२० साउन, दमक । दमक नगरक्षेत्र भित्र भेटिएका वेवारिसे मानिसहरुको उद्दार तथा व्यवस्थापनकालागि अब बाहिर गुहार्नु पर्ने दमकको बाध्यता अब हटेको छ ।
दमक नगरक्षेत्रभित्रै वेवारिसे मानिसहरुको उद्दार तथा व्यवस्थापनको यथोचित व्यवस्था मिलाउने संरचना स्थापना भएपछि सो बाध्यता हटेको हो । पछिल्लो समयमा प्रदेशकै पहिचान बन्ने खालका गतिविधि र संरचना निर्माणमा दमक नगरपालिका अगाडि बढिरहेका बेला मानव धर्मका क्षेत्रबाट पनि उत्तिकै पहिचान बनाउन लागि परेको छ ।
दमक नगरपालिकाकाले कोरोना रोकथाम तथा उपचारका लागि निर्माण गरेका संरचना मानव धर्म सेवालाई जिम्मा दिएपछि सो कोरोनाको भवन मानव धर्ममा रुपान्तरित गरिएको हो ।
दमक नगरपालिका वडा नं. २ स्थित बेलडाँगीमा रहेको उक्त संरचना संरक्षणविहिन भएपछि त्यसको सदुपयोगका लागि सडक मानव व्यवस्थापन र संरक्षणमा प्रयोग गर्ने गरी भक्तपुरमा सञ्चालनमा रहेको मानव उद्दार सेवासँग सम्झौता भएपछि सो संरचना सदुपयोगमा आउने भएको शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमबाट जानकारी गराइएको छ । नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको अध्यक्षतामा सो कार्यक्रम आयोजना गरिएको थियो ।
नगरप्रमुख रामकुमार थापा, इलाका प्रहरी कार्यालय प्रमुख घनेन्द्र प्रसाद चापागाई, नेपाली कांग्रेसका जिल्ला उपसभापति शेर बहादुर भट्टराई सहित विभिन्न राजनीतिक दलका नगर कमिटीका प्रतिनिधि, वडाअध्यक्षहरु, उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, रेडक्रस सोसाइटी, रोटरी क्लबलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार तथा सामाजिक अगुवाहरुको सो कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा दमक नगरक्षेत्रका सडकमा दुःखी मानव रहनु हुन्न र त्यस्ता देखिए तिनीको उद्दार, व्यवस्थापन तथा संरक्षण गरिनुपर्छ भन्ने पवित्र उद्देश्यका साथ भक्तपुरको मानव उद्दार सेवासँग सम्झौता गरेर यहि साउन ९ गतेदेखि कार्यान्वयनमा आएको नगरप्रमुख थापाले बताए ।
उनले सो कार्यका लागि नगरपालिकाले जग्गा र भवन दिने बाँकी कामहरु सबै मानव धर्म सेवाले गर्ने गरी सम्झौता भएको बताए । उनले दमक नगरपालिकाको इतिहासमा ऐतिहासिक र महत्वपूर्ण उपलब्धीका रुपमा उल्लेख गर्दै मानव धर्मका लागि भएको दुई पक्षीय सम्झौता पढेर सुनाएका थिए ।
यस मानवीय सेवाभावले अभिप्रेरित भई उद्दार र संरक्षणमा नगरपालिकासहित सम्बद्ध सबै नगरबासीको जिम्मेवारमिा रहेकोले सबैले साथ, सहयोग गरी यसलाई बचाउने र स्थापित गराएर नगरक्षेत्र भित्र मात्र नभएर झापा जिल्लाभरि नै दुःख मनहरु सडकमा नभौतारिउन तिनीहरुको यथोचित व्यवस्थापन होस् भनेर मानव धर्म सेवा सञ्चालनमा ल्याएको हुँदा सबैको सहयोगको अपेक्षा रहेको नगरप्रमुख थापाले बताए ।
कार्यक्रममा बोल्दै मानव उद्दार सेवा भक्तपुरका सचिव मिलन आचार्यले नगरपालिकाले उपलब्ध गराएको स्थानमा बसेर सम्पूर्ण जिम्मा लिएर सेवा गर्ने जिम्मेवारी बोकेको बताए । आफ्नै स्रोत र साधनबाट सञ्चालित उक्त संस्थाले कसैसँग पैसा नमाग्ने र खाली काम नलाग्ने वस्तु कपडा, खाट, पलङलगायतका सामग्री छन भने उपलब्ध गराइदिन उनले आग्रह गरे । यद्यीप उनले त्यसो भनिरहँदा झापा जिल्लाको सेवाभावको एउटा संस्था बचाउने र संरक्षण गर्ने जिम्मेवारीलाई सबैले आत्मसाथ गर्नुपर्ने पनि उनले बताए ।
संस्था त्यसै सञ्चालन हुन नसक्ने बताउँदै कुन स्रोतबाट संस्था चलिरहेको र झापा भरिका संरक्षणविहिन मानिसहरु धेरै हुने हुनाले त्यसको यथोचित संरक्षण गाँस, बाँस र कपाससहित औषधोउपचार कसरी हुने भन्ने आधार पनि उनले खोजे । मानसिक रुपमा, शारीरिक रुपमा विक्षिप्त भएर सडकमा बेसहारा बसेकाहरुले वडा हुँदै नगरपालिकको सिफारिसको आधारमा मात्र राख्न सकिने उनले बताए ।
आफ्नो लागि केही गर्न नसक्नेहरुका लागि सरकारी गैरसरकारी सबै मिलेर केही गरिदिनु पर्दछ । यसको सुरुआत भएको जस्तो महसुस आफुले गरेको इलाका प्रहरी कार्यालय प्रमुख घनेन्द्र प्रसाद चापागाई बताउँछन् । उनले सामाजिक संस्था भनेर मात्र नहुने कतिपय सामाजिक संस्थाहरु स्थानीय निकायको बजेट खाने हिसाबले पनि क्रियाशिल रहेको पाएको तर यो संस्था चाहि नितान्त फरक रहेको उनले बताए । सहयोगको कुरामा संस्थाले मात्रै गर्छ भन्ने कुरा पनि सम्भव नहुने सबै तह र तप्काको विभिन्न कोणबाट सहयोग लिनै पर्ने उनले बताए ।
नेपाली कांग्रेस झापा जिल्ला उपसभापति शेर बहादुर भट्टराईले संस्थाका गतिविधिलाई नियमन गर्नुपर्ने र उनीहरुको लक्ष्य अनुसारको कामको मूल्यांकन गर्नुपर्ने बताए । उनले संस्थाहरुले मागेरै भए पनि संस्था राम्रै चलाइरहेको सन्दर्भमा सडक मानव मुक्त बनाउने अभियानमा आएको यो संस्थाको ंस्रोतको बारेमा जिज्ञासा उठाएका थिए । उनले आफूले पनि संस्था चलाउने गरेको तर मागेरै चलाएको उदाहरण समेत दिएका थिए । कार्यक्रमको अध्यक्षता गरिरहेकी उपप्रमुख रेगिना भट्टराई उप्रेतीले नगरपालिकाले जग्गा र संरचना मात्र उपलब्ध गराउने बाँकी काम सबै मानव धर्म उद्दार सेवाले नै गर्ने हो भनिरहँदा भोलिका दिनमा आइपरेका समस्यामा नगरपालिका मुकदर्शक बनेर नबस्ने बताईन् । उनले भनिन–यो संस्था कोशी प्रदेशकै महत्वपूर्ण संस्थाको रुपमा स्थापित गराउन तपाई हामी सबैको साथ सहयोगको आवश्यक पर्छ । सडकबाट उठाएका मानिसहरुलाई अलि खुल्ला ठाउँमै व्यवस्थापन गर्नुपर्छ भन्ने लागेर उक्त ठाउँको रोजाईमा पुगेको पनि उनले बताईन् । सेफ हाउसमा २ वर्षदेखि बस्नु भएका आमाहरुको व्यवस्थापनमा आफुले कठिनाई भोगेको कुरा पनि उनले उठाईन । त्यति मात्र नभएर हिंसामा परेका महिलाहरुको व्यवस्थापनमा दमक नगरपालिकाले सोचिरहेको कुरा पनि उनले खुलाईन् ।
कार्यक्रममा उक्त कोभिड अस्पतालको निरीक्षण गर्दा जिर्ण अवस्थामा रहेको, पहिला गरिएका विजुलीका तारहरु चोरिएका र कुनै पनि कोठामा केही नभएको भनिरहँदा त्यहाँ अन्य संस्थाहरुले कोभिडको बेलामा उपलब्ध गराएका बेडहरुको व्यवस्थापन उक्त मानव धर्म उद्दार आश्रमले प्रयोग गरोस् भन्ने सुझाव आएपछि बेडहरु दमक अस्पतालमा प्रयोग भईरहेको नगर प्रम्ुख थापाले जानकारी पनि गराएका थिए ।
नेपाल सरकारले समेत सडकमा वेवारिसे मानिसहरु नेपालका कुनै पनि ठाउँमा देखिनु हुन्न र तिनीहरुको यथोचित व्यवस्थापन र संरक्षण गर्नुपर्छ भनेर ऐनमार्फत ‘सेफ हाउस’ निर्माण गर्ने र उनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने नीति लिएको कारणले पनि देशभरका हरेक स्थानीइ तहमा यस्ता संरचना बन्न थालेका हुन् ।