एउटा सार्वजनिक फेसबुक पोस्टमा मैले आफ्नो छोटो सामाजिक (त्यो राजनीतिक थिएन) धारणा राखेको थिएँ । त्यहाँ यति फोहोरी कमेन्टहरू आए नि, सोचेको पनि थिईंन कि मान्छे यति धेरै पागल भइसकेका छन् । मान्छेका भाषा र व्यवहार हेर्छु, ती असाधारण देख्छु । ती ‘नर्मल’ छैनन् ।
यतिबेला समयको मान्छे बहुलाएको छ । अथवा भनौं मान्छेको समय बहुलाएको छ । कुरा एउटै हो ।
सामाजिक सञ्जलामा पोस्ट गरिएका सामग्री र तिनमा राखिएका प्रतिकृया (कमेन्ट) हरू हेर्दा समयका यी दुबैकुरा प्रमाणित हुन्छन् ।
गाली गर्न जान्नेहरू उत्पादन गर्ने समय रहेछ यो । नैतिकतालाई दलको झण्डामुनि बिक्री गर्ने समय रहेछ यो । इमान्दारितालाई पैसाको बिटोमा साटही गर्ने समय रहेछ यो । बफादारीतालाई व्याक्तिगत फाइदा हुने एक कप नै भए पनि चीयामा बिनिमय हुने समय रहेछ यो । समाजले नपचाउने, अश्लील मानेका शब्द र वाक्य प्रयोग गरेर आप्mनो पहिचान समाप्त पार्न उद्दत यो समय अकल्पनीय आयामहरू बोकेर आएको छ ।
नेपाली समाज र संस्कृति यति धेरै बिकृत हुन्छ होला भन्ने लागेको थिएन । यति धेरै पागलपन देख्न पाइएला भन्ने पनि थिएन ।
यही पागलपनको कुरा गर्दा नायजेरियाका लेखक चिनुआ अचेवेको एउटा कथा मनभरी आयो । त्यो कथा ‘म्याडमेन’ (पागल मान्छे) उहिले विद्यार्थी हुँदा पढेको थिएँ । आज पनि काम लाग्यो ।
त्यस कथामा न्यिवे ‘ओग्बु’ गाउँको अत्यन्त सफल, लोकप्रिय, विवेकी र परिश्रमी किसान हो । ऊ उच्च नैतिक चरित्रको व्यक्ति हो र समाजमा प्रतिष्ठित मानिने ओजो समाजको सदस्य बन्ने तयारीमा हुन्छ ऊ । एक बिहानको कुरा हो, ऊ बजारतर्फ जानुअघि आफ्नो खेत नजिकै खोल्साको एकान्त किनारमा स्नान गर्न पुग्छ । बिहानै नुहाउनु उसको नित्य कर्म नै हुन्छ ।
त्यही ऊ नुहाइरहेको बेला, बजारको भीडभाड खोज्दै बाटो(बाटो डुलिरहने मानसिक सन्तुलन खलबलिएको एक व्यक्ति त्यहाँ आइपुग्छ । उसले किनारमा सफासँग पट्याएर राखिएका न्यिबेका लुगा देख्छ । न्यिबेका ती राखेका र न्यिबेले लगाएका लुगाप्रति कौतूहलता र रमाइलो महसुस गर्छ । पूरै आकर्षित हुन्छ । उखरमाउलो हुन्छ । कतिबेला उम्काउँ हुन्छ । प्यासी हुन्छ । अनि उसले बिना अनुमति, बिना अनुरोध न्यिबेको लङ्गोटी र कमिज तानेर लगाउँछ र त्यहाँबाट कुद्दै भाग्छ । आफ्ना लुगा र सम्मान दुवै गुमाएको निर्वस्त्र न्यिबे आफ्ना लुगा फिर्ता लिन त्यो पागलको पछि पछि दौडिन्छ । खेद्ने र भाग्ने ‘भागमभाग’ को दृष्य बन्छ त्यहाँ । त्यो एउटा ठट्टेउलो दृष्य बन्छ । उटपट्यांग जस्तो, प्रहसन जस्तो हाँस उठ्ने दृष्य बन्छ ।
यो पछ्याइ, भागम्भाग एकान्त बारीका डिल र खेतदेखि भीडले खचाखच भरिएको एके बजारसम्म पुग्छ । यति धेरै सम्मानित र शालीन व्यक्तित्वको क्षितिज बनाएको न्यिबे यसरी लाज बिर्षिएर नग्न कुद्नु पर्ने अवस्था पनि त्यो पागल मान्छेले गर्दा आउँछ । उच्च सम्मानित व्यक्तित्व भनेर मानिने न्यिबेलाई नाङ्गै अवस्थामा एक पागल मानिसको पछि दौडिरहेको देखेर गाउँलेहरू स्तब्ध हुन्छन्, आश्चार्यचकित हुन्छन् । क्षणभरमै यो घटना तमासामा परिणत हुन्छ । भीडले वास्तविकता नबुझी उल्टै न्यिबेलाई नै पागल ठहर गर्छ । भीडले ठान्छ, ‘आँखाले देखेको सबै चिज सत्य हुन्छ’ । किनकि न्यिबे पूर्णतः निर्वस्त्र अवस्थामा एउटा सामान्य देखिने मानिसको पछि लागिरहेका हुन्छ । गाउँको यति महान मान्छे कसरी यस्तो रूपमा प्रकट भयो ? सर्वत्र चासो र चिन्ता हुन्छ । र सबैले आँखा चिम्लेर न्यिबेलाई ‘बिकामे’ प्रमाणित गर्न खोज्छन् ।
यस अपमानको भार न्यिबेका लागि असह्य र कठीन सिद्ध हुन्छ । सार्वजनिक रूपमा निर्वस्त्र देखिएको कलंकले उनको प्रतिष्ठा मात्र होइन, उसको मानसिक सन्तुलनसमेत तहसनहस पारिदिन्छ । सामाजिक अपमान, लज्जा र मानसिक आघातले न्यिबे गहिरो निराशा तथा वास्तविक मानसिक अस्थिरताको अवस्थातर्फ धकेलिन्छ । विडम्बना के छ भने, समाजको हतारो र पूर्वाग्रही निर्णयले एक विवेकी, सम्मानित र सज्जन व्यक्तिलाई अन्ततः पागलपनको किनारसम्म पु¥याइदिन्छ । कथा यत्ति हो ।
यस कथामार्फत अचेबेले समाजले मानसिक स्वास्थ्यलाई कसरी मनपरी रूपमा परिभाषित र मूल्यांकन गर्छ भन्ने प्रश्न उठाउँछन् । दुई पात्रको भूमिकालाई उल्ट्याएर उनले पागलपन र विवेकको परम्परागत तथा चिकित्सकीय अवधारणामाथि गम्भीर आलोचना प्रस्तुत गरेका छन् यो कथामा । विवेक र पागलपनको सापेक्षता कथित पागल व्यक्तिको व्यवहार कतिपय अवस्थामा तर्कसंगत देखिन्छ, जबकि आफूलाई विवेकी ठान्ने बहुसङ्ख्यक समाजको हतारो निर्णयले न्यिबेको मानसिक संसार नै भत्काइदिन्छ । यसले विवेक र पागलपन को सीमा सधैँ स्पष्ट र स्थिर हुँदैन भन्ने सन्देश दिएको छ ।
यो कथाले मेरो आजको परिवेश बोलिरहेको छ । संसदमा सांसदहरू बोलेको हेर्दा हाम्रो संसद त्यही न्यिबे बाँचेको ओग्बु समुदाय देखिन्छ । हाम्रा सांसद त्यही ओगबुका मान्छे जस्ता लाग्न थालेका छन् । नेताहरू त्यही ओग्बुका अगुवाहरू जस्तो लाग्न थालेका छन् । दलहरू पनि त्यही ओग्बुका सामाजिक संस्थाहरू जस्ता लाग्न थालेका छन् । अनि केही गर्छु भनेर यो समयमा निस्किएका केही मानिसहरू त्यही ओग्बुका पागल मान्छेहरू बन्नु परिरहेको छ । यो देश ओग्बु भएर बाँचेको धेरै दशक भइसकेको छ, र त्यो ओगबुको नाम बदल्ने हुती कसैको छ जस्तो देखिन छाडेको छ ।
हामीलाई सिर्पm ओग्बुको मूक्ति चाहिएको छ । बाँकी त सबै स्वार्थ हुन् ।
संभव छ र त्यो मूक्ति ?
पत्याइएन ।
किनभने आज मिडिया, सामाजिक सञ्जाल, विमर्श हरेक कार्यक्रमहरूमा सिर्पm रीस छ, आक्रोश छ । क्रोध छ । स्वार्थ छ । बेइमान छ । आपूm राम्रो बनिएर होइन, अर्कालाई नराम्रो भनेर आपूm राम्रो हुन खोज्ने बिरामी मान्छेहरूको दबदबा छ । मिडियादेखि सामाजिक सञ्जानलमा तिनै हाबी छन् ।
हामी तिनलाई ‘जय’ भन्नुभन्दा अरू केही पनि गर्न सक्ने अवस्थामा छैनौं । यो पहिचान फेरिएको समय हो । जे हुन्छ, आश्चार्य नमान्दा हुन्छ ।
– दमक, झापा

Author

You may also like