:– बिमल लामिछाने –: हालको नेपाली राजनीति एक अत्यन्त अनिश्चित र द्वन्द्वात्मक मोडमा आइपुगेको छ । व्यवस्थापकीय संरचना, नेतृत्वका शैली र दलभित्रको आन्तरिक गतिशीलताले अहिलेको राजनीतिक धुवाँधार परिस्थितिको सिर्जना गरेका छन् । बहुदलीय लोकतान्त्रिक प्रणालीमा राजनीतिक बहस, मतभेद र प्रतिस्पर्धा स्वाभाविक मानिन्छ, तर अहिले प्रायः सबै प्रमुख दलहरू गम्भीर आन्तरिक कलह, नेतृत्व संघर्ष र विश्वास संकटको गहिरो चक्रमा फसेका छन् ।
सबैभन्दा पहिला सत्ताको नेतृत्वमा रहेका दुई ठूला दल – नेपाली कांग्रेस र नेकपा (एमाले) – भित्रको आन्तरिक असन्तुलन उल्लेखनीय छ । नेपाली कांग्रेसको नेतृत्वकर्ता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाबीचको मतभेद संस्था र विचारको गहिराइसम्म पुगेको छ । अनुशासनको कारबाहीमा परेका नेताहरू कोइरालानिकट रहेपछि उनले देउवामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोजेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटघाट र पूर्व राष्टपति विद्यादेवी भण्डारीसँगको संवादले सत्ता समीकरणमा नयाँ विकल्पको संकेत दिइरहेको बुझिन्छ । जसको तरङ्ग प्रदेशहरुमा देखिन थालेको छ ।
त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको शक्ति संघर्ष पनि झन चर्कँदै गएको छ । पार्टीको सक्रिय राजनीतिमा फर्कन खोजेकी भण्डारीलाई एमालेले सदस्यता नवीकरण रोक्दै संस्था बाहिर राख्न खोज्दा आन्तरिक असन्तुष्टि अझ बढेको छ । ओली–भण्डारीबीचको यो टकराव ‘जबज’ (जनताको बहुदलीय जनवाद) को व्याख्या र श्रेयप्रतिको दाबीको रूपमा देखिए पनि मूलतः यो नेतृत्वको दाबीको लडाइँ हो । एमालेभित्र भण्डारी समर्थकहरूको बढ्दो असन्तोष भविष्यमा दलभित्र नयाँ गुटको उदयका लागि आधार बन्न सक्छ ।
यता माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको द्वन्द्वले पार्टीभित्रको अस्थिरता सतहमा ल्याएको छ । शर्माद्वारा प्रस्तुत गरिएको नौ बुँदे प्रस्ताव र नेतृत्व हस्तान्तरणसहितको डिमाण्डले संगठन सुधारको आवश्यकता औंल्याए पनि नेतृत्वले यसलाई चुनौतीको रूपमा लिँदा विवाद चर्किएको हो । सामाजिक सञ्जालमा देखिएको कटाक्ष र बयानबाजीले नेतृत्वको परिपक्वता र सुसंवादको अभाव प्रस्ट पारेको छ ।
अर्को उदाहरण नागरिक उन्मुक्ति पार्टी (नाउपा) हो, जहाँ राजनीतिक भन्दा बढी व्यक्तिगत कारणले दल विघटनको संघारमा पुगेको देखिन्छ । रेशम चौधरीले पत्नी रञ्जिता चौधरीलाई पार्टीबाट निकालेर आफ्नै बुवालाई अध्यक्ष बनाउनु, राजनीतिमा वंशवाद र निजी हितको प्रभाव कति गहिरो छ भन्ने कुराको उदाहरण हो ।
उता राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवल शमशेर राणाबीचको खटपटले पदीय दुरुपयोग र नेतृत्वको एकलौटीपनप्रति असन्तुष्टि दर्शाउँछ । विधान मिचेर मनोमानी रूपमा पदाधिकारी थपघट गर्नु र आन्तरिक आलोचकहरूलाई कारबाही गर्नु नेतृत्वको स्वेच्छाचारिता र दलको संस्थागत संकटको परिचायक हो ।
नेकपा (एकीकृत समाजवादी) पनि आन्तरिक मतभेदबाट अछुतो छैन । झलनाथ खनाल र माधवकुमार नेपालबीचको बयानबाजीले पार्टीभित्रको विभाजनको संकेत दिएको छ । विचारधारात्मक वा राजनीतिक बहस नभई व्यक्तिगत सम्मान र पुरानो योगदानका मूल्यांकनमाथि विवाद हुनु नेपाली राजनीतिक संस्कृतिमा अझै परिपक्वताको अभाव रहेको देखिन्छ ।
यी सबै घटनाक्रमहरूको विश्लेषण गर्दा स्पष्ट हुन्छ—नेपाली राजनीतिको मूल संकट विचार, नीति र मार्गदर्शनको होइन, नेतृत्वको चरित्र र संस्थागत अनुशासनको संकट हो । सत्ता प्राप्ति र सत्तामै टिकिरहने प्रवृत्तिले दलभित्र स्वस्थ प्रतिस्पर्धालाई प्रतिसोधी प्रतिस्पर्धामा रूपान्तरण गरेको छ । परिणामतः जनविश्वासको खस्कँदो अवस्था, वैकल्पिक नेतृत्वको खोजी र राजनीतिक विकृति बढ्दै गएको छ ।
अबको राजनीतिको मियो कतातर्फ मोडिने भन्ने ठोकुवा गर्न कठिन छ, तर एउटा कुरा स्पष्ट छ—यदि दलहरू आन्तरिक शुद्धिकरण, संस्थागत सुधार र विचारधारात्मक स्पष्टताप्रति ईमानदार भएनन् भने राजनीतिक विस्फोट अनिवार्य हुनेछ । नेतृत्वमा जवाफदेहीता, पारदर्शिता र परिपक्वता नआउँदासम्म नेपाली लोकतन्त्र स्थायित्व र सबलीकरणतर्फ अघि बढ्न सक्दैन ।