दमक/ पारिवारिक समस्या बढी भएपछि चाडपर्व पनि नभनी नेपालीहरु विदेशिने क्रम रोकिएको छैन । बडादशैं तथा तिहारमा विदेशमा रहेका नेपाली फर्कदै गर्दा केही नेपाली भने विदेशिइ रहेका देखिन्छन् । विदेशबाट विजयादशमीको आर्शिवाद छाप्ने आएका नेपाली गाउँ पुग्दा तिनै गाउँमा युवाहरु झोला बोकेर विदेशिन बाध्य भएको बताउँछन् । रोजगारी र अध्ययनका लागि युवाहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । नेपालमा बसेर परिवार धान्न नसक्ने भएपनि वैदेशिक रोजगारमा पाएको अवसरलाई गुमाउन नदिने दशैं पनि नभनी हिंडेको पाल्पाका राम नकर्मी बताउँछन् । उनले १ वर्षदेखि भिषाको लागि पासपोर्ट दिएको र अहिले नै नपुगिनहुने भनेर कम्पनीले भनेपछि हिंडेको बताए ।
पोखराका रामु राई भने अध्ययनका लागि विदेश हिंडेको बताए । उनले भने– अध्ययन भिसामा अहिले नै जानु पर्ने भयो । १० दिनपछि आउने कुरा पनि राखे तर नहुने भएपछि जान बाध्य भएँ । यस्ता युवाहरु दर्जनौं यतिखेर पनि विदेश गईरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरू विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ । अधिकांश नेपालीरू दशैंको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दशैं मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरूको भनाइ छ ।
चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरुले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष ०८१÷०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन्। साउनमा ६० हजार विदेशिएका थिए ।