र्षायाम सुरु भएसँगै तराईका जिल्लाहरूमा बाढी, डुबान र सरुवा रोगको प्रकोप मात्र होइन, सर्पदंश (सर्पको टोकाइ) को गम्भीर समस्या पनि बल्झिने गरेको छ । हाल झापा लगायत तराईका विभिन्न भूभागहरूमा सर्पदंशका बिरामीहरूको संख्या बढेको छ ।
यो हरेक वर्ष दोहोरिने नियति जस्तै बनेको छ, जसका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको छ । यस्तो अवस्थामा सम्भावित जोखिमबाट बच्न र जनधनको क्षति न्यूनीकरण गर्न व्यापक जनचेतना र स्वास्थ्य संयन्त्रको पूर्वतयारी अपरिहार्य बनेको छ ।
तराई क्षेत्रको भौगोलिक बनोट, झाडी, र ओसिलो वातावरण सर्पका लागि अनुकूल वासस्थान हो । वर्षाको पानीले सर्पको दुलो भरिएपछि तिनीहरू सुरक्षित स्थानको खोजीमा बाहिर निस्कन्छन् र मानिसको घरगोठ वा आउजाउ गर्ने बाटोमा आइपुग्छन् । विशेष गरी रातिको समयमा खेतबारीमा काम गर्दा वा भुइँमा सुत्ने क्रममा मानिसहरू सर्पदंशको सिकार हुने गरेका छन् ।
सर्पदंश आफैँमा जति डरलाग्दो छ, त्योभन्दा बढी खतरनाक यसप्रतिको चेतनाको कमी र समाजमा व्याप्त अन्धविश्वास हो । आजको आधुनिक युगमा पनि सर्पले टोक्नासाथ अस्पताल लैजानुको साटो झारफुक गर्ने, धामीझाँक्रीकहाँ धाउने र विष ओराल्ने बहानामा समय बर्बाद गर्ने प्रवृत्ति पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । विषालु सर्पले टोकेको अवस्थामा ढिलाइ हुनु भनेको सिधै मृत्युलाई आमन्त्रण गर्नु हो । त्यसैले, सर्पदंशका बिरामीलाई सुरुवाती समयभित्रै एन्टिस्नेक भेनम उपलब्ध भएको स्वास्थ्य केन्द्र वा सर्पदंश उपचार केन्द्रमा पु¥याउनु नै ज्यान जोगाउने एकमात्र विकल्प हो ।
यस समस्याको समाधानका लागि पालिका तहदेखि नै ठोस र एकीकृत कदम चालिनु आवश्यक छ । स्थानीय सरकार र सरोकारवाला निकायले वर्षायाम सुरु हुनु अगावै गाउँ–गाउँमा सर्पदंशबाट बच्ने उपाय र टोकेपछि गर्नुपर्ने प्राथमिक उपचारबारे सचेतना अभियान सञ्चालन गर्नु पर्दछ, जसले झारफुकको भ्रमलाई चिर्न सकोस् । नागरिक स्तरबाट पनि घर वरिपरिको झाडी सफा राख्ने, भित्ताका दुलोहरू टाल्ने, राति हिँड्दा अनिवार्य रूपमा बत्ती वा टर्चको प्रयोग गर्ने र भुइँमा सुत्नुको साटो झुल टाँगेर खाटमा सुत्ने जस्ता व्यावहारिक सतर्कता अपनाउनु जरुरी छ ।
यसका साथै, राज्यको स्वास्थ्य संयन्त्रले झापा लगायतका जोखिमयुक्त जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पर्याप्त मात्रामा एन्टिस्नेक भेनमको मौज्दात सुनिश्चित गर्दै दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न ढिलाइ गर्नु हुँदैन । सर्पदंशका बिरामीलाई तत्काल अस्पताल पु¥याउन ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवालाई चौबीसै घण्टा तयारी अवस्थामा राख्नु उत्तिकै महत्वपूर्ण हुन्छ ।
सर्पदंशको समस्या प्राकृतिक भए पनि यसबाट हुने मृत्यु मानवीय सचेतना र व्यवस्थापकीय चुस्तताबाट रोक्न सकिन्छ । सर्वसाधारण आफैँ सजग बन्ने र राज्यका निकायहरूले उपचार सेवालाई प्रभावकारी बनाउने हो भने अकालमा जाने धेरैको ज्यान जोगाउन सकिन्छ ।
००

Author

You may also like