डा.अभि सुवेदीको एउटा कविता अहिले फेरि पढ्न मन लाग्यो । त्यो कविताको शीर्षक छ– ‘सफ्ट स्ट्रोम’ अर्थात ‘नरम आँधी’ । यो कविताले एका मनभरी छायाँ बनेर आयो । कविता यस्तो छ :
चकमन्नतामा बीभत्स आवाज सुनेपछि म नरम भएँ । ममा नैसर्गीक गुण भनेकै आकासबाट चाँदनी छोपेर कर्कश ढुंगा बर्षिँदा पनि राजनीति, धर्म र दर्शनका कुरा बोलेर पनि नरम हुनु हो । हरेक रात छाना माथिबाट चम्द्रमाको यो बिचित्र सहरको गीत गुलाव जस्तै नरम भएर सुनेको छु । ठमेलमा बच्चा भोकले चिच्याउँदा, बिभत्स समयभित्र उत्सव र पागल नृत्यहरु देख्दा पनि म नरम भएँ । दुर्वाच्य बोल्दा र लेख्दा पनि म नरम रहें । हिंसात्मक इतिहासको कुनामा काँधमा रेडियो भिरेर एउटा बालक ‘मेरी आमा खोइ ?’ भनेर चिच्याउँदा पनि म नरम आँधी बनें । एउटा मानिस बिना कारण आप्mनै परिवार अगाडि निर्घात कुटिँदा पनि म नरम आँधी बनरिहें । चाँदनी इतिहास र सपनाले मानिवीय समयरेखाका खुला संग्राहलयहरुमा लुकामारी खेल्दै एउटा रगतको टाटाले भरिएको सर्ट लगाएको मान्छे घाइते ओठहरुले यो मट्टीसंग सम्बाद गरिरहँदा पनि म नरम आँधी बनिरहें । तिमीले आपैmले बोलेक शब्द आपैm नसुन्ने गरी आँधीहुरी दियौ, शब्दा दियौं तर त्यो शान्त पत्थरमाथिको चकमन्नताको लीला देखेनौ, पनि म नरम बनें । आतंक पत्थरमाथि हुर्किएको छ, मैले जूनको टहटहमा बिनाकारण आँधी आएर म हिंडेकै साँघुरा गल्लीमा हिंडेको छ । आँसुका भेल बगाएको छ जुन इन्द्रेणी जस्तै क्षणभंगुर बाँचेको छ । मेरो आँधीबेहरी नरम छ, शान्त छ, अनि मेरा आक्रोशहरु शान्त पत्थरका पानाह रू रु मा युद्धका विभीषीकाहरु बोकेर जिवीत छन् । ईश्वरका बचनहरु मनव बस्तीका खडलमा पुरिएका छन् । म तिम्रा चन्द्रमाका जस्ता नजरहरुलाई सम्मान गर्छु, तर पागल समयले उडाइदिन्छ । म ढुंगामा फुलेको पूmल, चन्द्रमाको मीठो लय चाहन्छु, इतिहासका बञ्जर जंगलमा चराहरुको गीतमा भौतारिन चाहन्छु, हिउँदमा फक्रेको गुराँस हेर्न चाहन्छु । धर्तीमाताले यी उदास चराका गीत भन्छिन् । यी सबै त्राशदीका परिवेश आज यही नरम आँधीको क्यानभासमा सिर्जना भएका छन् । तर ती कठीन समयहरु इन्द्रेणी जस्तै पग्लिएर जाउन्, मेरो यो नरम आँधी पनि तिम्रो सानो आकासमा जावस, मेरो नरम आँधी छाल बनेर तिम्रो असहज तलाउमा नाचोस ।
कवि सुवेदीले उत्तम पुरुष (म लाई) लाई नायक पात्र र दोस्रो पुरुष ‘तिमी’ लाई खलनायकको रुपमा उभ्याएका छन् । म पात्र नरम, शान्त तर बिद्रोही भएर बाँचेको छ एउटा समय त्राशदीको कालखण्डमा । अन्याय हजारौं छन् । अत्याचार हजारौं छन् । हिसा हजारौं छन् । बिभेद र शोषण हजारौं छन् । भ्रष्टाचार र लुटतन्त्रका फेहरिस्त हजारौं छन् । राज्य आतंकका श्रङ्खलाहरु हजारौं छन् । जताततै चित्कार छ । रोदन छ । सडका शोक गीत हजारौं छन् । तर हामी देखेर पनि केही देखिरहेका छैनौं । सुनेर पनि केही सुनिरहेका छैनौं । बोलेर पनि केही बोलिरहेका छैनौं । हिंडेर पनि कतै पुगिराखेका छैनौं । हामी सिर्पm आज नरम आँधीहुरी भएका छौं । मनमा आँधी छ, तर बाहिर कतै निस्किदैन । बाहिर कतै सुनिँदैन । बाहिर कतै पढिईंदैन । बाहिर कतै देखिँदैन । तर मन भित्र कुँडिएर बस्छ । मनभित्र जलेर बस्छ । मनभित्र खरानी भएर बस्छ । कोही केही भन्न सक्दैन । चाँहदैन । किनभने सबैका स्वार्थ गाँसिएका छन् हर समयचक्रमा । त्राश छ ।
डर छ आप्mनु हैसियत गुम्ने ।
डर छ आप्mनो पहिचान बिग्रिने । डर छ सार्वजनिक लाभका पदहरु नपाइने ।
डर छ छोराछोरीलाई जागीर दिने मान्छे गुम्छन् कि भन्ने ।
डर सेटिङ्गमा ठेक्कापट्टा गुम्छ कि भन्ने ।
डर छ चुनावमा टिकट पाईंदैन वा पाएर पनि जितिँदैन कि भन्ने ।
डर छ आप्mनो रक्षा गरिरहने आप्mना राजनैतिक क्लव र तिनका पदाधिकारीहरु रिसाउँछन् कि भन्ने ।
त्यही भएर आज यति ठूलो आँधी आउँदा पनि आवाज छैन । रियाक्सन छैन । ध्वंस छैन । यति धेरै समाज र त्यसको एकीकृत एकाइ राज्य ठग, बेइमान र भ्रष्ट भएर निस्किँदा पनि तिनैलाई देवत्वकरण गर्दै हिंडिरहेका छौं हामी । हामीलाई थाहा छ, किन सरकार ढल्छ । किन सरकार बन्छ । किन छिनछिनमा समीकरण फेरिन्छ । किन एकै रातमा गाली तालीमा बदलिन्छ, अनि ताली गालीमा बदलिन्छ । अपराध लुकाउन, सुकाउन र मेटाउन जे पनि गरिरहेका छन् दलहरुले । देश र जनताका बारेमा एक शब्द नबोली दल र तिनका नेताको बारेमा मात्रै बोल्ने र सोच्नेहरुलाई ‘राष्टूवादी’ भन्नु परेको छ । देशलाई कहिल्यै पनि उँभो लाग्न नदिनेहरुलाई महान भन्नु परेको छ । पञ्चायत फाल्न भनेर दल, बल, बिदेश सबै प्रयोग गरियो ३० बर्ष । संवैधानिक राजसंस्था फाल्न भनेर २६ बर्ष दल, बल, बिदेश सबै प्रयोग गरियो ।
फेरि २०७२ सालदेखि यो संविधानले निकास दिएन भनेर यसको बिकल्प भन्ने एक थरी , र यसको संशोधन संशोधन भन्नेहरु अर्का थरी उभिएर यो संविधानलाई महारानीको थानमा पूजा गर्न उभ्याइएको कालो बोको बनाइएको छ । यो शिलशिला अब केही दशक चल्छ । जसरी हिजो पञ्चायतको बिरुद्धमा लागेर देश कमजोर बनाइयो, २०४६ को संविधभानको बिघटन गर्न देशलाई आगोको ज्वालोमा फालियो, त्यसरी नै यो संविधानले यो देशलाई भड्खारोमा लगिरहेको छ । दलहरु सुध्रिने संकेत पनि छैनन् । आप्mनै देशको
यति धेरै विसंगत आयामहरु टुलुटुलु हेरेर, थुक घुटुघुटु निलेर नरम र शान्त आँधीबेहरी बन्नुको अर्को के बिकल्प छ त हाम्रो ? आज म पनि अभि सुवेदी सरको समयरेखामा उभिएर यही नरम आँधी बनिरहेको छु ।
मैले पनि ‘कडा आँधी’ हुन नखोजेको होइन । तर लोकतन्त्रको कुरुप पक्ष भनेको बहुमतको शासन हो । अनि ‘तिमी’ अर्थात आततायीहरुको समयरेखामा मानवीय राजनीतिको कुरा गर्नु कि त बहुलाउनु हो कि त मर्नु हो । त्यसैले म पनि धेरै काल भयो ‘नरम आँधी’ भएर बसेको छु । तर आखिरि यो मेरो लेख पनि त त्यही नरम आँधी हो भन्ने लाग्ला यहाँहरुलाई ।
वास्तवमा यो नरम आँधी नै हो । आज दश प्रतिशत मान्छे राज्यको साधन र श्रोतमा मुस्कुराइरहेका भए पनि बाँकी त नरम आँधी नै भएका छन् । ती आक्रोशीत छन्, तर बोल्ने आँट गर्दैनन् । तिनैका पछिपछि हिंडछन्, तर मनभरी नरम आँधी बोकेर । कहिले त्यो नरम आँधीलाई कडा आँधी बनाउने हउ मित्रहरु ?

Author

You may also like