देश–समाज राष्ट्रिय सम्पादकीय

सरकार र सम्बन्धित निकायबीच समन्वयको खाँचो

प्रधानमन्त्री, मन्त्री वा अन्य निकायबीचमा समन्वय अभाव देखिएको छ । प्रधानमन्त्री, मन्त्री वा अन्य निकायले सार्वजनिक गर्ने विषय तालमेलको अभावमा फरक देखिनु सम्बन्धित सबैका लागि मात्र नभएर जनतामा अविश्वासको खाडल बढाउनु हो भन्ने हेक्का राख्नुपर्ने देखिन्छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनका उपलब्धी सार्वजनिक गरे । त्यति खेर प्रधानमन्त्रलिे अर्थतन्त्रमा सुधार भएको दावी पनि गरे, सोही दिन सरकारकै अर्को निकायले अर्थतन्त्रमा गिरावट आएको तथ्याङ्क सार्वजनिक गर्‍र्यो ।
प्रधानमन्त्री ओलीले उपलब्धि सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आएको बताईरहँदा अर्कोतिर भन्सार विभागले अर्थतन्त्र सुधारभन्दा पनि झन् खस्किएको तथ्याङ्क सार्वजनिक गरेको हो । गत वर्षको तुलनामा आयात र निर्यात दुवै घटेका छन् । यसले अर्थतन्त्र झन् खुम्चिएको देखिएको बताएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयात निर्यातको तथ्यांकमा वैदेशिक व्यापार झन् खुम्चिँदै गएको देखिएको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएकोमा यस वर्ष १७ अर्बले घटेर ३ खर्ब ९० अर्बमा झरेको छ । दुई वर्षदेखि संकुचनमा रहेको अर्थतन्त्रले यस वर्षदेखि गति लिने सरकारको दाबी थियो । दशैंतिहारका बेलामा अर्थतन्त्रको एक तिहाई कारोबार हुनेगर्छ । यही बेला आयात र निर्यात झन् खुम्चिँदा थप चिन्ता बढाएको छ । त्यसमा पनि पेटूोलियम पदार्थको आयातमा आएको कमीले विकास निर्माणदेखि औद्योगिक क्षेत्रसम्मले गति नलिएको देखिन्छ ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा ५८ अर्बको पेटूोलियम पदार्थ आयात भएकोमा यस वर्ष ५२ अर्बको मात्रै आयात भएको छ । त्यसमा पनि डिजेलको आयात २९ अर्बबाट २२ अर्बमा झरेको छ । विकास निमार्णको कार्यले गति लिन नसक्दा स्टिल र फलामे छडको कच्चा पदार्थको आयातमा समेत कमी आएको छ । आयात मात्रै होइन समीक्षा अवधिमा निर्यातसमेत ६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० अर्ब ८७ करोडको बस्तु निर्यात भएकोमा यस वर्ष २ अर्बले घटेर ३८ अर्ब ३७ करोडमा झरेको छ ।
त्यसो त आर्थिक विषय मात्र नभएर अन्य धेरै विषयहरुमा सरकारकै संयन्त्रबीच तालमेल नमिलेका प्रसँगहरु धेरै आएका छन् । कम्तीमा सार्वजनिक गर्नु अगाडि सम्बन्धित निकायसँग परामर्श र समन्वय गरेर मात्र सार्वजनिक गरिदिए जनता अलमलमा पर्ने थिएन र सरकारको विश्वासनियता बढ्थ्यो कि ?

Author

You may also like