हुन्छ या हुँदैन । के हुने हो ? अशान्ति पो हुने हो कि । देश दुर्घटनामा पर्ने हो कि भन्ने शंका, आशंका र द्विविधाका बीच एक ऐतिहासिक राजनीतिक डिस्कोर्स गत फागुन २१ गते शान्तिपूर्ण तरिकाले निर्वाचन गराएर पुरा भएको छ । जनताहरुको मुहारमा कान्ति छाएको छ । यस्तो बेलामा चुनाव गराएर एउटा नमूना बन्न सफल भएको छ– बर्तमान प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकार । चौतर्फी धन्यवादको हाइहाइ र बधाईको ओइरो लागेको छ । निष्पक्ष रुपमा चुनाव गराउन सफल प्रधानमन्त्रीलाई यो कलमीको हार्दिक–हार्दिक धन्यवाद साथै पूर्ण सफलताको शुभकामना दिन चाहन्छु । योसङ्गै शान्ति भूमि नेपालमा धुपौरे, चम्चे, ज्योतिषीहरुले गरेको नजर अन्दाजको मतको परिणाम आउने क्रम जारी नै छ । कति स्थानमा नसोचेको परिणाम आएको छ भने कति स्थानमा पुराना पार्टीहरुले लज्जास्पद हार बेहोर्नु परेको छ ।
जय–पराजय भनेको लोकतान्त्रिक पद्दतिको एउटा प्रक्रिया हो यसलाई राजनीतिक दलहरुले स्विकार्दै जानुपर्छ भन्ने जनमतलाई कुल्चिँदै फेरी पनि अस्वीकारोक्ती र असहमतिका सवालजवाफतिरै लाग्नुले फेरी पनि उही चरित्र उदांगो बनाएको छ । उनीहरूले दिने जनमत पहिले कस्तो थियो, हिजो के दिए र आज के दिँदैछन भन्ने हेक्का राख्नु जरुरी देखिन्छ । हिजो बहुमत र दुई तिहाई दिएका जनताले आज किन मत दिन कन्जुस्याई गरे ? के कारणले गर्दा मत दिएनन त ? कमजोरी हाम्रो हो कि जनताको ? यो सम्म छुट्ट्याउन सकेनन, दलहरुले । आफूखुसी आफ्ना धुपौरे बिचौलियाहरुलाई मात्र भरणपोषण गर्नतिर लागे दलहरु । गाउँ र सहरमा आफ्नो पार्टीको अवस्था कस्तो छ , कार्यकर्ता कता छन ? उनीहरू के चाहान्छन ? युवाहरुको जनमत कस्तो छ ? योसम्म समिक्षा नहुनुको परिणाम अहिले देखिएको छ । माक्र्स, लेनिन, स्टालिन, माओत्सेतुङ, वीपी, पुष्पलालको फोटोमा फूलगुच्छा चढाएर उनीहरूको सिद्धान्तलाई आत्मसात गर्दै जाने र फेरि भुल्ने परिपाटीले गर्दा सबैभन्दा ठूला दलहरु यतिबेला “मरिच चाउरिएझैं चाउरिएका छन” के कारणले गर्दा हो त ? किन जनताहरुको मन दुःख्यो ? भित्रभित्रै कति आक्रोशित बनेका रहेछन ? अरुबेला नसम्झने जब चुनाव आयो अनि हतार–हतारमा कार्यकर्तालाई चुनावी मैदानमा होम्न तयार हुन लगाउने दलहरुको नियति भएको कारणले गर्दा आजको अकल्पनीय परिणाम तीन दलहरुले मात्र भोग्नुपरेको छ । अरु त सानो दल खुम्चिएका थिए, हिजो । न संघसंगठन बलियो थियो, तीन दलको नजरमा उनीहरूको झण्डा र चुनाव चिन्हनै अपहेलित थियो । ठूला राजनीतिक दलहरुले व्यंग्यमात्र गरे, आफ्नो दलमात्र महिसासुर हो भन्ने ठाने । आफ्ना सालिन कार्यकर्ता भुले, चम्चेहरुलाइ काखी च्यापेर अघि बढे मानौकि उनीहरू सत्ता र शक्तिको मिलापमा सिंहदरवार र बालुवाटार वरिपरि उनीहरूको मात्र थातथलो बन्न पुग्यो । जनताहरुको जनमतलाई यतिसम्म लत्याएकि गाउँ र सहरमा घटेको राजनीति क्रेज नेताहरूलाई सुनाउदा उल्टै तिनै किसानका र मजदुरका नेताहरूले गालीगलौज सहनुपर्यो ।
हिजो कम्युनिष्टहरुलाई खोजीखोजी मार्नुपर्छ भन्नेहरु उनीहरूको आसेपासे बने, राजनीतिक चरित्र नबुझि पद ग्रहण गर्न लगाए, उनीहरूले सबैभन्दा बढी भोगबिलासका साधन अप्नाए । एउटा किसान, मजदुरहरु के चाहान्छन ? माग के हो ? आगामी कार्यदिशा के हो ? यो सम्म बुझेनन्, ३४ बर्षसम्म आलोपालोमा बहुमत ल्याएर सत्ताको बागडोर चलाउने पार्टीहरुले । सत्तामा बसिरहने, मखमली कार्पेटमा दिवा सपना देख्ने हाम्रा अग्रज नेताहरूनै यतिबेला न घर न घाटको हुन पुगे । जनमत कता गयो ? के भइरहेको छ त ? अबको बाटो कता हो ? अनिर्णयको बन्दी किन भए नेपाली जनताहरु ? सत्ता र शक्तिको उन्मादको परिणाम स्वीकार गर्ने कि नगर्ने ? “सक्किने कि सच्चिने ? आत्मसमिक्षा गर्ने कि नगर्ने गर्दा कोसङ्ग गर्ने ? अहिलेको जनताले ब्यालेट पेपरमा दिएको गोप्य जनमत कस्तो भएछ पुनः बिचार गर्ने कि नगर्ने ? काम केही नगर्ने ओसेपासेलाई भरणपोषण गरेर परिणाम के भो था छ, नेताज्यू ? समिक्षा कहिले गर्ने भन्ने सोच राख, बचेखुचेको साख आफ्नै भिजिलान्ते कार्यकर्ताले गर्दा भएको हो नि । आफूले के बोले, आफ्ना कार्यकर्ताले के बोले हिजो, त्यो सम्म पुराना राजनीतिक दलहरुले बुझेनन् । पुरातनपन्थीहरु लोकतन्त्रकै कारण यसो भएको हो भन्ने भ्रम फिजाइरहेका थिए, त्योसम्म कार्यकर्ताले बुझेर नेताहरूलाई खबरदारी गर्न सकेनन् । हिजो जनमत दिएका झुपडी हेरेनन्, अनेकन झुठो आश्वासनमा अलमल्याए तर फर्केर ती झुपडीको बेदना बुझ्न सकेनन् ।
हिजोसम्म ती झुपडीहरुमा नयाँ भनाउँदा राजनीति शक्ति बारम्बार पुगे, तथ्य संकलन गरे । आफ्ना नेताहरूलाई पटकपटक जानकारी गराएर तिनै झुपडीमा बसेर उनीहरू मागलाई सम्बोधन गर्ने बाचा गरे । भाषण गरेनन्, मौन रहे, कसैको चरित्र हत्या गरेनन् बरु उदाहरण प्रस्तुत गरे । यहाँ पुरानो राजनीतिक दलका नेताहरु यति बोलेकि उनीहरूको आवाजलाई कसैले थुन्न सकेनन्, बोलिरहे । बोल्दाबोल्दै के बोले के बोलिन थाहै पाएनन् । उनीहरूले बोलेका तिता कुराहरू अहिलेका जेन–जी पुस्ताहरुले पुनः मूल्यांकन गरे । तुलना गरे, बिगतको राजनीतिक मार्गचित्र अनुसार काम कति भएन, त्योसम्म बुझाउने अरु नेताहरूको आवश्यकतै परेन किनकि सबै जेन–जी पुस्ताहरुको हात( हातमा मोबाइल छ, त्यसैबाट घरैमा बसिबसि मत मागे, राय प्रकट गरे । हो यस्तो लुकेको जनमत तीन ठूला दलहरुले बुझेर सच्चिने बाटो तर्फ लागेनन् । भुइँ मान्छेहरु नचिन्नु, कसैको योग्यता र विरासत नबुझ्नु । अनेकन नाम दिनु, देश अब गृहयुद्धमा फस्यो अब देशमा अमेरिकी सेनाको टुकडी बस्छ, परेड खेल्ने ठाउँ बनाउँछ, नेपाली भूमिमा । सुखले खान पाइन्न, यो ब्यक्ति आयातित हो, अमेरिकी साम्राज्यवादको नाइके हो, आफ्नो अमूल्य मत उसलाई नदिनुहोस् भन्ने सम्मको लज्जास्पद कुरा युवाहरुले मात्र होइन एउटा जेन–जी पुस्ताहरुकै घरका हजुरबुबा, हजुरआमालाई यी कुरा पाच्य हुन सकेन । हामीले उनीहरूले अभिमत जाहेर गर्ने इच्छा प्रकट गरेका जनबोली बुझ्यौ, नियाल्यौ कि अहिलेको अदृश्य मत तिनै बुवाहरुको भित्री जनमत हो जसले पुराना पार्टीमा गरेनन् बिश्वास, गरे त ‘भोट फर चेन्ज’ लाई । हिजो फागुन २१ गते सबै बुवाहरुले दिएको गोप्य जनमतको परिणाम आइरहँदा यो यत्रो ठूलो फरक मतलाई हाम्रा नेताहरु नराम्रो सङ्ग पछारिदा पनि स्वीकार गर्ने कि नगर्ने ? मैले हिजो कहाँ गल्ती गरे, मेरा कार्यकर्ताले मेरो बारेमा हिजो चुनाव हुनु ताका के–के बोले अनि मैले गाउँ घरमा आफ्ना भरौटेहरुलाई बोकेर जनमत माग्न जाँदा कस्ता–कस्ता बोल्नै नहुने वचन बोले अनि आफ्नो जनमतको साइज एक्कासि घट्यो त्यो तुलना गरेर अब अघि बढिएन भने यति सोचे हुन्छ कि भोलिका दिनमा अझै पातलो भएर खुम्चिनु सिवाय अरु केही रहन्न ।
जनताले अहिले दिएको जनमत स्विकार गरेर अघि बढ्न जरुरी छ । आफूले त कति पटक लोकतान्त्रिक गणतन्त्रको चीरहरण गरियो, यसैको परिणाम हाम्रो पार्टीले भोग्नुपर्या हो भन्ने चिन्तन मनन गरेर अघि बढ्न ढिला गर्नुहुन्न । बेलैमा सच्चिनु राम्रो, जनमतलाई कदर गर्दै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रप्रेमी अब होऔ, एकअर्कामा हिलो छ्याप्ने कार्यक्रम बन्द गरौं । आउ मिलाउ हाम्रा हातहरु, आउ मिलाउ हाम्रा स्वरहरु । नेपाली जनता जिन्दावाद, जिन्दावाद ।