उर्लाबारी, २४ असोज-
मोरङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि र प्रदेश सभामा निर्वाचित दुई जना सांसदहरुको उर्लाबारीमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
उर्लाबारी -७ स्थित बरगाछिमा स्थानीय क्षेत्रका जनताहरुको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले प्रतिनिधिसभा सदस्य एवम् नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र प्रदेशसभा सदस्य शोभा चेम्जोङ् पालुङ्वाको संयुक्त सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री लिम्बूले क्षेत्र नम्बर १ मा रहेका पालिकाकाका जनताले भोग्दै आएका समस्या, विकासका नयाँ योजनाहरुलाई सम्बोधन गरी समस्या निरुपण गर्न सम्पर्क कार्यालयले सहजिकरण गर्ने बताए ।
प्रतिनिधिसभा र प्रदेश सभामा नेतृत्व गरीरहेका दुवै सांसदले मोरङ-१ बाट प्रतिनिधित्व गरेकोले दुवै सांसदको संयुक्त सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद पालुङ्वाले सम्पर्क कार्यालय स्थानीय जनताको सहजताका लागि स्थापना गरिएको बताइन ।