विगतमा एउटा निश्चित् समुदायले मात्र मनाउँदै आएको छठ पर्व आजभोलि सबैको साझा बनिसकेको छ । जब सबै समुदायले छठको महिमा र उद्देश्य थाहा पाए त्यसपछि सबै जातजाति र धर्मावलम्बीहरु छठ पुजामा झुम्मिन थाले । जात, धर्म र क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरक–फरक अनुहार जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेका हुन्छन् । मूलतः मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको यो पर्व मनाउनेको भीडमा आजकल पहाडी समुदायमा महिलाहरू पनि उत्तिकै सहभागी हुँदै आएका छन् । मधेसी र सबै समुदायका महिलाहरुले सिउँदोदेखि नाकसम्म सिन्दुर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त देखिन्छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ। सत्य र अहिंसाको चाड तिहारको रौनक नसकिँदै यहाँ छठ पर्वको चटारोले छोएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड हो छठ । चोखोनितो गरेर शुद्धआत्माले स्वच्छ र निस्चल मनले आस्था र विश्वास राखेर छटी माताको पुजाआजा विधिविधान र परम्परागत संस्कार अनुसार गर्ने गरिन्छ । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । ‘संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा आदि बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।’
छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल बेहुली झैँ श्रृंगारिएको छ । यतिबेला घरघरबाट गुञ्जिएको छठ गीतको धुनले पूरै शहरमा रौनक थपेको छ । श्रद्धालुहरूले जनकपुरको इतिहासमा वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्नि कुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन् ।
विशेषगरी आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व निक्कै उत्साह र भक्तिभावका साथ मनाइन्छ । रोजगारी वा उच्च शिक्षा अध्ययनका लागि विदेशिनेहरूसमेत छठको रौनक सम्झिएर घर फर्किने गर्छन् । छठ प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने माध्यमको पर्वसमेत हो । जसको सुरुआत तिहारदेखि नै हुने गर्दछ । हामी दीपावलीका अवसरमा गाई, कुकुर गोरु पुजा गरेर छटी मातालाई स्वागत गरिरहेका हुन्छौं त्यसले सबैको मन जोड्ने सेतुको रुपमा छठ पर्व महत्वपूर्ण बनेको छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा गर्न सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । सूर्यलाई साक्षी राखेर खुला आकाशमुनि किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली सूर्यदेवलाई नै अर्पण गर्ने गरिन्छ । सूर्यदेवप्रति अन्नबाली अर्पण गर्दै भक्तजनले उनीप्रतिको अगाध आस्था प्रकट गर्छन् । अहिले तराई–मधेसमा हाट, बजार, सडक र गल्लीहरू छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्रीले भरिएका छन्। जहाँ माटोबाट बनाइएको कलश, दियो, हात्ती तथा बाँसको चोयाबाट बुनिएका नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीजस्ता परम्परागत भाँडाकुँडा सजिएका छन् ।
‘उखु, केराउ, अदुवा, केरा, मुला लगायतका कृषि उपज, सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा र चिनीको चास्नीबाट बनाइएको बतासाको भान्छाले भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइरहेको हुन्छ । सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण समाजबारे अध्ययन गर्ने खुला संग्राहालयकै काम गरिरहेको उनको तर्क छ । छठ पर्वका लागि माटाको भाँडाकुँडा कुमाल जातिले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातीले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन् । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वले सबैको मन शुद्ध बनाओस् यहि हार्दिक शुभकामना ।

Author

You may also like