–: उत्तमप्रसाद भट्टराई :—
संस्कृति मेरो नाम र यस धराधाममा पाइला टेकेको मानिससँगै हो । उनिहरु बढ्दै गए  । अनकन्टार भुगोलमा छरिए। म पनि उनिहरुसँग विविधरूपमा छरिएँ । र यस नेपाल खण्डमा उनिहरुसँग आउने अवसर पाँए । म धन्य भएँ । यहाँको भौगोलिक ढाँचा अद्भुत छ । वातावरणीय संरचना उत्कृष्ट छ । भुगोल सानो छ, तर जैविक विविधता भरिपूर्ण छन्  । यस्तो भौगोलिक र जैविक विविधता संसारमा कतै पनि छैन । अतः यहाँ आउने अवसर मिलेकोमा म धन्य छु । गौरवान्वित छु । यहाँका मानिसका धर्म फरक छन्  । भाषा फरक छन् । संस्कृति फरक छन । अतः म पनि हामी हुने अवसर पाएँ । हामीमा सुन्दर संस्कार छन् ।
जातजाती अनुसार हामी संस्कृतिमा पनि फरक छौं । हामी पँधेराबाट विकसित भएका हौं । झरनाको पानी गाग्रीमा खस्दा अनौठो स्वर निस्कियो  । गाग्री भरिँदै जाँदा ध्वनी बदलिँदै गयो । गाग्री बोक्ने आमाको अनुहार उज्यालो भयो, हृदयमा उमङ्गको नयाँ सन्देश आयो । त्यहाँ गुनगुनावट भयो, त्यहाँबाट गित बने, भाका बने, श्लोक बने । ती श्लोकमा संगीत थपियो । बाली भित्र्याउन खमार निर्माण भए । घरदेखी टाढा एउटा भुगोलका थिएँ, म । त्यसैले एकान्तता कटाउन गितका भाका बने, विवाहको चलन आयो  । रातको समय कटाउन गित गाउन थालिए, बेउलाको घरमा, त्यहाँबाट एउट संस्कृतिको जन्म भयो । खाँडो जगाउने, श्लोक भन्ने परम्पराको विकास भयो, जग्गे घरमा । त्यहा अर्को संस्कृतिको विकास भयो । अर्को गाँउ, भुगोलमा बेग्लै संस्कृति निर्माण भए ।
बर्षा हुनुपूर्व खेत, बारी. खोरिया खनजोत गर्न थालियो  । कामदारलाई खाजा(पानी कार्यस्थलमा पु¥याउन थालियो  । खाजा खाने सस्कृतीको निर्माण भयो । त्यो चलन बढ्दै गयो, दही(चिउदा खाने चलन देखिन थालो । त्यो चलन सँधै सम्भव भएन होला ? बेलाबखतमा भए होलान ? दही(चिउरा साझा परिकार हो  । खाँदै जाँदा, बढ्दै जाँदा डुल्दै जाँदा दहि चिउरा खाने दिनहरु मिल्दै गए. । तीनले उत्सवका रूप धारण गर्दै गए । समयको गति आफ्नै हुन्छ । असार पन्ध्रले एउटा नयाँ रूप लियो । दहि चिउरा खाने दिन आ(आफ्नै थिए, तर कुनै एक दिनलाई विशेष दिन मान्दै जाँदा असार पन्ध्रमा दहि चिउरा ग्रहण गर्ने चलन रहन गएको पाइन्छ । त्यस दिन एउटा नयाँ संस्कृति निर्माण भयो । अरु दिन, समयका दही चिउराको एकटा स्वाद हुन्छ, त्यहा भोक मेटिन्छ, तर असार पन्ध्रमा खाएको दही चिउरामा बेग्लै स्वाद हुन्छ, त्यहाँ पारिवारिक स्नेह हुन्छ, वल्लो (पल्लो घरको सम्बन्ध नयाँपन थपिन्छ । त्यहाँ अर्को संस्कृतिको निर्माण भयो । यो मजवुत छ, अटुट छ र अटुट रहन्छ ।
अब यो संस्कृति धान रोपाइसँग सम्बन्धित हुन गयो । धान रोपाई र दही चिउरा खाने दिन परिपुरक हुँदै गए । नेपाल सरकारले आसार पन्ध्रलाई राष्ट्रिय धान दिवस घोषणा गरेपछि, अब भने संस्कृतिमा राजनीतिको प्रवेश भयो । अब संस्कृति भत्किन प्रारम्भ भयो । धान रोपाईको उद्घाटन र समापन गर्ने चलन चल्यो । त्यहाँ सरकारी प्रतिनिधि पुग्नु पर्ने अवस्था आयो  । रोपाई स्थलमा नयाँ गाडी कुद्न थाले । महंगा इन्धन खपत भए । त्यहाँ विविध कार्यक्रम भए । खादा, मालाले अतिथि सिंगारिन्छन्  । भाषणका धारा बग्छन्  । कहिले हिलो नटेकेका नेता बिउ लिएर हिलोमा पस्छन्  । पोज मिलाएर फोटा खिचिन्छन् । राष्ट्रिय धान दिवस सफल भयो, घोषणा हुन्छ ।
बिभिन्न संस्थाले धान दिवस मनाउँछन्। त्यहाँ व्यक्तिगत खर्च हुन्छ, अरु सबै दर्शक सबै उस्त्तै हुन्छन्  । अब दहि चिउराको संस्कृति कायम रह्यो कि रहेन ? एउटा प्रश्न अगाडी आयो । त्यस्ता औपचारिक कार्यक्रमले न धानको उत्पादन वृद्धि हुन्छ, न संस्कृतिको रक्षा हुन्छ ।
आजकल हाम्रा संस्कृति तोडमोड हुदैँछन्। पुराना संकृतीका स्थानमा नयाँ चलन भित्रिदैछ । संस्कृतिमा थपघट हुनु स्वभाविक मान्न सकिन्छ । तर दही चीउरा र किसान संस्कृतिमा नयाँ ढर्रा चलनले धान उत्पादन वृद्धि होला त ? सरकार र समाज अगुवाको मुख्य काम किसानका खेत बारिमा मल, बिउ पुगो, पुगेन अनुगमन गर्ने हो  । मल नपुगेका स्थानमा सहयोगी हुनु हो । विधि र नीति मिलाउनु हो । जनसंख्या दिनानुदिन वढ्दैछ तर उत्पादन घट्दैछ । सरकारी प्रतिनिधिले त्यस विषयमा अनुसन्धान गर्ने हो, गराउँने हो । नमिलेका विषय मिलाउने हो । सरकारी फजुल खर्च घटाएर मल, विउ, सिंचाइमा राष्ट्रिय बजेट वृद्धि गर्नुपर्ने टड्कारो अवस्था छ । दिवस मनाउने नाममा पुराना प्रथा चलनमा दाग लगाउनु उचित हुँदैन, त्यसकारण संस्कृतिलाई आफनो हिसाबमा बग्न दिनुपर्छ  ।। अस्तु  ।।

Author

You may also like