मुख्य विविध

बैंक तथा वित्तीय संस्थाले मनोमानी गरेको आरोप

उर्लाबारी, ११ असोज-
बैंक तथा वित्तीय संस्थाले मनोमानी व्याज बढाएका कारण व्यापारी, व्यवसायी मारमा परेको उर्लाबारीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
उर्लाबारी उद्योग वाणिज्य संघको ३५ औं वार्षिक साधारणसभाका बक्ताहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण ब्यवसायीहरु मर्कामा परेको भन्दै आक्रोश पोखेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले साना ठूला गरी करिब ५० लाख उद्यमी ब्यवसायी रहेपनि सरकार र राष्ट्र बैंकको गलत नीतिका कारण देशमा आर्थिक मन्दीको अवस्था आएको बताएका छन् । उनले भने, ‘सीमित ब्यापारी र पहुँचवालाको मात्रै संरक्षण गर्ने नीतिले गर्दा अर्थतन्त्र मजबुत नहुने र राष्ट्रिय पूँजी निर्माण गर्न महत्वपूणर् योगदान दिइरहेका मिनबहादुर गुरुङजस्तालाई हतोत्साहित गरेर सरकारले गलत गरिरहेको छ ।’ अर्थतन्त्र सुधार गर्न सरकार र निजी क्षेत्रको एकता र समन्वयले मात्रै सम्भव हुने उनको भनाई छ ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भीम पौडेलले सरकारले लिएको गलत नीतिका कारण हजारौं विद्यार्थीहरु स्टाफ नर्स पढ्न छिमेकी देश भारतका कलेजमा गइरहेको र त्यसबाट पनि देशको अर्थतन्त्रमा ठूलो नोक्सान पुर्‍याउने कार्य भइरहेको बताएका छन् । विगतमा कोभिड महामारीका कारण विदेशी मुद्रा संञ्चितीमा ह्रास आएको र देश आर्थिक मन्दीतर्फ गएको अवस्थामा अहिले पर्याप्त मात्रामा बैंकमा तरलता भएपनि अर्थ मन्त्रालय र राष्ट्र बैंकको टकरावका कारण ब्याजदर घटाउने लगायतका कल्याणकारी योजना ल्याउन सरकार चुकेकाले ब्यवसायी मारमा परेको उनले बताएका छन् ।
साधारणसभामा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले स्थानीय तहले गर्न सक्नेसम्म उद्योगी ब्यवसायीको पक्षमा नीति निर्माण गरिरहेको बताएकी छन् । सो अवसरमा नेपाली कांग्रेस कोशी प्रदेशका सह-महामन्त्री तथा उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागो, ब्यवसायी मनोहरि दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा गत माघमा आयोजित प्रादेशिक महोत्सवलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै महोत्सवका संयोजक भरत भट्टराई, सहसंयोजक प्रितम खड्गी, सदस्य यमलाल रसाइली, हेमराज गुरुङ, जंगबहादुर कार्की, निर्मला चौहान, डिल्लीराम खतिवडा, भेषबन्धु निरौला, राजन दाहाल, गणेश खत्री, रोशन घिमिरे, राधिका काफ्ले, गोपाल भण्डारी, नितम चौहान, नुतन राई, राजकुमार श्रेष्ठ, दशरथ यादव, शंकर थपलिया, देवी सिटौला, विनिता दहाल र चन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराईलाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।

Author

You may also like