दमक/ एसियन हाइवेको निर्माणा कार्यमा भएको ढिलासुस्तीले पूर्व पश्चिम गर्ने यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको छ । एकातिर यतिखेर धुलाम्मे हुने सडक अब केही महिनाभित्र हिलाम्मेमा हुँदाको परिणाम दुर्घटना बढी हुने हो कि भन्ने त्रासमा परिणत भएको छ । जंगल क्षेत्रमा पनि करिब ५० मिटरमा डाइभर्सन बनाइएको छ जुन दुर्घटनाको अत्यन्तै जोखिममा रहेको छ । योसँगै बाटो निर्माणको क्रममा बजारक्षेत्र प्रवेश गरेपछि स्थानीय बासिन्दा, व्यापारी–व्यवसायी मर्कामा परेको बताउँछन ।
एसियन राजमार्ग यहि तरिकाले बनाउने हो भने धुलो खाएर अरु २ वर्ष बस्नुपर्ने बताउँछन मंगलबारेका कपडा व्यवसायी रमण दुलाल । मंगलबारे क्षेत्रको बजारमा बाटो निर्माणको काम भईरहेको छ । दुलाल भन्छन–अत्यन्तै धिमा गतिमा काम भईरहेको छ । एकातिर बन्दव्यापारलाई असर पु¥याएको छ भने अर्कोतिर आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको छ ।
अर्का किराना पसलका व्यवसायी भन्छन– यो नेपालको रोग नै हो । एउटा काम पूर्ण रुपले कहिल्यै हुँदैन । एक पटक बाटो बनाउँछन । अर्को पटक ढल बनाउँछन । अर्को पटक खानेपानी मिलाउँछन, विद्युत जडान गर्छन अनि इन्टरनेट प्रदायकहरुले तारा चारैतिर जेलिदिन्छन । यस्तो अवैज्ञानिक र अव्यवहारिक ढंगको काम गराई नेपालमा कहिल्यै नजाने उनको तर्क छ । उनले भने अहिले दुर्घटनाको ठूलो डर छ । धुलोमुलो र हिलो त खानै पर्छ त्यसले स्वास्थ्यमा प्रतिकूल असर त पु¥याउँछ नै, त्यसमाथि हिंड्दा हिंड्दै दुर्घटनामा परेर मरिने हो कि भन्ने चिन्ता बढेको उनी बताउँछन् । ज्येष्ठ नागरिक, बालबालिका असक्त, असहाय, अपांगता भएका व्यक्तिहरुलाई हिंडडुल गर्न असहज र जोखिमयुक्त बनाएको छ ।
त्यसो त काममा ढिलासुस्ती हुनुमा स्थानीयबासीलाई सेवा प्रवाह गरिरहेका संरचनाको कारण रहेको निर्माण कम्पनीहरु बताउँछन् । उनीहरु भन्छन– एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा काँकडभिट्टादेखि सुनसरीसम्म भइरहेको चार लेनको सडक निर्माणको काममा विद्युत पोलले अबरोध गरेको उनीहरुको भनाई छ । पोल सार्ने काम सकिने वित्तिकै सडक निर्माणको रफ्तार स्वतः बढ्ने आश्वासन पनि उनीहरु दिन्छन ।
त्यसो त उक्त सडक निर्माणको जिम्मा २०२७ को फेब्रुअरीसम्म रहेको छ । अहिले सुरुआतमा १२ प्रतिशत काम हुँदै गर्दा उनीहरुको काममा औंला उठाउनु त्यति न्योचित नहोला तथापि स्थानीय, व्यापारी व्यवसायी, यात्रु स्वयं सवारी चालकलाई राहत हुने गरी सडक निर्माणको रफ्तार बढाईदिए राहत हुने थियो र सम्भावित दुर्घटना टर्ने र धुलो र अब बर्खा लागेपछि हिलोबाट मुक्त हुने अपेक्षा उनीहरुको छ ।
उक्त सडक झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६.७६० किलोमिटर सडक निर्माण हुने छ । एडीबीको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानीमा ३४ अर्ब ९० करोडमा २०२७ सालको फेब्रुअरीमा सक्ने गरी सडक निर्माणको कम्पनी कालिका र चिनियाँ कम्पनीले पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले पोल तत्काल सारेको अवस्थामा सहरी क्षेत्रमा तत्काल कालोपत्रे गर्नसक्ने झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको ठेक्का पाएको निर्माण कम्पनी चाइना रेल्वे फस्ट ग्रुप (सीआरएफजी) टुन्डी जेभीले जनाएको छ । कम्पनीका कन्ट्रयाक्ट म्यानेजर डोरमणि पौडेलले बिजुलीका पोल नसारिँदा कालोपत्र गर्न सहज हुने स्थानमा काम ढिलो भएको बताए ।
हालसम्म साइट क्लियरेन्स, माटो भर्ने, कल्भर्ट निर्माणसमेत गरी १२ प्रतिशत काम पूरा गरेको जानकारी दिँदै पौडेलले जंगल क्षेत्रमा रुख कटान पूरा भई माटो भर्ने कामसमेत सकिएको जानकारी दिए । ती स्थानमा प्राधिकरणले तोकिएकै स्थानमा बिजुलीको पोल गाडिसकेको छ । तर, सहरी क्षेत्रको पोल सारिएको छैन ।
काँकडभिट्टादेखि लौकहीसम्म सडक, ठूला पुल र कल्भर्टको काम समेत गरी पाँच प्याकेजमा ठेक्का लागेको छ । प्याकेज २, ३ र ५ काँकडभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्ड इटहरीस्थित सडक कार्यालयबाट हुँदै आएको छ । प्याकेज १ र ४ काँकडभिट्टादेखि लौकहीसम्मको सडक आयोजना पूर्वी खण्ड सडक कार्यालय दमकले हेर्छ ।
नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले केही सहरी क्षेत्रमा विद्युत पोल सार्न केहि ढिलो भएको स्वीकार गर्दै त्यसमा प्राधिकरण एक्लैको गल्ती नभएको बताए । नालाको फाउन्डेसन बनेपछि डिलमा पोल गाड्ने भन्दै उनले धेरै ठाउँमा नाला नै नबनेकोले पोल सार्न आफूहरुले ढिलो नगरेको दावी गरे । सहरी क्षेत्रमा स्थानीय सरकार, स्थानीयवासी, सरोकारवाला सबैसँग समन्वय गरी सन्तुष्ट हुने गरी काम गर्नुपर्ने भएकोले केहि ढिलाइ भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विभिन्न खण्डमा पोल सार्न ठेक्का दिएको छ । एउटा खण्डमा सोहन कन्स्ट्रक्सनले काम गरिरहेको छ । प्याकेज २ को निर्माण कम्पनीका अनुसार, पोलको कामका निम्ति ८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । पूरै प्याकजेका निम्ति हालसम्म प्राधिकरणलाई २५ करोड भुक्तानी भइसकेको इटहरीस्थित सडक कार्यालयले जनाएको छ । कार्यालय प्रमुख जगत प्रजापतिले बिद्युत पोल सार्न पहल गरिरहेको जानकारी दिँदै अपेक्षित गतिमा हुन नसकेकै बताए । पोल सार्ने कामको लागि प्राधिकरणले ७६ करोड रुपैयाँ आयोजनाबाट प्राप्त गर्नेछ । पूर्वी खण्डमा मात्र २ हजार २०० बिजुलीको पोल सार्नुपर्नेछ ।
पोलका विषयमा सडक विभाग र प्राधिकरणबीच एमओयू भएको छ । दमकको रतुवा खोलामा ३३ केभी अन्डरग्राउन्ड केबल रहेको उनले जानकारी दिए । प्राधिकरणले ‘रिलोकेसन’को मात्र नभई अपग्रेडको काम गरी महंगा पोल राखेको उनले बताए । एसियन हाइवेको डिजाइन ‘स्पिड’ प्रतिघण्टा १०० किलोमिटर छ । पूर्वी खण्डमा ४५ किलोमिटर सडकको काम भइरहेको छ । बजारमा ५०, जंगल क्षेत्रमा २४ र ग्रामीण भूभागमा ३३ मिटर चौडाइको सडक हुनेछ । बजार क्षेत्रमा दुवैतर्फ सर्भिस लेन एक÷एक लेनको हुनेछ । यो हिसाबले सडक हुँदा ६ लेनको हुनेछ ।