आज म रोबर्ट क्रिलीको कविता ‘ओ, नो’ (हैट, होइन हउ !) कविता पढिरहेको छु ।
नाथे यति छोटो जाबो कविता पढेर के फुर्ति लगाउनु भन्ने पनि लाग्यो । कत्रा कत्रा दस्ताबेजले काम नगरेको यो जब्बर समयमा । बामपन्थीहरूका देवताहरू मार्कस, लेनिन, माओ, किम जोङ, भ्लादिमिर पुटिन, सि जिन पिन, निकोलस मडुरो आदि इत्यादिका लाखौँ पृष्ठका किताब, दस्ताबेज, बुलेटिन, लेक्चर सबै घोकेर राजनीतिमा आएका छौं भन्नेहरूबाट त देशको रौं नहल्ल्लाएको यो जब्बर समयमा नाथे एघार हरफको कविता तम्सिन्छ गाँठे ! बिपि कोइरालाका, मन्टेस्क्यु र भोल्टेयरका, अनि रूशो, गांधीका आदर्शहरूका ठेली घोकेर राजनीतिमा आएका हौं भन्ने स्वाँठहरू को त यो राजनीतिको समयरेखामा ‘बिजोक रामाइलो’ भएर तिनले माखो नमारेका यो समयमा नाथे यो छोटो कविताले मेरो देश बोक्न सक्छ भनेर पनि कसरी भनूँ ?
तर बोकेको छ ।
यो कविताले यो समयको श्रीपेचलाई मेरो देशका राजनीतिक सभ्रान्त बोक्न सकेको देखें । मेरो देशको राजनीतिलाई काँध हालेपछि हर अपराधीकरणमा सुनपानीले छर्किएर यो समयलाई कुरूप बनाउनेहरूको अनुहार पनि देखें । अनि समयको यो चक्रमा जताततै झुटको खेती गरेर आप्mनो दुनो सोभ्mयाउनेहरूको फेहरिस्त पनि देखें ।
के छ त त्यो कवितामा ?
यदि तिमी यसरी बिचलित नभइ भ्रष्ट बन्छौ भने
तिमी नरक मा पुग्छौ पुग्छौ
अनि जब तिमी त्यहाँ पुग्छौ
तिमी जस्तैहरूले तिमीलाई आसन दिनेछन् ।
त्यो सुन्दर आसन तिम्रै लागि हुनेछ
जहाँ तिम्रा सबै काम्रेडहरू तिम्लाई त्यहाँ देखेर
मुस्कुराउँदै मुस्कुराउँदै हुनेछन्
तिमीलाई त्यहाँ देखेर खुसी हुनेछन् ।
तर म त्यो नरक चाहन्न , ‘ओ, नो’ ।
स्वर्ग र नरकको कुरा एउटा परिकल्पना हो । एउटा विश्वास हो । यो हर धर्मशास्त्रमा उल्लेख छ । तर यो कल्पनाकी वास्तविक संसार र वास्तविक समय उद्घाटित भयो भने फसाद पर्ला नि त ! त्यही कुराको जरोकिलोमा घुमेको छ यो समय ।
आज यो राज्यका अबिचलित खम्बाहरू भनेका राजनीतिका नेतृत्वहरू हुन् । त्यो पनि ठूला दलका । त्यो पनि सरकार सञ्चालन गर्नेहरू । ती खम्बाहरू माथिको कविताका कम्रेडहरू प्रतित भएका छन् । तिनको मुस्कान प्रतित भएको छ । तिनको आसन प्रतित भएको छ । तिनको एकता प्रतित भएको छ ।
ती आपूmलाई अब्बल बनाउन निकै गतिला भाष्यहरू निर्माण गर्छन् । एकले अर्कालाई ‘सिध्याउन’ सबै खाले बल प्रयोग गर्छन् । आतंककारी भन्छन् । बिदेशीका दलाल भन्छन् । भ्रष्ट भन्छन् । नोकरशाही भन्छन् । सामन्त भन्छन् । प्रतिगामी भन्छन् । उग्र भन्छन् । अनैतिक भनछन् । शोसक भन्छन् । ठग भन्छन् । तस्कर भन्छन् । आततायी भन्छन् । चरित्रहीन भन्छन् । बलत्कारी भन्छन् । अपराधी भन्छन् । निरंकुश भन्छन् । संविधान मास्ने भन्छन् । माफियाहरूको नाइके भनछन् । बिकास बिरोधी भन्छन् । समाज भँडुवा भनछन् । हत्यारा भन्छन् । अपहरणकारी भन्छन् । भन्ने नभन्ने सबै भन्छन् । र तिनलाई ‘दानवीकरण’ गरिदिन्छन् । सुन्नेहरू लाई पनि निकै समयसम्म भ्रम परिरहन्छ, जस्तो कि नेपालीहरूलाई ३५ बर्षदेखि भ्रम परिरहेको छ ।
जब ती अघिका ‘भन्नेहरू’ नै कानूनी कार्बाहीको ‘खतरामा’ पर्ने संकेत तिनलाई प्राप्त हुन्छ नि, तिनका अघिका ती आरोपीहरूलाई लगाएका सबै आक्षेपहरू ‘सुनपानी’ ले छर्किएर ती अघिका आरोप सबै ‘प्रशंसा’मा रूपान्तरित हुन्छन् । अर्थात् अब ती देवाता हुन्छन् । दानवीकरणबाट तिनको पदोन्नती भएर देवत्वकरण हुन पुग्छ । अनि ती न त दलाल रहन्छन्, न त भ्रष्ट, न त आततायी, न त प्रतिगामी, न त व्यवस्था बिरोधी, न त संविधान बिरोधी, न त ठग, न त शोसक, न त हत्यारा, न त अपहरणकारी, न त माफिया । अब त ती ‘संबृद्ध देशको परिकल्पनाकार’। त्यागी, लोकतन्त्रका लागि लडेको, राष्ट्रप्रेमी, लोकतान्त्रीक मूल्य र मान्यतालाई संरक्षण गर्ने, स्थायित्व र बिकासको पर्याय पात्र आदि इत्यादि भनेर अघि दानव नाइएकाहरुलाई अब देवता बनाइन्छ । तिनको देवत्वकरण गरिन्छ पैसा, पद र शक्तिको सुनपानीले छर्केर ।
सुनपानी पनि कति कडा ?
आज कसैलाई प्रधानमन्त्री सुनपानी छर्किएर । भोली उसैलाई महाभ्रष्ट सुनपानी छर्किएर । वालुवाटार र सिंहदरबार पस्नलाई त्यति सजिलो कहाँ छ र साथी? जनताले विश्वास गरेका मान्छेहरूलाई पनि ‘ढाट’ हालेर छेकन्छि । त्यो सुनपानीको करमत हो । ढाट खडा पनि कति तिर हउ ? न्यायलयमा ढाट, मिडियामा ढाट, सामाजिक संस्थाहरूमा ढाट, प्रशासनमा ढाट, कर्मचारीतन्त्रमा ढाट ।
राम, राम !
कसरी छिर्नु ?
अनि सुनपानी बोकेर बस्नेहरूको ‘दाईं’ चलेको छ अचेल । तिले मालेलाई ताते, तारेलाई माले, दिउँसोलाई राति, रातिलाई दिउँसो, कालोलाई सेतो, सेतोलाई कालो, देउतालाई दानव, दानवलाई देउता सिकाउँछन् । मान्छे बेच्नुलाई बिकास सिकाउँछन् । जनता पलायन हुनुलाई संबृद्धि पढाउँछन् । रित्ता घरहरूको आवाजलाई ‘कुम्भमेला’ पढाउँछन् । सुनसान राजमार्गका आवाजहरूलाई बिकास पढाउँछन् । रित्ता बिद्यालयहरूलाई स्तरीय शिक्षा पढाउँछन् । तालाबन्दी नै तालाबन्दीले खचाखच बिद्यार्थीहरू र कालो मोसोको ‘मोनालिसा’ प्राध्यापकहरुले ‘खचाखच’ विश्वविद्यालयहरू गुणोस्तरीय शिक्षा बुझाउँछन् ।
यसरी सुनपानीले अँध्यारोलाई उज्यालो बनाउन सफल यो समयका मूर्धन्यहरूबाट रोइरहेको यो समय र सभ्यताको परिणाम ती ‘सुनपानीवालाहरू’ को मुस्कान नै हो । ती यहाँ पनि मिलिजुली खान्छन्, अनि नर्कमा पनि मिलिजुली मुस्कराउँदै ‘कुर्सी’ उपलब्ध गराउँदै ‘मिलिजुली’ बस्नेछन् । यहाँ कोही कराएर केही हुनेवाला छैन । यो धर्तीलोकमा मात्रै होइन, तिनले जाने नर्कलोकमा पनि तिनकै मुस्कानको मूल्य र मान्यता रहने छ ।
वाउ !
यो पक्का छ, नर्कमा तिनलाई स्वागत गरिदिने, कुर्सीं ल्याएर पदारिदिने र मुस्कान छरिदिने तिनका लाखौं भ्रष्टहरू त्यहाँ तैनाथ हुनेछन् ।
हामी यहाँ रमित हेरिरहेका हुनेछौं । इन्द्रबहादुर राइको कथा ‘आज रमिता छ’ जस्तै यो देशमा दैनिक रमिता छ । जिल्ला जिल्लामा रमिता छ । गाउँ गाउँमा रमिता छ । संसद भवनमा रमिता छ । मिडियाहरू मा रमिता छ । हामी सिर्पm रमिता हेरिरहेका छौं । त्यो पनि दैनिक ।
इन्द्र बहादुर राइले फेरि अर्को कथा लेख्ने भए उनको शीर्षक ‘दैनिक रामतिा छ’ हुने थियो ।
त्यो रमिता पृथ्वीलोकमा पनि दैनिक छ र नर्कलोकमा पनि दैनिक हुने छ ।
अनि रमिता देखाउने पात्र चाहिं उही सुनपानीबाज र मुस्कानबाज हुनेछन् ।
रोवर्ट क्रिलीलाई नमन गरें । किनभने उनको छोटो कविताले यत्रो देश र समयको बृत्तचित्र पस्किदियो ।

Author

You may also like