पथरी, ११ असोज-
रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, रमाइलो जेसीज र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा असोज ११ गते देखि २४ गते सम्म “दोस्रो कानेपोखरी महोत्सव -२०८०“ हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलनमा महोत्सवका बारेमा प्रकाश पार्दै रमाइलो युवा परिवारका अध्यक्ष नवीन पौडेलले पहिलो संस्करणको महोत्सवबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दोस्रो संस्करण आयोजना गर्न लागिएको बताएका छन् । पहिलो संस्करणबाट प्राप्त आम्दानीले चार वटै संस्थाको सामूहिक भवन बनाउनका लागि जग्गा प्राप्तिको काम सम्पन्न भएको छ । पौडेलले सामूहिक भवन, बाल उद्यान, सामूदायिक हल, कवर्ड हल, नाटक घर लगायतका संरचना निर्माणका लागि जग्गा व्यवस्थापनपछि आयोजक संस्थाले डीपीआर तयार गर्ने काम सुरु भएको जनाए । उनले एकैस्थलमा विभिन्न संघ, संस्थाका लागि भवन निर्माण गर्ने र त्यहाँबाट सेवा प्रदान गर्ने आयोजक संस्थाको योजना रहेको सुनाए ।
पत्रकार सम्मेलनमा कानेपोखरी व्यापार सङ्घका अध्यक्ष डिल्लीराम फुयाल, रमाइलो जेसीजका अध्यक्ष मातृका कोइराला र लायन्स क्लव अफ कानेपोखरीका अध्यक्ष अमरमणि घिमिरेको उपस्थिति थियो ।
सयपत्री इन्टरप्राइजेजलाई महोत्सवको सम्पूणर् जिम्मा दिइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक प्रस्तुति सहित व्यवसायिक प्रवद्र्धनका स्टलहरु रहने छन् ।