राजनीति

नेपाली राजनीतिक दलका लागि मिसन ८४ फलामको च्युरा

२१ साउन, दमक । मिसन ८४ राजनीतिक दलका लागि तारो बनेको छ । मिसन ८४ ले सबै दल तथा समूहलाई त्रसित पनि बनाएको छ । युवालाई सामाजिक रूपले उत्तरदायी र आर्थिक रूपले सक्षम बनाउनु पर्ने जिम्मेवारी बोकेका देशका ठूला राजनीतिक दलकै लागि २०८४ को निर्वाचन त्रसित बन्नुले अब राज्यको भाग्य र भविष्य कतातिर जाने भन्ने अनुत्तरित प्रश्न पनि उब्जाएको छ ।
नीति, सिद्धान्त, विचार दृष्टिकोण नै बदलिसकेका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुसार जनतालाई सर्वोपरि ठानेर हिंड्न नसक्नुले पनि उनीहरुलाई मिसान ८४ भनेर घोषित र अघोषित रुपमा दौडन बाध्य गराएको विश्लेषण
गरिँदैछ । उनीहरुले राज्य सञ्चालनका क्रममा अख्तियार गरेका गतिविधिहरु अन्ततः राजनीतिक दलका लागि गलाको पासो बन्दैछ ।
साना दलहरुले संसदमा देखाएको दबदबा र बाहिर स्वतन्त्रहरुले खेलेको भूमिका र जनताको समर्थनबाट ठूला दल पनि अत्तालिएर मिसन ८४ को एजेण्डामा उभिएको विश्लेषण पनि गरिँदैछ । त्यसो त अहिलेको कांग्रेस एमालेको गठबन्धनमा बनेको सरकारले तिनै दलको दबदबा कसरी घटाउने र उनीहरु छाँट्ने भन्ने सन्दर्भमा पनि संविधान संशोधनको मुद्दा लिएर अगाडि आएका छन् । राजनीतिक दलमाथि विगतमा भएका थ्रेसहोल्डलाई बढाएर १० प्रतिशत पु¥याउने लक्ष्य लिनु भनेको उनीहरुलाई खुम्च्याउनु हो भन्ने सबैले बुझेकै छन् ।  
५ वर्षे कार्यकालमा १ वर्ष पनि नबित्दैदेखि राजनीतिक दलहरु मिसन ८४ भन्दै दौडिन सुरु गरेका हुन । आखिर के छ मिसन चौरासीमा किन यतिसारो दलहरु अत्तालिएर वर्तमान छोडेर भविष्यको रेखांकन कोरिरहेका देखिन्छन् । धार्मिक शास्त्रले ८४ व्यञ्जनलाई परिभाषित गरेर मिष्ठान्न भोजनको कुरा गरेको छ । के यत्तिकै मिठो हुने हो त मिसन ८४ ? यता कतिपयले मिसन चौरासी मिठो हुने होइन मिसन ८४ जस्तो अहिलेका राजनीतिक दलका लागि नमिठो केही हु््ँदैन । निर्वाचन हुनै गाह्रो छ भनेर विश्लेषण गर्नेहरुको पनि कमि छैन । मिसन चौरासीलाई लिएर ज्योतिषहरुले पनि नेपालको राजनीतिमा मिसन ८४ निकै उथलपुथलको स्थिति आउने बताइरहेका छन् । जो जसले मिसान ८४ भनेर दौडिए पनि एउटै मात्र मक्सद भनेको जति धेरै जनतालाई भोट बैंकको रुपमा प्रयोग गर्न सकिन्छ त्यति नै सफल हुइन्छ भन्ने पनि हो । तर त्यो ८४ निर्वाचन ठूला दलका लागि फलामको च्युरा बन्छ भन्ने हेक्का हुने चेत कहिले खुल्ला ?  
छोटो उपस्थितिमा २२ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले थोरै सिट भए पनि जनताको मन जित्ने गरी काम गर्ने र मिसन ८४ मा बहुमत सिद्ध गराउने अभियानमा घोषित रुपमै लागेकै थियो । त्यसपछि नेपाली कांग्रेस र नेकपा एमाले जसले ३४ वर्षसम्म यस देशमा शासन चलाईरहेका छन् । सत्ताकै वरिपरि घुमिरहेका छन् तिनीहरुले मिसन चौरासी ओकलेको निकै भईसकेको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताउँदै आएका छन् । संगठन अरुको भन्दा निकै दर्बिलो रहेको एमाले पार्टीका सबै नेतालाई जिम्मेवारी दिएर संगठनको काममा लगाईसकेको छ । त्यसो त त्यो बाहेकका साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, जनता समजवादी नेपाल, जनता समाजवादीलगायत साना दलहरु पनि उक्त दौडमा अघोषित रुपमा लागेकै छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हामी मिसन ८४ को सपना देख्दैनौं । हामी आजको सपना देख्छौं । वर्तमानलाई राम्रो गर्न सकिएन भने मिसन ८४ को के काम भन्दै हिंडेका थिए तर पछि नेपाली कांग्रेस पनि मिसन ८४ तिरै मुख फर्काएर बोल्न थालिहाल्यो ? कांग्रेसको राजनीतिप्रति कांग्रेसका नेता, कार्यकर्ता बाहेक कोही सन्तुष्ट देखिँदैन । गुटको राजनीति गरिरहेको कांग्रेसका लागि ८४ निर्वाचन चुनौतिपूर्ण हुनेछ ।
ठूला दलका नेताहरु आक्षेपको भारी बोकेका छन् । विभिन्न काण्ड लागेर बदनाम कमाइसकेका नेताहरुको झुण्ड अझै ठूला राजनीतिक दलले बढार्न सकिरहेका छैनन र तिनैलाई पक्षपोषण गर्दै विभिन्न पदमा राखेर राज्य सञ्चालन अहिले पनि गरिरहेका छन् । बढी मात्रामा भ्रष्टाचार त्यसपछि हत्या र हिंसाको आरोप लागेको नेताहरुको पक्षपोषणमा ठूला दल लाग्नु, जनताको चाहना र इच्छा अनुसार राज्य संयन्त्र चलाउन नसक्नु, बानी, आचारण र शैलीमा सुधार नल्याउनुले जनतामा वितृष्णा बढ्दै गएको अनुभूति उनीहरु आफैले गरिरहेकै छन् । आफुमाथि लागेका आरोपबाट जोखिने र जनस्तरलाई विश्वास दिलाउनुको सट्टा उनीहरु पनि मिसन ८४ कै दौडाहामा लागेका छन् ।
मिसान ८४ राजनीतिक लिगलिगे दौड पनि हो । जो जनताको मन जित्ने गरी दौडिन्छ मिसान ८४ त्यसलै सफल बनाउँछ अर्थात बहुमत सिद्ध हुने गरी जनताको अभिमत पाउँछ । मिसान ८४ भन्नुको अर्थ देशका तीनै तहका सरकारमा बढी मात्रामा चुनावी अभिमत आफ्नो पक्षमा ल्याउनु पनि हो । नेपाल समाजवादी, मधेसवादी, पहिचानका पक्षधरहरु सबै अहिले मिसन ८४ कै लागि अगाडि बढ्दै एकिकृत समेत भईरहेका छन् । भर्खरै पहिचान पक्षका तीन समुह एकिकृत भएर एउटा भएपछि मिसान ८४ कै राजनीतिक मुद्दा लिएर अगाडि बढेका छन् ।
यता राजनीतिक दलहरु बाहेक पनि स्वतन्त्रहरुको मिसन ८४ छुट्टै छ । काठमडौंका बालेन्द्र साह, धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपाल हमाल जस्ता स्वतन्त्र र लोकप्रिय नेताहरु अहिले चुप लागेर बसेको अवस्थामा पनि ठूला दललाई तिनीहरुकै डर बढी देखिन्छ । साना लोकप्रिय दल वा नेताका कारण आफु सखाप हुन्छौं भन्ने डर नै उनीहरुमा बढी देखिन्छ तर त्यसो भनिहाल्न नभएको कारणले उनीहरु मिसान ८४ मा एक्लाएक्लै चुनाव लड्ने भन्दै भुतभुताईरहेका छन् ।
मिशन….. तर ति दलहरुले एक्लाएक्लै निर्वाचन लड्ने ल्याकत भने जनताबाट गुमाइसकेका छन् ।
यसअघि पटक पटक बहुमत र दुई तिहाइको नजिक जनताको अभिमत पाएका राजनीतिक दलबाट जनताको आवश्यकता, चाहना र इच्छा पुरा गर्न नसकेको आरोप त उनीहरुलाई लागेकै छ अब तिनै दलहरुले मिसन ८४ सफल पारेर गर्लान् के भन्ने प्रश्न उब्जिएको छ ? अहिलेसम्मका राजनीतिक दलहरु जनताको भाग्य र भविष्य अनि नेपाल मातृभूमिका होइनन भन्ने छाप नेपाली जनतामा पर्न गएको छ । त्यो छापलाई मेटाउन सक्ने ल्याकत, इच्छाशक्ति वा चाहना अहिलेका ठूला दलहरुमा देखिँदैन । किनकी उनीमाथिको विश्वास जगाउन पहिला भ्रष्टाचार काण्ड जोडिएका नेताहरुलाई छानविनको दायरामा ल्याउन आवश्यक छ । अर्को विभिन्न हत्या र हिंसाको आरोप लागेका नेताहरुमाथि पनि छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन सके मात्र जनताको विश्वास जितिन्छ तर अहिलेको सरकारसँग त्यो तागत देखिँदैन ।
रास्वपाले पछिल्ला समयहरुमा निर्वाह गरेको भुमिकालाई हेर्दा हिजोको भनाइ र आजको गराइमा नितान्त फरक देखिएको छ । यसो हुनुका पछाडि उसका आन्तरिक कारणहरु हुन सक्छन् तर सतहमा देखिएका कारणहरुमा परिस्थितिको ठोस विश्लेषण गर्न नसक्नु पनि एउटा प्रमुख कारण हो भन्न सकिन्छ । हरेक पार्टीहरुका आ–आफ्ना कार्यदिशा, अडान र दृष्टिकोणहरु हुने गर्दछन् र तदनुसार नै पार्टीहरुले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका हुन्छन् । राजनीतिक पार्टी र नेतृत्व भनेका जनताका भरोसायोग्य प्रतिनिधि हुन् किनकि देश र जनताको हितभन्दा पर राजनीतिक पार्टीको कुनै स्वार्थ हुँदैन र हुनु हुँदैन । तर, आज यी आदर्श र सिद्धान्तहरुमा छायाँ पर्दै गएको देखिन्छ । किनकि जनताको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरु स्वयं नै घोषित नीतिअनुसार नचल्दा त्यसले जनमानसमा निराशा पैदा गरेको छ र त्यो निराशाको प्रतिफल स्वरुप राजनीतिमा जनताको आकर्षण घट्दै गएपछि राजनीतिक शक्ति मिसन ८४ मा दौडिएको विश्लेषण पनि गरिँदैछ ।
जनविश्वासलाई जीवन्त राख्न र आफ्नो राजनीतिलाई प्रतिस्पर्धी बनाउन नेतृत्व लचक, जनउत्तरदायी र विश्वसनीय हुनु पर्नेमा पुरानै कार्यशैलीलाई नै निरन्तरता दिँदै आएको अवस्थाले जनतामा उदासिनता बढी देखिएको छ । रास्वपाको पछिल्लो स्थिति पनि यस्तै भइदियो । अन्य पार्टीहरुभन्दा फरक ढंगले नयाँ कार्यशैली र नयाँ भिजनका साथ अगाडि आउने जनअपेक्षा थियो तर त्यस्तो हुन सकेन । बरु अरु पार्टीहरुकै पद चिह्नमा रास्वपा पनि अघि बढ्दा रास्वपाको आलोचना बढ्न थालेको छ ।
नेपाली राजनीतिको विडम्बनापूर्ण कुरा के देखियो भने सत्ता रसास्वादनका कारण बदनाम कमाइसकेका नेता कार्यकर्ताहरुलाई राजनीतिबाटै विश्राम दिनुको साटो गंगाजल छर्केर पवित्रीकरण गर्ने गरिन्छ भने योग्य, इमान्दार र निस्कलंक छवि भएका व्यक्तिहरुलाई पुरस्कृत गर्नुको साटो पाखा लगाउने काम गरिन्छ । जब जब राजनीतिमा पहुँच र पैसाको बोलवाला हुन्छ, त्यहीँबाटै अस्वस्थ प्रतिस्पर्धाको सुरुआत हुन्छ र त्यस्तो अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा देशको राजनीति अराजकतातिर मोडिन थाल्दछ । जबसम्म यस किसिमको परिस्थितिमा परिवर्तन आउँदैन तब यो देशमा कुनै गुणात्मक परिवर्तन आउने सम्भावना रहँदैन र मिसान ८४ मा जो जो दौडिए पनि ८४ मा हुने निर्वाचनको परिणामले उनीहरुको हैसियत देखाउने प्रष्ट देखिन्छ । यसर्थ बै दलहरुले आफ्नो दलको दस्तावेज, घोषणापत्र र नीति, विचार र सिद्धान्तलाई अक्षरस पालना गर्दै बहसको विषय बनाउनु जररी देखिन्छ । 

Author

You may also like