देश–समाज राष्ट्रिय सम्पादकीय

वर्गीय असमानता र तामसी प्रवृत्तिले अपराधिकरण बढ्दै

पछिल्लो क्रममा देशको अपराधको अवस्थालाई सञ्चार माध्यममा हेर्ने हो कहालीलाग्दो छ । अपराधै अपराधको शृंखला सञ्चार माध्यममा आएका छन् । यतिसम्म अपराधीकरण सोचको विकास भयो कि १२ वर्षको बालक बलात्कार प्रयास गर्ने र ३ वर्षकी बालिका रोएपछि धारिलो हतियार प्रयोग गरेर मारेको घटना ताजा छ । मृत अवस्थामा फेला परेका समाचार नभएको कुनै अखबार वा विद्युतीय सञ्चार माध्यम हुँदैछ । केही दिन अगाडि मात्र वैवाहिक बन्धनमा बाँधिएका रुकुमका एक दम्पत्तिको शव फेला परेका छन् । अछाममा गोठाला गएकी दुृई किशोरीको शव भेटिएको छ । धरानमा प्रहरी महिला कर्मचारीले नै आत्महत्या गरेकी छन् । यि प्रतिनिधिमूलक घटना मात्र हुन । दैनिक दर्जनौं यस्ता घटनाले सामाजिक सञ्जाल र सञ्चार क्षेत्र रंगीएको हुन्छ । यी र यस्तै समाचारको अपडेटलाई हेर्ने हो भने अपराधका घटनाहरु ह्वात्तै बढेका छन् । समाज असुरक्षित बनिरहेको छ । विभिन्न आयामबाट अपराधका घटना बढिरहेको छ । तथ्यांकमा सिमित हाम्रो मानसिकताले यस भित्र मौलाइरहेको अपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ । हत्या, बलात्कारबाहेक चोरी डकैती, दुव्यर्सनी, अपहरण लगायतका विभिन्न घटनाहरु पनि हामीले दिनहुँ जसो देख्ने, सुन्ने, पढ्दै आएका छौ । जघन्य बाहेक कतिपय घटनाले त अब हाम्रो संवेदनालाई छुन छाडेको छ । हामी सामान्य रुपमा लिन अभ्यस्त भइसकेका छौ । समाजमा यसरी अपराधहरू बढिरहेका छन् कि, अति सामान्य भन्दा सामान्य घटनाबाट यसको विजारोपण भएर अन्ततः भयंकर रूप लिदै मौलाइरहेको छ ।
समाजमा अपराध बढ्नु कुनै एक कारण मात्रै निहित हुदैन । निराशा, बेचैनी, कुण्ठा, आवेश, प्रतिशोध, अज्ञानता, महत्वाकांक्षा सँगसँगै बेरोजगारीका कारण सृर्जित विविध पक्षले सुषुप्त रुपमा मानिसलाई सृजनशील कम र अपराध उन्मुख बढी बनाइरहेको हुन्छ । सभ्य समाज निर्माणका लागि ज्ञान, सिप, नैतिक मुल्य, मान्यतासहितको व्यवहारिक शिक्षाको अभावले पनि अपराधको श्रृखंला बढिरहेको छ । देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलापबाट अघि बढिरहेका छन् । यसले देशको आर्थिक सामाजिक तथा बौद्धिक विकासको लागी एउटा प्रश्न खडा गरिदिएको छ  ।
समाज जति विकसित हुँदै गयो, त्यति मानिसका चाहना र आवश्यकताहरू थपिनु स्वभाविक हो । यद्यपि मानिसमा दुःख र मेहनतले भन्दा पनि अपराधिक गतिविधिबाट अगाडि बढ्ने मनोकांक्षा बढ्दै गएको देखिन्छ । फलस्वरूप विकाससँगै अपराधले पनि आधुनिक रूप लिन थालेको छ । विज्ञानले भित्राएको प्रविधिको दुरूपयोग गर्दै हत्या, अपहरण गर्ने र करोडौं फिरौती लिएर जीवनलाई मोजमस्तिको धुँवामा उडाउनेहरु नियन्त्रण बाहिर छन् ।
समाजमा एक वर्गसँग ऐश आराम र विलासी जीवनशैली छ । तर, अर्को वर्ग गरिबबाट अझ गरिब हुँदै गएको छ । यी दुई वर्ग बीच देखिएको असमानताले पनि अपराधलाई प्रश्रय दिइरहेको अपराध विश्लेषक तथा समाज मनोविज्ञाताको राय देखिन्छ । मानिसको उग्र स्वभावलाई नियन्त्रण गर्ने दुई कुरा छन् औपचारिक (कानुन) र अनौपचारिक (धार्मिक मूल्य मान्यता, नैतिक शिक्षा, संस्कारहरू) नियम । तर, मानिस आफुलाई यीभन्दा माथि राखेर क्रियाकलाप गरिरहेको छ । आफुले आफूलाई केन्द्रविन्दुमा राखेर व्यवहार गर्दै जाँदा अपराधिक मानसिकता बढ्दै गएको छ । ‘तामसी’ प्रवृत्तिको खानपानले पनि मानिसको मानसिकता उग्र बनाइरहेको हुन्छ । मानिसमा हुने ‘इगो’ले पनि अपराधलाई प्रश्रय दिइरहेको छ । अर्को पाटो समाज अपराध उन्मुख हुनुमा कामप्रति सम्मान नहुनु पनि हो भन्नेमा बालमनोविश्लेषक कमी छैनन । तिनीहरु समाजले पनि काम गर्ने व्यक्ति दुःखी र गरिब भनिदिने र कामको सम्मान नगरिदिँदा लुकिछिपी अपराधिक क्रियाकलापमा युवाहरू लाग्न गरेका दृष्टिान्तहरु भेटिन्छ ।
अर्कोतर्फ राजनैतिक दलहरूले राजनैतिक दर्शन, सिद्धान्त, मुल्य र मान्यता विपरीत भूमिगत होस् वा खुला आफ्ना मातहतका कार्यकर्तालाई जबरजस्ती चन्दा असुल्न लगाउने र पारदर्शिता नहुने हुँदा पनि युवाहरू विस्तारै गलत मानसिकताबाट प्रेरित भइरहेको हुन्छन् । विगतमा गरिने अपराध र आजभोलि गरिने अपराधको स्वरुप समेत बदलिन थालेको छ ।
मोबाइल फोन, सामाजिक संजाल लगायतको प्रयोग गरेर अपराधको सांगठनिक संजाल समेत तयार भइरहेको छ । धाकधम्की, त्रासले रातारात मालामाल हुने दुस्पना बोकेर कतिपय शिक्षित व्यक्ति समेत अपराधमा संलग्न हुन थालेका देखिन्छ,’ उनी भन्छन् । कानुनी ज्ञानको अभाव, साथी संगतिको प्रभाव र मादक पदार्थको अत्याधिक सेवनले अपराधिक मनोवृत्ति बढ्दै गैरहेको देखिन्छ । अपराध न्युनिकरण कानुनले मात्रै भन्दा पनि व्यवहारिक आचरणको शुद्धिकरणले हुने हुँदा अपराध रहित समाजको पक्षमा प्रहरी प्रशासन मात्रै होइन समाजका हरेक व्यक्तिको भुमिका महत्वपूर्ण हुने गर्दछ । समाजलाई अपराध मुक्त, विकसित र सु–सभ्य बनाई अगाडि बढाउने हो भने समाजमा हुने हरेक कुरालाई नियालेर अपराधलाई निरुत्साहित गर्ने संयत्र निर्माण गर्न जरुरी छ । अपराध पूर्ण निराकरण गर्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ नागरिक समाज र राज्यको विशेष चिन्ता र चासो हुन जरुरी छ ।

Author

You may also like