दमक/भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने ३० बर्षिय राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुराली घरमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी एकैसाथ हत्या गरेका हुन् । उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाका अनुसार रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीस्थित एकै घरमा चार जनाको शव हत्या गरिएको अवस्थामा फेला परेको हो । मृत्यु हुनेहरूमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, १५ बर्षिया श्रीमती मनिषा गिरी र ९ बर्षिय सालो सपन गिरी रहेका छन् ।
घटनास्थलमा गम्भीर घाइते अवस्थामा फेला परेका राईले आफूले नै हत्या गरेको स्वीकार गरिसकेको डीएसपी तिमिल्सिनाले जानकारी दिए । ‘घाइते अवस्थामा नियन्त्रणमा लिइएका अभियुक्त राईले हत्या आफूले नै गरेको स्वीकारेका छन्,’ डीएसपी तिमिल्सिनाले भने, ‘पारिवारिक विवाद नै घटनाको मुख्य कारण देखिन्छ ।’
शनिबार राति करिब १ बजे घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यापछि आफूलाई पनि घाइते बनाएका अभियुक्त राईलाई तत्कालै उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल, भोजपुर पठाएको छ । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थललाई पूर्ण रूपमा सिल गरी प्रमाण संकलन र थप अनुसन्धान कार्यलाई तीव्रता दिएको छ । एउटै परिवारको वंशनाश हुने गरी भएको हत्याकाण्डको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमतीद्वारा श्रीमानलाई छुरा प्रहार
यसैगरी, घरायसी विवादलाई लिएर धनकुटामा श्रीमतीले श्रीमानमाथि छुरा प्रहार गरेका छन् । आइतवारराति ९.५० बजे धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाट बजार बस्ने ४० वर्षीया माया राईले घरायसी विवाद हुँदा श्रीमान ४५ वर्षीय सनम सुब्बालाई मलद्वारमा छुरा प्रहार गरी घाइते बनाएकी हुन् ।
प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिएर छुरा प्रहारगर्ने माया राईलाई छुरासहित नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।