दमक । यतिखेर नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय निकै चासो, चिन्ता र पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले होला जिज्ञासा सबै माझ पलाएको । आगामी निर्वाचन अघि वा पछि भन्ने बहस चर्किएको बेला कांग्रेसभित्रको आन्तरिक मतभेदहरु पनि देखिन थालेका छन् । केही दिन अगाडि कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसको महाधिवेशन निर्वाचन अगावै हुन्छ भन्ने अभिव्यक्तिपछि यसको बहस चुलिएको हो ।
थापाले गगन ०८४ को निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुने ठोकुवा गर्छन् । संविधान र कांग्रेसको विधानले नै ०८४ को निर्वाचपछि महाधिवेशन गर्ने समयसीमा नदिने भन्दै यसमा सबैको सहयोग भने आवश्यक पर्ने भनिरहेका छन् ।
गगनले जस्तै अन्य नेताहरुले पनि पार्टी महाधिवेशनको विषयमा सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । उनीहरुले सभापति देउवाले समयमै महाधिवेशन गराउदैनन भन्ने आशंका व्यक्त गर्ने गरेका छन भने देउवा पक्षका नेताहरुले भने प्रतिक्रियामा उत्रिएका छैनन । यि सबै दृश्य र बोलीले पनि कांग्रेसभित्र गुटको खेती मौलाएको देखिन्छ । कांग्रेस र एमालेको सरकार सत्तामा रहेका बेला सरकारले ल्याएका विषयमा पनि नेताहरुको एकमत देखिँदैन । कसैले परिमार्जन वा संशोधनसहित पास हुन्छ भन्ने गरेका छन भने कतिले एमाले वा ओलीको पक्ष वा विपक्षमा नबोल्ने बताउँछन् । त्यसो एमालेका विरुद्धमा नबोल्न कांग्रेस सभापतिले पार्टीमा दिएको निर्देशन गलत भएको टिप्पणी गर्दै डा. शेखर कोइरालाले असन्तुष्टि पोखिरहेका छन् । उनले सरकार बन्दादेखि अहिलेसम्मका गतिविधिमा सन्तुष्ट नरहेको टिप्पणी गरिरहेका छन् ।
केन्द्रीय सदस्य बालकृष्ण खाणले अभिव्यक्ति दिए– गिरीजाले ‘कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ भन्नुहुन्थ्यो, त्यो सत्य रहेछः । यहिबाट प्रष्ट हुन्छ कि कांग्रेसभित्र गुटको खेल धेरै भईरहेको छ ।
खाणले पार्टी सभापति शेरबहादुर देउवासँग चित्त नबुझे उनकै अगाडि कुरा राख्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । सोमबार कांग्रेस दाङ क्षेत्र नं.१ ले लमहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता खाणले कुनै पनि नेताको गाली विरोध गर्दा उनकै अगाडि गर्न आग्रह गरेका हुन् । ‘कांग्रेसमा जुन नेताको विरोध गर्ने हो त्यहि नेताको अगाडि विरोधी गरिदिनुपर्छ । अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न । शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई गाली गरेर के गर्नु हुन्छ ?’ प्रश्न गर्दै उनले नेता तथा कार्यकर्तालाई भने ।
नेपाली कांग्रेसमा विभिन्न समूह सक्रिय रहेको कुरा लुकेको छैन् । नेताहरुले नै कांग्रेसभित्र विभिन्न समूह र गुटहरु रहेकोमा खुलेरै भन्ने गर्छन् । तर, पछिल्लो समय डा. शेखर कोइरालाको गुटमा ठूलो बदलाव आएको चर्चा चल्ने गरेको छ । यस्तोमा कोइरालालाई महामन्त्री गगन थापाले छाडेका छन रे नी भन्ने प्रश्नमा भने उनको जवाफ यस्तो देखिन्छ ।
कोइरालाले गगन आफूसँगै रहेको समेत भन्ने गरेका छन् । तर, गगन भने आफू १४ औं महाधिवेशनमा निर्वाचित भएको गुटको केन्द्र आफै भएको दाबी गरिरहेका छन् । शेखरलाई प्रमुख मान्न गगनले स्वीकार गर्ने स्थिति प्रष्ट देखिन्छ ।
शेखर गुट भत्किएको चर्चा चलिरहेको बेला संस्थापन पक्षका भनिएका नेताहरु कयौंले शेखरलाई नै केन्द्र मानेर गतिविधि गर्न थालेको देखिन्छ । केहि नेताहरु त शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व गर्न नसक्ने र असफल भइसकेको आरोप समेत लगाइरहेका छन् । गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले अब शेखरले नै कांग्रेसको नेतृत्व गर्ने जिकिर गरिरहेकी छन् । गुटहरु अब महाधिवेशनको सम्मुखमा थप प्रखर बन्नेमा कुनै शंका छैन् । नेपाली कांग्रेसमा अन्य गुट अदृश्य रहे पनि दुई गुट भने पक्का छ र त्यही दुई गुटका बीचमा महाधिवेशनबाट नेतृत्व आउने छ । तर अहिलेको विषम परिस्थिति, जनताको आक्रोस र आशा पनि रहेका बेला कांग्रेसले सद्बुद्धिका साथ जनताको मनजित्ने गरी पार्टीलाई अगाडि बढाउन आवश्यक देखिन्छ ।