अन्तर्राष्ट्रिय देश–समाज विचार/वहस

विश्व राजनीतिमा युद्धको बदलिँदो समिकरण

विश्वको राजनीतिमा नयाँ किसिमको ध्रुवीकरण जन्मिन सक्ने सम्भावनाले गर्दा संसारकै राजनीतिमा ठूलो भूकम्प आउन सक्ने आँकलन गरिँदैछ । विश्वमा शान्ति, स्थिरता र विकास तथा लोकतन्त्रको प्रत्याभूतिका सवालहरु दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै जान सक्ने पीडा बोधमा दुनियाँका गरीब देशको अर्थतन्त्र धर्मराउन सक्ने चिन्ता र चासोहरु व्यक्त हुन थालेका छन् । धेरै लामो समयसम्म कमोबेस रुपमा दुई ध्रुवीय बनेको देश अब बहु ध्रुवीय बन्न लगेको हो कि भन्ने तर्कहरुको पनि उठान हुन थालेको छ । अमेरिका आफैँमा पनि विश्व राजनीतिमा ठूलो दबदबा राख्ने हैसियतमा रहेको राष्ट्रले दोश्रो विश्वयुद्धपछि विनिर्माण गरेका वैश्विक र शान्ति सन्तुलन बनाउनका लागि निर्धारण गरिएका मञ्चहरु अब दिनानुदिन कमजोर हुँदै गइरहेको देखिँदै छ । विश्वका अति विकसित पूँजीवादी मुलूकहरुले बनाएको सुरक्षा चक्र ‘नाटो’ सैन्य गठबन्धन अहिले प्वाट्टै फुट्ने हो को संभावना बढ्दो छ । युनाइटेड स्टेट्स अफ अमेरीकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ‘नाटो’ राष्ट्रहरुको गठबन्धनबाट बाहिर आउन सक्ने हल्लाले गर्दा नाटो भित्रका अन्य सदस्य देशहरु जस्तै जर्मनी, फ्रान्स, बेलायत, कनाडा, पोल्यान्ड लगायतका अन्य प्रमुख देशहरु पनि आआफ्नो देशको सुरक्षा कसरी गर्ने भनेर चिन्तित देखिन थालेका छन् । रुस र युक्रेन बीच बिगत केही वर्षदेखि निरन्तर रुपमा चलिरहेको विनाशकारी महायुद्धको राप र ताप अन्य देशहरुमा पनि सर्दै जाने सम्भावना बढ्दै छ । अमेरिका कै सर–सहयोग र सैन्य सहायताबाट नै युक्रेनले अहिलेसम्म युद्धको मोर्चामा रुससंग डटेर रुसको मुकाविला गरी रहेको हुनाले युद्धबाट युक्रेनलाई ठूलो क्षति भोग्नु परेपनि अहिलेको परिवर्तित राजनीतिका अवस्थामा युक्रेनलाई अमेरिकाको सैन्य सहायता र राजनीतिक तथा प्राविधिक सहयोग बिना युद्धको मैदानमा भिड्न मुस्किल परि रहेको छ । लगातार रुपमा युक्रेनलाई रुसले धुलो चटाउंदै लगिरहेको छ । युक्रेनका ठूल–ठूला शहरहरुलाई रुसले आफ्नो नियन्त्रणमा लिँदै गइरहेको छ । युक्रेन र रुस परमाणु हमलाको जोखिममा पर्न सक्ने अवस्था निर्माण भईरहेको छ । युक्रेन रुसबाट नै टुक्रिएको राष्ट्र भएकोले रुसके युक्रेनलाई पुर्णरुपमा वा आंशिक रुपमा फेरी रुसको अधिनमा ल्याउन महाविनाशकारी हात हतियारको समेत प्रयोग गर्न सक्ने अवस्था दिनानुदिन प्रबल हुँदै गइरहेको छ । कुनै पनि समयमा रुसको अभिन्न अंगको रुपमा रहेको देश र क्षेत्रहरुलाई पुनः रुसले आफ्नो भूभागमा लपेटिन सक्ने खतरा बढ्दै गईरहेको छ । युक्रेनले रुसबाट छुट्टिएपछि नाटो गठबन्धनका राष्ट्रहरुको समूहको सदस्यता लिन खोजेको निहुँमा शुरु भएको युद्ध दिन प्रतिदिन लम्बिँदै गएपछि विश्वको राजनीतिमा नै नयाँ हलचल प्रारम्भ भईसकेको छ । रुस आफैँमा एउटा महाशक्तिशाली देश भएको कारणले गर्दा पनि रुसको विश्व राजनीतिमा ठूलो प्रभाव रहेको कुरालाई बिर्सिन सक्दैन ।
हालसालै युक्रेन– अमेरिका र ‘नाटो’ देशभित्रका सदस्य राष्ट्रहरुमा अमेरिकाको बदलिँदो राजनीतिक समीकरणको परिस्थितिमा संशय र भ्रमको अवस्था सृजना भएको छ । अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुस बीच युद्धविराम गर्न तथा सन्धि गर्न युक्रेनलाई दबाब दिन थालेपछि ह्वाइट हाउस मै युक्रेनी राष्ट्रपति जेलेन्स्की बीच पत्रकारहरु कै माझ चर्को कुराकानी भएको कुरालाई विश्व भरिकै सञ्चार माध्यमहरुले प्रसारण गरेको थियो । डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई शान्तिवार्तामा आउन र शान्ति सम्झौता गर्नको लागि सम्झाई बुझाई गर्न थालेपछि जेलेन्स्कीले प्रतिवाद गरेका थिए । जेलेस्किले रुस शान्ति वार्तामा आउन तयार नदेखिएकोले विगतमा पचासौँ पटक पहल गरिए पनि रुस शान्ति पक्षमा नदेखिएकोले वार्तामा आउनु निरर्थक हुन्छ, भन्ने सुझाव दिएपछि ट्रम्पले युक्रेन बर्बाद हुन्छ । विश्व युद्धको आगो संसारभरि फैलिएर जान सक्छ । संसारमा शान्ति र सुव्यवस्था बहाली गर्न मुश्किल पर्ला भनेर तर्क राखे पनि युक्रेन रुससंग वार्ता गर्न असहमत रहेकोले अमेरिकाले युक्रेनलाई दिने सबै किसिमका युद्ध सामाग्रीहरु बन्द गर्ने निर्णय गरेका थिए । अमेरिका र युक्रेन बीच युद्ध स्थगन गरी वार्तामा आउने पहल अस्वीकार भएपछि अमेरिकाले नाटो गठबन्धनको सदस्यता नै परित्याग गर्ने कुरा समेत अहिले चर्चामा आइरहेको छ । नाटो गठबन्धनबाट अमेरिकाले आफ्नो सदस्यता र सहयोग झिकेपछि नाटो देशहरु समेत अमेरिकाको सहयोग बिना रुसको मुकाविला गर्न नसक्ने अवस्थामा पुग्न लागेको देखिन्छ । युक्रेनलाई नाटो देशको समर्थन जारी राख्ने निर्णय भएपनि सम्पुर्ण रुसी आक्रमणमा पर्न सक्ने तथा युक्रेनलाई सहयोग गर्ने देशहरुलाई रुसले नछोड्ने अवस्थामा परमाणु युद्धमा जान सक्न प्रबल संभावना बढ्न थालेको छ । वेलायत, जर्मनी, फ्रान्स, क्यानेडा लगायतका सम्पूर्ण युरोपियन देशहरुमा युद्ध सल्किने सम्भावना बढ्दै गएको हुनाले अमेरिकालाई पुनः विश्वासमा ल्याउन र नाटो देशहरुलाई सहयोग गर्न कुटनीतिक छलफलहरु प्रारम्भ भइसकेको छ । एकातिर रुसले जितेका युक्रेनी भूभागहरु युक्रेनलाई फर्काउन तयार देखिएका छैन्न भने अर्कातिर युक्रेनले भरोसा गरेको देश अमेरिकाको साथ छुट्ने हो कि भन्ने अवस्थामा आइपुगेको देखिन्छ । रुस र युक्रेन विश्वको शक्तिशाली देश भएपनि लामो समय सम्म चलिरहेको भयानक युद्धले गर्दा विश्वकै अर्थ राजनीति, व्यापार र उत्पादनमा नकारात्मक असर पर्दै गै रहेको बारे प्रष्ट बुझ्न सकिन्छ ।
युक्रेन र रुस बीच चलेको युद्धमा उत्तरकोरिया र चीनको हस्तक्षेप समेत बढ्न सक्ने हुनाले विश्वमा शक्ति सम्तुलनको अवस्था बिग्रिन सक्ने अवस्था विधमान छ । यस्तो अवस्थामा विश्वमा राजनीतिक स्थिरता, लोकतन्तर, शान्ति र मानव अधिकारका सवालहरु माथि गम्भिर प्रश्न खडा हुने अवस्था विधमान छ । विवादहरु निरन्तर चुलिंदै छ । तर कोरियाका सैनिक तानाशाह खुलेर नै आफ्नो सेना रुसको पक्षमा युक्रेनको विरुद्ध ओरालिसकेको छ । युक्रेनको युद्ध गर्ने सैन्य क्षमता निरन्तर कमजोर हुँदै गईरहेको छ । युक्रेनका लाखौँ मानिसहरु घरबार विहिन भएर विदेशिनु र शरणार्थी बन्नुपर्ने अवस्था लगातार बढ्दै गईरहेको छ । युक्रेनमा युवाहरुलाई जबरजस्ती सेनामा भर्ती गराउने अभियान चलिरहेको छ । भने रुस माथि पनि युक्रेनले कम्ती दबाब बनाएको छैन । रुसका केही भुभागहरु माथि पनि युक्रेनी सेनाले कब्जा जमाई रहेको छ । युद्धको पासो कहिले कतातिर फेरिने हो भन्न गाह्रो छ । चीन मौकाको पर्खाइमा छ । चीन पनि खुलेरै रुसको पक्षमा लागेको हुनाले युद्ध रोकिएन भने कुनै पनि बेला युद्धले बिस्फोटक रुप लिन सक्छ । युक्रेन र रुसमा गएर काम गर्ने र शिक्षा आर्जन गर्न जाने हजारौँ एसियाली विद्यार्थीहरुको पढाई बाधित हुन पुगेको छ । भारतीय प्रधान मन्त्री नरेन्द्र दामोदर दास मोदीले पनि रुस र युक्रेन दुबैलाई युद्ध बन्द गरेर शान्ति वार्तामा आउन आव्हान गरिसकेका छन् । आन्तरिक र बाह्य तवरबाट शान्ति स्थापना गर्ने सवालमा विभिन्न माध्यमबाट वार्ताहरु पनि भइरहेको छ । तर जति सुकै प्रयास गरिए पनि साम्य हुने अवस्था देखिदैन ।
पहिलो र देश्रो विश्व युद्धताका पनि युद्धग्रस्त देशहरुको समीकरण फेरिएको थियो । तेस्रो विश्वयुद्धको लागि जानिँदो न जानिँदो पाराले ध्रुवीकरण हुन लागेको हो भन्ने युद्धको आयामा अन्त्य नै विस्फोट हुन सक्ने कुरालाई अनुमान गर्न सकिन्छ । अमेरिकाले युक्रेनलाई एक्ल्याएर शान्ति स्थापना हुन सक्ने मनसायले राजनीति गरेका छन् । रुसले युक्रेनलाई युद्धमा एक्लाएपछि युक्रेनका भूभागहरुलाई रुसमा गाभ्न सकिन्छ कि भन्ने कार्य योजनामा लागेका छन् । भारत विश्व गुरु बन्ने तयारीमा लागेका छन् । चीन विश्वकै पहिले महाशक्ति बन्ने प्रयासमा लागि परेका छन् । रुसले आफ्नो पुरानो विरासत फर्काउन सक्ने प्रबल सम्भावनाका साथ घातक भन्दा घातक अस्त्र शस्त्रहरुको प्रयोग गरी रहेका छन् । यस्तो अवस्थामा विश्वमा अस्त्र–शस्त्र नियमन गर्ने सम्बन्धी कुराहरुमा वैश्विक रुपमा एकमत हुन सकिएन भन्ने महायुद्धबाट हुनसक्ने महाविनाशबाट दुनियाँलाई कसैले पनि बचाउन र जोगाउन सक्दैन । अहिले युद्धमा संलग्न रहेका देशहरुको संख्या लगातार रुपमा बढ्दै जानु पनि ठूलो चिन्ताको विषय हो । राजनीतिमा विवेकशीलताको प्रयोगलाई सन्तुलित बनाउन सकिएन भने संसारलाई झगडाको घर बनाउनबाट कसैले रोक्न सक्दैन ।

Author

You may also like