
भद्रपुर । नेपाल–भारत सीमा क्षेत्रमा संगठित स्क्याम सञ्चालन गरी दुवै देशका सर्वसाधारणलाई ठगी गर्दै आएको गिरोहका ७ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । १२ करोड रुपैयाँ बराबरका नक्कली नोट छापेर ठगी धन्दा विस्तार गर्ने योजनामा रहेका ६ भारतीय र १ नेपाली नागरिकलाई किर्ते कागजात, नक्कली सरकारी छाप तथा ठूलो परिमाणमा नोट आकारका सादा कागजसहित नियन्त्रणमा लिइएको हो ।
मंगलबार साँझ करिब ६ बजे चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका दुई भारतीय नम्बर प्लेटका सवारी साधनलाई भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वार्टर गणले नियमित जाँचका क्रममा रोकेको थियो । शंकास्पद गतिविधि देखिएपछि गाडीमा सवार सातै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगालका ४५ वर्षीय अरिन्दम धर, उनकी ३६ वर्षीया पत्नी दिपा भौमिक, ३५ वर्षीय सुमन सरकार, ३७ वर्षीय नुर कलाम शेख, ५२ वर्षीय अवेद अली हुसैन, २० वर्षीय फारुक अज्मी तथा झापा कमल गाउँपालिका–६ का ४३ वर्षीय देवेन्द्र सापकोटा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गिरोहले नोट (कागजी मुद्रा) आकारका सादा कागजका बन्डलमा माथि र तल सक्कली नोट राखी बीचमा सादा कागज राख्ने, साथै सरकारी कार्यालयको पत्रसमेत संलग्न गरी विश्वास दिलाउने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले आफूले व्यापारबाट आर्जन गरेको रकम कानुनी अड्चनका कारण नेपालका कानून कार्यान्वयन निकायले जफत गरेको र उक्त रकम भारत लैजान जरिवाना बुझाउनुपर्ने बहाना बनाई चिनजान तथा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई भिडियो सन्देश पठाएर ठगी गर्ने रणनीति बनाएको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा मेचीनगर नगरपालिका–४ आमडाँगीमा लुकाइ राखिएको २१ वटा टिनका बक्सा र २३७ बन्डल नोट आकारका सादा कागज बरामद गरिएको छ । ती कागजबाट करिब १२ करोड रुपैयाँ बराबरका नक्कली नोट तयार पार्ने योजना रहेको खुलेको प्रहरीले बताएको छ । साथै, नेपाल सरकारको निशान छाप, नेपाल प्रहरीको किर्ते परिचयपत्र, सरकारी छाप तथा दस्तखत किर्ते गरी बनाइएका कागजात र अन्य नक्कली सरकारी डकुमेन्टसमेत बरामद भएका छन् ।
डीएसपी खड्काका अनुसार किर्ते कागजातलाई विश्वासयोग्य देखाउन नोटरी पब्लिकबाट प्रमाणित गराउने उद्देश्यले उनीहरू भारतबाट काँकडभिट्टा नाका हुँदै चन्द्रगढी आएका थिए । करिब डेढ महिना अघि मेचीनगर–४ स्थित एक होटलमा कोठा लिएर टिनका बक्सा र नोट आकारका बन्डलको फोटो तथा भिडियोसमेत बनाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरूले विगतमा पनि नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न स्क्याममार्फत सर्वसाधारणलाई ठगी गरेको आशंका गरिएको छ । सम्भावित पीडितलाई जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही अघि बढाइएको जनाइएको छ ।