दमक, २३ असोज –
इजरायलमा हमासको आक्रमण भएपछि हालसम्म त्यहाँ रहेका ५५ जना नेपालीको उद्धार गरिएको छ ।
इजरायलका लागि नेपाली दूतावासले निकै जोखिम रहेको क्षेत्रबाट ३२ जना विद्यार्थी सहित ५५ नेपालीको उद्धार गरेको जनाएको छ । विद्यार्थीहरुलाई ८० किलोमिटर टाढाको सुरक्षितस्थानमा राखिएको छ । उद्धार गरिएका नेपालीहरुले अव चाँडो भन्दा चाँडो आफुहरुलाई नेपाल पठाउन अनुरोध गरेका छन् भनें नेपाल सरकारले पनि विमान पठाउने तयारी भइरहेको जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले युद्धका कारण जोखिममा परेर नेपाल फर्कन चाहनेहरूको सूची तयार भइसकेपछि विमान इजरायल पठाउने जानकारी दिए ।
मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको आकस्मिक बैठकले इजरायलमा रहेका नेपालीको सुरक्षा, उद्धार र शव ल्याउने प्रक्रिया तुरुन्त अघि बढाउने निणर्य गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाका नेपालीको परिवारलाई सरकारबाट राहतस्वरूप प्रति परिवार १० लाख रकम उपलब्ध गराउने निणर्य गरेको छ ।
प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा मिसाइल आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने मन्त्रिपरिषदले निणर्य गरेको जनाएको छ । मृतकको शोकमा नेपाल सरकारले मंगलबार आधा झण्डा झुकाएर शोक मनाउने निणर्य समेत गरेको छ ।
इजरायल सरकारसँग समन्वय गरी शव ल्याउनका लागि मन्त्रीपरिषदले परराष्ट्र मन्त्रालयलाई जिम्मेबारी दिएको छ । साथै उद्धार कार्यलाई तीव्रता दिन र घाइतेको उपचारको व्यवस्थ गर्न पनि निणर्य गरेको छ । त्यस्तै नेपाल फर्कन चाहने इजरायलमा रहेका नेपाली ल्याउन सरकारले हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।
-सुदूरपश्चिमले दुई लाख दिने –
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही २ लाख रकम राहत प्रदान गर्ने निणर्य गरेको छ ।
सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै शव ल्याउन सहजीकरण गरिदिन संघ सरकारलाई अनुरोधसमेत गरेका छन् । आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्, जसमध्ये ७ जना सुदूरपश्चिमबाट अध्ययन तथा सिकाइका लागि गएका विद्यार्थीहरु थिए ।
