दमक, ११ असोज-
इलाका प्रहरी कार्यालय दमक र दमक नगरप्रहरीको टोलीले गौरीगञ्ज नाकाबाट भित्र्याएको अवैध भारतीय माछा बरामद गरी नष्ट गरेको छ ।
भारतबाट ल्याई दमकको सेतुमारीमा लुकाइराखेको भारतीय माछा दमक उद्योग वाणिज्य संघ, खाद्य तथा बजार अनुगमन शाखा, जनप्रतिनिधि तथा नगर प्रहरी सहितको टोलीले मंगलबार राती साढे १० बजे बरामद गरेको थियो । बरामद १ सय ६० किलोग्राम माछा, अखाद्यय रंग प्रयोग गरी बनाइएका खानेकुरा वडा न. ३ को फोहोर मैला व्यवस्थापन केन्द्रमा नष्ट गरिएको दमक नगरपालिका कार्यालयले जनाएको छ ।
टोलीले ८० केजी भारतीय माछा र ८० केजी जिउँदो माहुर माछा बरामद गरेको थियो । नगरपालिकाको टोलीले मंगलबार दमक बजारमा अखाद्य रंग तथा केमिकल प्रयोग गरिएका, कुहिएका माछा तथा नियम विपरित सञ्चालित पसलहरुमा अनुगमन् गरी नियमसंगत सञ्चालनको निर्देशन दिएको थियो ।