दमक/ रवि लामिछाने पक्राउ पछि पोखरामा आन्दोलित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकको आन्दोलनले उग्र रुप लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । निषेधित क्षेत्रभित्र पस्न नदिने उनीहरुले हरप्रयास गरिरहँदा पनि बढी हरकत देखेपछि अश्रुग्यास र हवाई फायरको प्रयोग गरिएको छ । म्याद थपको खबर आउनु अगाडि सामान्य रहेको आन्दोलन म्याद थपको खबर सुनेपछि उग्र बन्दै निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र आन्दोलनकारी बीच ठेलमठेल, अश्रुग्यास र हवाई फायर भएको बताइएको छ ।
उता सहकारीपीडितहरूले आइतबार लामिछानेलाई अदालतमा पेस गर्न लैजाने क्रममा पैसा फिर्ता पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । त्यसपछि शान्त रहेका सहकारीपीडितहरूले बिहीबार प्रदर्शन गरेका हुन् । उनीहरुले आफ्नो बचत रकम जसरी पनि फिर्ता हुनुपर्ने र हाम्रा मागहरुलाई छायामा पार्न नहुने तर्क राखेका थिए । रास्वपाले राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि भन्दै बिहीबार वाईचोक (रत्नचोक) मा प्रदर्शन गरेको छ भने सहकारी पीडितहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका छन् । बिहीबार अदालत उपस्थित गराइएपछि पुनः ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएपछि रास्वपाका समर्थकहरु अझ उग्र रुपमा प्रस्तुत भएका थिए ।
वाई (रत्न) चोकमा रहेको निषेधित घेरा तोडेर अगाडि बढ्दै उनीहरु राष्ट्र बैक चोकमा पुगेपछि त्यहाँ रहेका सुरक्षाकर्मीले उनीहरुलाई रोकेका थिए र त्यही सरकार विरोधी नारा लगाएका थिए । न्याय मार्न पाइँदैन, हाम्रो आन्दोलन जारी छ जस्ता नारा लगाएका थिए । निषेधित क्षेत्र तोडेर अगाडि बढ्दै गर्दा भिडभित्रै केही समर्थकहरु अचेत समेत भएको बताइएको । भिडलाई नियन्त्रण गर्दै नेतृ तोसिमा कार्कीले राजनीतिक प्रतिशोध भनेर आज प्रमाणित भएको बताएकी छन् । केन्द्रीय सदस्य लालविक्रम थापाले आन्दोलन ७७ जिल्लामा पुगेको र अब आन्दोलनले नयाँ रुप लिँदै अगाडि बढेको बताए । उनले आन्दोलन नियन्त्रणभन्दा बाहिर गईसकेको पनि बताए । अर्का एक सहभागीले निलो क्रान्ती भन्दै गर्दा रास्वपाका समर्थकहरु हातमा दही जमाएर बस्छन् भन्ने अर्थ लाउनु हुँदैन । रवि ठग होइन २ वर्षको बच्चालाई पनि थाहा भएको र रविलाई निकाल्न ७५ वर्षको बृद्ध पनि आएको बताइन्छन् ।
वक्ता हरुले प्रहरीलाई संयमित हुन आग्रह गर्दै रास्वपाका समर्थकबाट प्रहरीमाथि आक्रमण हुँदैन । तपाईहरुका राशनबाट लुटेको पैसा सहकारीमा राखेका छन्, तपाईलाई, हामीलाई लुटेका छन्, शोषण र अत्याचार गरेका छन् । तपाईहरुका इच्छाआकांक्षा विपरित सरुवा गरेका छन् । तर लामिछाने गृहमन्त्री हुँदा केही भएको थियो ? थिएन । रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरी प्रशासनमा कहिँ कतै बेतिथि र कुनै प्रहरीले पिडाबोध गर्नु नपरेको जिकिर गर्दै माथिको आदेश आयो भन्दैमा उत्तेजित नहुन आग्रह गरिरहेका थिए । प्रहरी प्रशासनको दिगो विकास, संस्थागत नेतृत्वसहित संरक्षण र प्रवद्र्धन गर्ने व्यक्ति रवि लामिछाने मात्र भएको उनीहरुले बताउँदै सम्झाउँदै थिए । उनीहरुले एउटा रविको आँखा कतिदिन बन्द गछौं ? कति दिन भित्र राख्छौं मार्यौ भने त्यसको जवाफ मरेरै दिउँला, बचायौं भने तिमीहरु को को खोरमा जाकिन्छौं हेर्दै गर भनेर चुनौति दिइरहेका थिए । कार्यक्रममा दिउँसो बढेको तनावमा प्रहरीले हवाई फायर गर्दा वा पानीको फाहोरा बर्साउँदा पनि निकै संयमित भएर अगाडि बढेको प्रहरी प्रशासनलाई समेत धन्त्यमा धन्यवाद दिइएको थियो । रास्वपाको उक्त आन्दोलनलाई देश विदेशबाट समर्थन गर्ने क्रम बढ्दै गईरहेको रास्वपाका नेताहरुले बताईरहेका छन् । शुक्रबार १ बजे काठमाडौंको माइतिघर मण्डलामा कार्यक्रम राखिएको जानकारी पनि उनीहरुले दिएका छन् ।
रविलाई अब तिहारपछि मात्र अदालत लगिने
रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन् ।
पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको थियो । अदालतको पक्राउ अनुमतिसँगै रवि लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ ।
यसैबीच, लामिछानेलाई अनुसन्धान नसकिएको र प्रमाण जुटाउन बाँकी रहेपछि अदालतले दोस्रो पटक सात दिनको म्याद थप गरेको हो । दोस्रो पटक थपिएको म्याद कात्तिक १४ गते राति बजेसम्म हुन्छ । म्याद सकिएको भोलिपल्ट अदालतमा हाजिर गराउनु पर्ने हुन्छ । तर, दोस्रो पटक थपिएको म्याद सकिएको भोलिपल्ट अर्थात् कात्तिक १५ गतेदेखि तिहारको सार्वजनिक बिदा छ । १५ गतेदेखि १९ गतेसम्म सार्वजनिक बिदा नै छ । त्यसकारण उनलाई २० गते मंगलबार मात्र अदालतमा लगिने छ।अदालतमा फेरि म्याद थप गर्ने–नगर्ने भन्नेबारे बहस हुनेछ । त्यतिबेला म्याद थपियो भने तिहार बिदा समेत गणना हुन्छ । त्यसो त, उनले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्न सक्छन् । बिहीबार सहकारीकै मुद्दामा रविका तत्कालीन व्यवसायिक साझेदार छविलाल जोशीलाई समेत अदालतले अनुसन्धानका लागि सात दिन म्याद थपेको छ । जोशीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सार्वजनिक बिदामा समेत सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट हेर्छ । तर, जोशीले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।