चार वर्ष अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघको ७५ औं वार्षिकोत्सवलाई सम्बोधन गरेर नेपाल सडक मानव तथा मगन्तेरहित नेपाल बनिसकेको बताएका थिए । तर आज पनि स्थानीय तहहरुले सडकमा बेवारिसे मानवको उद्दार तथा संरक्षणमा विभिन्न कार्यक्रम अगाडि सारिरहेका छन् । ‘खाते’ भनेर परिभाषित गरिएका त्यस्ता मानिसहरुलाई खोजी खोजी सरकारले लिएको नीति र योजना अनुसार देशभर सडकमा दुःखी मनहरु भौतारिन नदिन र सडकमा वेवारिस मानिसहरु नबसुन भनेर ‘सेफ हाउस’ सञ्चालन गर्ने देशभरका स्थानीय निकायहरु मध्येको एउटा दमक नगरपालिका पनि हो ।
दमक नगरपालिकाले हारगुहार गर्दै दमकका सडकमा भेटिएका संरक्षणविहिन वेवारिसे मानिसहरुलाई अन्यत्र राख्दै आएकोमा अबदेखि आफ्नै दमक नगरभित्र उनीहरुको उद्दार, संरक्षण र पक्षपोषण गरी पूर्ण मानवाधिकारको संरक्षणमा लाग्ने अभियान अगाडि बढाएको छ । दमक नगरपालिका र भक्तपुरमा रहेको मानव उद्दार धर्म सेवासँग सम्झौता गरेर दमकभित्रै ‘सेफ हाउस’ सञ्चालन गर्ने रणनीति लिएको छ ।
दमक नगरपालिकाकाको वडा नं. २ बेलडागीमा रहेको कोभिड अस्पताललाई मानव धर्म उद्दार सेवामा रुपान्तरित गरिसकेको छ । अब दमक मात्र नभएर झापा जिल्लाभरि सडकमा भेटिएका बेवारिसे अभिभावकविहिन मानिसहरुलाई राख्ने पवित्र घरको रुपमा रुपान्तरण गरिसकेको छ । नगरपालिकासँग उक्त संस्थाले जग्गा र भवन मात्र लिएको छ । बाँकी सबै जिम्मेवारी सोही संस्थाले लिने गरी सम्झौता भएको भए पनि पवित्र उद्देश्यका साथ खुलेको संस्थालाई दीर्घकालिन टिकाउनका लागि दमक नगरपालिकाले आफ्नो दायित्व निर्वाह हुने र गरिने प्रतिबद्धता पनि नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखबाट आएको छ ।
संस्था सञ्चालन गर्नु, सम्झौता गर्नु मात्र ठुलो कुरा होइन त्यसलाई सुरक्षित, पारदर्शी, निष्पक्ष बनाएर दीर्घकालसम्म चल्ने संस्थामा रुपान्तरण गराउने रणनीति तय गर्नुपर्दछ । कुनै अमुक व्यक्तिले हामी यसको जिम्मेवारी लिन्छौं भनेर भनिरहँदा नगरपालिका र नगरबासी मुकदर्शक भएर बस्न मिल्दैन । उक्त संस्थाका लागि भएका संरचनामा आवश्यक पूर्वाधार निर्माणदेखि राखिएका बिरामीको रेखदेख र औषधोउपचारमा सहज हुने वातावरण बनाउने गरी एउटा छुट्टै नियमावली नगरपालिकाले बनाउन आवश्यक देखिन्छ । सडकमा रहेका बेसहारा मानिसहरुलाई उठाउँदा पनि कस्ता प्रकृतिका मानिस उठाउने वा उठाएका मानिसको प्रकृति छुट्याएर तत्कालै परिवारको जिम्मा लगाउने प्रकृतिका हुन वा सेफ हाउसमा लैजाने प्रकृतिका हुन छुट्याएर पनि काम अगाडि बढाउन सक्ने वातावरण बनाउन आवश्यक छ । सेफ हाउस कति क्षमताको हुनेछ भन्ने निक्र्योल अगाडि हुन आवश्यक देखिन्छ । संस्थाले भनेजस्तै देशभरिका वेसहारा मानव राख्ने थलोको रुपमा परिभाषित गरिँदा भोलि थाम्न नसक्ने स्थिति पनि नआउँला भन्न सकिन्न त्यसतर्फ ध्यान दिनु जरुरी छ । त्यस्ता मानिसहरु पुनस्र्थापित गराउने, उद्दार गर्ने र सेफा हाउसमा राख्ने विषयको जिम्मेवार निकाय नगरपालिका बन्नुपर्दछ । नगरपालिकाले अभिभावकीय भूमिका निभाउन सक्नु पर्दछ । आजकल कतिपय राम्रो परिवारका अभिभावक समेत सडकमा आउने र बेसहारा बन्ने गरेका उदाहरण प्रशस्त भेटिन्छन् । परिवार भएका तर बेसहारा बनेका अभिभावकले परिवार नचिनाउने र ठेगाना बिर्सने सत्यतथ्य नआउने गरेका छन् । त्यस्ता मानिसहरुको परिचय खुलाएर परिवारको जिम्मा लगाउन पनि समस्या आउने हुन्छ ।
सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या त्यसको निराकरण नगरपालिका र सम्बद्ध सबै निकायले सोच्नु जरुरी देखिन्छ ।