अर्थ देश–समाज समाचार स्थानीय

सुपारी प्रशोधन सुरु, निर्यात रोकिँदा किसानलाई चिन्ता

झापा/ कोशी प्रदेशका झापासहितका सुपारी उत्पादक किसानले यस वर्षको उत्पादन प्रशोधन गर्न थालेका छन् । बोटमा सुपारी तयार हुँदै गएका कारण किसानले प्रशोधनको काम थालेका हुन् ।
सुपारी प्रशोधनको काम सुरु गरेका किसान भने उत्पादित सुपारी कसरी बेच्ने भन्ने चिन्तामा परेका छन् ।
नेपालमा उत्पादित सुपारीको मुख्य बजार भारत हो तर विगत दुई वर्षदेखि भारततर्फ सुपारी निर्यात भइरहेको छैन । नेपाल सरकारकै निर्णयका कारण नेपाली सुपारी भारततर्फ निर्यात हुन छाडेको हो । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले नेपालमा उत्पादित सुपारीको डिएनए (आनुवांशिक) परीक्षण गरेर मात्र निर्यात गर्न निर्देशन गरेपछि २०७९ सालदेखि सुपारी निर्यात भएको छैन ।
भारततर्फ सुपारी निर्यात बन्द हुँदा २०८० सालमा उत्पादन भएको सुपारी झन्डै आधाजति बिक्री भएको छैन भने २०८१ सालमा फलेको सुपारी जस्ताको त्यस्तै छ । फेरि नयाँ सुपारी उत्पादन हुन थालेको छ । दुई वर्षको बाली बेच्न नपाएका किसानलाई नयाँ फसल कसरी बेच्ने भन्ने चिन्ताले सताउन थालेको हो । “अघिल्लो वर्ष उत्पादन भएको सुपारी नै बिक्री नभएर निराश भएका किसानलाई यस वर्षको उत्पादन कसरी बेच्ने भन्ने चिन्ता बढेको छ,” सुपारी उत्पादक किसान सङ्घका अध्यक्ष नीलकण्ठ तिवारीले भने, “सरकारले किसानको समस्या सुनेन, हामी कराउँदा कराउँदा थाकिसक्यौँ ।”
कोशी प्रदेश सभाको बैठकमा सांसद रमेशकुमार बस्नेतले नेपाली किसानले उत्पादन गरेको सुपारी निर्यात हुन नसकेको भन्दै तुरुन्त निर्यात खुला गर्न सरकारसँग आग्रह गरे । स्वदेशमा उत्पादित सुपारी बिक्री नभइरहेका बेलामा सरकारले विदेशबाट सुपारी आयात गर्ने निर्णय गरेका कारण यहाँका किसानहरूले उत्पादन गरेको सुपारी बिक्री नहुने जोखिम झन् बढेको उनले बताए ।
कोशी प्रदेशको इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा व्यावसायिक सुपारी खेती हुने गरेको छ । विगतमा किसानलाई सुपारी बिक्री गर्न कुनै समस्या थिएन । व्यापारीहरू किसानको खेतमै पुगेर सुपारी खरिद गर्दथे । यतिबेला किसानको खेतमा न्यून सङ्ख्यामा मात्र व्यापारी पुग्ने गरेको अध्यक्ष तिवारीले जानकारी दिए । “साना व्यापारीहरू अलिअलि गइरहेका छन्, बजार सुनिश्चित नभएपछि किसानहरूलाई बाली टिप्न, प्रशोधन गर्न र बिक्री गर्न नै ठुलो समस्या भइरहेको छ,” उनले भने । सङ्घका अनुसार कोशी प्रदेशको चार हजार १११ हेक्टर क्षेत्रफलमा सुपारी खेती भइरहेको छ । गत वर्षको तथ्यांक अनुसार १४ हजार ६१७ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । सुपारी उत्पादन विगत केही वर्षयता निरन्तर बढिरहेको छ भने चार पाँच वर्षयता सुपारी रोपण पनि अधिक बढेकाले दुई वर्षपछिदेखि उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । संघका अध्यक्ष तिवारीले भने, “दुई वर्षपछि नै उत्पादन बढेर झन्डै २० हजार मेट्रिक टन पुग्छ भने पाँच वर्षभित्रमै उत्पादन दोब्बर हुने देखिन्छ ।” नेपालले करिब नौ अर्ब रुपियाँ बराबरको सुपारी निर्यात गर्ने गरेको र यो चियापछि निर्यात हुने दोस्रो ठुलो कृषि उत्पादन भएको तिवारीले जानकारी दिए ।

Author

You may also like