १४ अगस्त सन १९४७ मा स्वतन्त्र देशको रूपमा पाकिस्तान नाम गरेको नयाँ मुलुकको जन्म हुन गएको थियो । भारतका विभिन्न भागहरूमा बसोबास गरिरहेका मुस्लिम धर्मावलम्बीहरू पाकिस्तानतिर पलायन गरेका थिए भने पाकिस्तानी भूभागमा परापूर्व कालदेखि बस्दै आइरहेका हिन्दु शिख र जैन धर्मावलम्बीहरूले पाकिस्तानतिरबाट पलायन गरी भारततिर बसाई सर्नु परेको थियो । तर बसाई सर्नु मात्र भारतीय तथा पाकिस्तानीहरूको एकमात्र समस्या थिएन । एकातिर सम्पूर्ण भारत लगायत पाकिस्तान क्षेत्रमा जनताहरू अङ्ग्रेजहरूको दासता र गुलामीबाट स्वतन्त्रता प्राप्त गरेको उपलक्ष्यमा खुसियाली र आनन्द मनाइरहेका थिए भने अर्कोतिर हजारौं लाखौं हिन्दु बौद्ध तथा सिखहरूको पाकिस्तानी भूभागमा कत्लेआम गरी व्यापक हिंसा र लुटपाट तथा विध्वंस मचाइएको थियो भने भारततिरबाट पनि पाकिस्तान जाने मुस्लिम धर्मावलम्बीहरूले आफ्ना पुख्र्यौली थातथैली छोडेर पाकिस्तानको नयाँ बस्तीतिर बसाई सरेर जाँदा ठूलो हिंसा बेहोर्नु परेको थियो ।
भारत र पाकिस्तानको विभाजन हुँदा बढीमा दुई लाख हिन्दू र मुसलमानहरूको हत्या गरिएको थियो । भारत र पाकिस्तानको विभाजनपछि पनि भारत छोडेर पाकिस्तान जान नचाहने मुस्लिम धर्मावलम्बीहरुलाई भारत सरकारले पुरै अधिकार सहित सुरक्षा र सम्मान प्रदान गर्यो भने पाकिस्तानतिर बसोबास गरिरहेका हिन्दू बौद्ध र शिख समुदायका मानिसहरूले आफ्नो धार्मिक सांस्कृतिक अस्तित्व समेत जोगाउन धौधौ परिरहेको कुरा पनि आजको यथार्थ हो। पाकिस्तानबाट छुट्टिएर सन् १९७१ मा बङ्गलादेश नाम गरेको नयाँ देश को पनि जन्म भइसकेको छ ।
बाङ्गलादेशमा पनि त्यहाँ रहेका अल्पसंख्यक हिन्दू बौद्ध र शिख समुदायहरू माथि प्रायजसो हमलाहरु भइरहन्छ र संकटको बादल मडारि नै रहन्छ । बाङ्गलादेश र पाकिस्तानमा समेत हिन्दुहरूले सम्मानपूर्वक बाँच्ने अवस्था पाउन मुस्किलै पर्ने गर्दछ, भने भारततिर सबै जातजाति धर्म र क्षेत्रका मानिसहरूले समान रूपमा वैधानिक अधिकारहरूको प्राप्ति गरेका छन् तर पनि बेलाबेलामा नस्लिय र धार्मिक चरित्रहरू दंगा फसाद र घृणा फैलाउने राजनैतिक शैलीको रुपमा प्रयोग गर्ने गरिएको छ जसले गर्दा भारतमा पनि हिन्दु र मुस्लिम संस्कृतिबीच टकरावहरू साम्य पार्न सरकारलाई पनि कठिन पर्ने गर्दछ । भारतमा धार्मिक असहिष्णुता कै आधारमा पनि पाकिस्तानतिरबाट प्रेरित आतंकवादी घटनाहरू भारतमा प्रायोजित रुपमा घटाउने गरिन्छ र भारत सरकारलाई यस्ता घटनाहरूलाई निर्मूल पार्न निकै चुनौतीपूर्ण कार्य पनि हुने गरेको देखिन्छ । भारत र पाकिस्तान विभाजनकै सन्दर्भमा कश्मिरको अवस्थालाई पनि लिन सकिन्छ ।
भारत विभाजनताका कश्मिर एउटा स्वतन्त्र र अविभाज्य मुलुकको रुपमा रहेको थियो । तर भारत विभाजन पश्चात पाकिस्तानका इस्लामिक छापामार कबायली समूहहरूले कश्मिरमाथि आक्रमण गरेको थियो र कश्मिरका महाराज हरिसिंहले कश्मिरलाई पाकिस्तानबाट जोगाउन धौधौ परिरहेको अवस्थामा महाराज हरि सिंहले कश्मिरलाई भारतमा विलय गराई भारतसँग कश्मिरको सुरक्षाको लागि सम्झौता गर्नुपरेको थियो ।
कश्मिरको भारतमा बिलयपछि भारतीय सेना र पाकिस्तानी छापामार सेनाबीच ठूलो संघर्ष चर्केको थियो ।संयुक्त राष्ट्र संघको हस्तक्षेप पश्चात दुवै देशका सेनाले युद्धविराम गर्न सहमत भएका थिए । अहिले पनि पाकिस्तानको अधिनमा रहेको कश्मिरी भूभागलाई पाकिस्तान अधिकृत कश्मिर अर्थात् पिओके भनिन्छ भने भारततिर रहेको कश्मिरका बाँकी भूभागलाई जम्मु कश्मिर र लद्दाख भनेर नामाकरण गरिएको छ । तर यथार्थमा भारततिर रहेको जम्मु कश्मिरको भूभागहरूमा इस्लामिक विचारबाट प्रेरित आतंकवादी घटनाहरू प्रायजसो घटि नै रहन्छ । र यसको साथसाथै पाकिस्तान अधिकृत क्षेत्रहरूमा पनि बम बिस्फोट र आतंकवादी घटना हरू घटि नै रहेको पाइन्छ ।
पाकिस्तान अधिकृत कश्मिर क्षेत्रको ठूलो भूभाग पाकिस्तानका सैनिक सरकारले चीन सरकारलाई लिजमा दिएको छ, जसको विरोध स्थानीय जनताहरूले लगातार रुपमा गरिरहेका छन् । पाकिस्तान अधिकृत कश्मिर क्षेत्रमा चीनको उपस्थितिले पनि भारतलाई बेलाबेलामा टाउको दुखाईको कारण बन्ने गरेको छ र यस क्षेत्रमा शान्ति र सुव्यवस्था बहाल गर्ने कार्य निकै कठिन र चुनौतीपूर्ण भइरहेको छ । भारतमा स्थिर सरकार छ र स्थिर लोकतन्त्र छ ।
भारत विश्वको आर्थिक महाशक्ति राष्ट्रको रूपमा उभ्याउन आफूलाई सफल हुँदै गइरहेको छ । भारत एउटा आत्मनिर्भर देशको रूपमा अगाडि बढिरहेको हुनाले अन्तर्राष्ट्रिय स्तरमा ठूलो समर्थन र सम्मान प्राप्त भइरहेको छ भने पाकिस्तान परमाणु शक्ति सम्पन्न राष्ट्र भएर पनि आफ्नो देशको अर्थतन्त्रलाई दिनप्रतिदिन जर्जर र दयनीय बनाउँदै लगिरहेको छ । पाकिस्तानमा न त स्थिर सरकार छ न त स्थिर लोकतन्त्र नै छ ।
पाकिस्तान विश्वमा आतंकवाद निर्यात गर्ने देशको रूपमा कुख्यात भइसकेको छ । विश्वका सर्वाधिक चर्चित आतंकवादी बिन मोहम्मद लादेनलाई अमेरिकी सेनाहरूले पाकिस्तानमै लुकेर बसेको अवस्थामा घर घेरा हाली हत्या गरेको थियो । पाकिस्तानमा एक किसिमबाट अघोषित सैनिक शासन छ । त्यहाँ लोकतन्त्रको मुकुण्डो लगाएर त्यहाँका सेना प्रमुख जेनरल मुनिरले देशको शासनसत्ताको सञ्चालन गरिरहेको छ । चुनावबाट जितेका र सरकारमा हालीमुहाली गरिरहेका मन्त्रीहरू सेनाहरूको हातको कटपुतली सरह भइसकेको छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पाकिस्तानका सैनिक अदालतले दिएको आजीवन कारावासको सजायमा बन्दी जीवन बिताइरहेका छन् । यस्तो अवस्थामा पाकिस्तानभित्र लोकतन्त्र माथि सैनिकतन्त्रको अभ्यास निरन्तर रुपमा चलिरहेको छ भनेर प्रष्ट रुपमा बुझ्न सकिन्छ । बाङ्गलादेशमा पनि भर्खर भर्खर निर्वाचनपछि एउटा निर्वाचित सरकारले काम गर्ने अवसर प्राप्त गरेको छ । तर बांगलादेशमा पनि त्यहाँका सरकारले लोकतन्त्रलाई पूर्णरूपमा बहाल गर्न सक्ने अवस्था देखिँदैन। बङ्गलादेशमा पनि त्यहाँका अल्पसंख्यक हिन्दु बौद्ध र शिख समुदायहरूले ठूलो हिंसा र विध्वंस झेलेर आफ्नो जिउ धन र संस्कृति जोगाउन निरन्तर रुपमा संघर्ष गरिरहेको अवस्था छ ।
बङ्गलादेशले सृजना गरेको रोहिङ्या मुस्लिम शरणार्थीहरूको समस्याले विश्वव्यापी समस्याको रूप धारण गर्दैछ । भारत विभाजन पूर्व नै अहिलेको बांगलादेशको भूभागबाट म्यानमारतिर बसाई सरेका बांगला भाषी मुस्लिमहरूलाई म्यानमारका सैनिक शासकहरुले विदेशी भनेर निकालेपछि तिनीहरुलाई बांगलादेशले पनि आफ्नो नागरिक समेत नमान्दा बंगलादेशी रोहिङ्या मुस्लिम शरणार्थीहरू अहिले भारत नेपाल बङ्गलादेश म्यानमार लगायतका क्षेत्रहरूमा वैश्विक समस्याकै रुपमा देखा पर्न थालेका छन् । यस्ता खाले सबै समस्याहरू भारत विभाजन विभिषिका कै देन हो जसको स्थायी समाधान निकाल्नु जरुरी छ ।